क्लासिक निबन्ध : सोझा - sahityapost.com
“बूढाको पुता, यता न उता” भन्ने उखानले म झन् तर्सिरहेको छु । अरू थोकभन्दा छोरो सोझे निस्कला भन्ने मलाई विघ्नै डर भइरहेको छ । बरु अपढ मूर्ख भएर निस्के पनि म उति अफसोस मान्दिनँ, तर सीधा भएर छिप्पिन जाला भनी चेत छु । उमेरले त म बूढो भइसकेको छैन, भर्खर ३८ को भन्ज्याङमा पुगिरहेको छु । सङ्गतले नतानिरहेको र भलादमी बन्ने सङ्कल्पले चेक गरिनरहेको भए तरुनी देखेपछि आँखा सन्काउने किसिमकै उमेरमा छु । उत्साह र उमङ्गले त म झन् जवान छु । त्यसो त ७०,८० मा पुगेपछि पनि म उमेरदारलाई पनि निहुराउने जोशिलो जवान भइरहुँला । मेरो उत्साह, उमङ्ग, जोश इत्यादि कुरामा गाँठो त अर्कै कुराले पो पार्यो : बिघ्नै बिघ्नै, हदभन्दा पनि ज्यादा म रोगी छु, शरीरमा प्राणै नभएजस्तो सधैं म स्वास्थ्यले हीन छु । अलिकता बल भएको वेला चार पाइला हिँडे सत्र दिन त्यसै लोटेर परिरहन्छु । ‘ऐयामा ।’ र ‘मरेँ बाबा !’ मा नै मेरो उमेरको वर्षका ३६५ दिन सकिरहन्छ । बुढ्याइँको मतलब पनि अशक्ततासिवाय केही पनि होइन । आँखा, कान, दाँत, खुट्टा सब कमजोर भएर जिन्दगी गाह्रो भएर आउनु नै बुढयाइँको परिभाषा हो । त्यसो त हौसलादार मानिस उमेरले धेरै अङ्क पुगिसकेको भए तापनि बलियो भइरहन सक्तछ । तर मचाहिँ हौसलादार भएर पनि रोगले सधैं अशक्त भएको हुनाले ३८ मा नै ५८ को बुढयाइँले छोइरहेको जस्तो भएरहेको छु । बस, यही कारणले हो छोरा तह लाउन जानेर चाहेर पनि नसक्ने भइरहेको छु । आफूले चाहेको ठूलठूलो बोर्डिङ वा विश्वविद्यालय वा स्कूलमा तालीमी रङ्गाउन पठाऊँ भने औकात असमर्थ छ, भालेको सट्टा बासिरहने आफूवरिपरिका विद्यालयहरू भने क्लर्क बनाउने वा बाँचुन्जेल बाबु रुवाई मरिसकेपछि श्राद्धको श्रद्धा गर्ने सोझो छोरो बनाउने कारखाना मात्र हुन् । बी.ए., एम्.ए. मात्र भएर पनि के गर्ने ? वेलायतका अङ्ग्रेज बहादुरले लेखेका ऐयारी तिलस्मीजस्ता मखण्डी साहित्य बिकाउने पाठक मात्र बनिरहने भइदिए भने ? मैले छोरा जन्माएको वैतरणीको चिन्ताले पनि होइन, वंशानुक्रमको अविच्छिन्नताको निम्ति पनि होइन । वैतरणी मान्छु भने म यहींका उपद्रथाहाहरूले उपस्थित गरेका भाँजोहरूलाई । तिनलाई भाँच्न सोझो सन्तानले सक्तैन । सोझो सन्तानका सीधा वंशधारा सुँगुरकै वंशानुक्रमको मानवी संस्करण मात्र भने पनि हुन्छ । वंशानुक्रमको सञ्चालन त प्राणी मात्रको भइरहेकै छ, त्यसैले वंशानुक्रम मात्रबाट केही पनि संसारमा प्रगति आउँदैन । सोझो छोरा दुष्टको निम्ति बेगारी सिर्जनु मात्र हो । त्यो आफ्नो कुल, समाज, देशका निम्ति केही पनि बन्दैन, हुँदैन । यदि मानिसहरूमा सोझा नभएका भए दुष्ट पनि हुँदैनथे । सोझाहरूकै बथानलाई सुमसुम्याएर दानवहरू ‘देव’ बनिरहेका छन् । दानव, दुष्ट, दुर्जन सोझाहरूकै भोलापनको ग्याँसबाट उत्पन्न भएको विस्फोट हो । वास्तवमा दुर्जनको अलग सृष्टि छैन, न केटाकेटीदेखि कोही मानव दानव बन्छ, हुन्छ । मानिसहरूलाई दैत्य बनाउने यथार्थमा सोझासीधा मानिस नै हुन् । उनीहरूकै भोलापन, लठ्चाङ्ग्रो व्यवहार, छक्का पन्जाको अज्ञान इत्यादिका चाँजोपाँजोले मानिसहरूमा दानवताको उद्बोधन हुन जान्छ । नत्र कोही पनि लेखक वा ग्रन्थकारले मानिसलाई दानव बनाउने रचना रचेका छैनन्, दानवताको पाठ्यपुस्तक मैले त देखेको छैन । यद्यपि एक सिद्धान्त वा एक वादको लेखा अर्को सिद्धान्त वा वाद खतरनाक वा धोखा छ, तैपनि मानिसलाई असलै बनाउने धारणाले पुस्तक वा ग्रन्थ रचिएका हुन्छन् । तर पनि अपठितभन्दा प्रायः मानिस पठितै दानव भएर निस्किरहेका देखिन्छन् । अपठित त वास्तवमा सोझै मात्र हुन्छन् जो दानव बनिरहेका पठितकै निम्ति शिकार बन्छन् । कुनै अपठित समाजको निम्ति कष्ट दिने भए त्यो बहुला कुकुरजस्तै हुन्छ, जो अगाडि परेकासम्मलाई मात्र टोक्छ । तर दानव बनिरहेका पठितले मानिसहरूलाई मुग्धमार ख्वाइराखेका हुन्छन् । सुख दुहिरहेका मानिसलाई पत्तै हुँदैन । यदि कोही पनि अपठित भएर सोको नभइदिएको भए पठितहरू दानवताका रछ्धानमा दगुर्दैनन्, बरु संसारमा सौन्दर्य सिर्जने देवता मात्र बन्दछन् । त्यसैले मेरो विचारमा दानवहरूमाथि क्रुद्ध भएर दानवहरू खतम गर्नतिर मात्र व्यस्त भइरहनुभन्दा दानव सिर्जने अवसर दिने सीधा-साधा भोलाभालाबाट नै संसार शून्य गराउनुपर्छ । “न रहे बाँस, न बजे बाँसुरी” । सीधा-साधा, भोलाभाला नै छैनन् भने मानव दानव नै कसरी बन्न सक्ला ? दानवता त सीधा-साधाकै बुद्धपनको कापबाट उब्जने घाँस मात्र हो । सबै मानिस होशियार, चलाक, चनाखा भए कसले कसलाई ठग्न सक्ला र ? दानव बन्न पाइन्छ जब कसैले कसैलाई ठग्न सक्ने, बेहोच्याउन सक्ने सोझापन, भोलापन नै पाउन सक्तैन भने दानव बन्ने चेतना नै मानिसमा हुँदैन । अनि अझ बढ्ता सुख, शान्ति, आनन्दका निम्ति मानिसले मानिससित सौहार्द र सहानुभूतिको मात्र व्यवहार गरिरहला । मानिसहरूमा एकाधिपत्य रजाइँ गर्ने दैत्य, एक जनाले लाखौँ-करोडौं मानिसलाई मुठ्याएर अर्काको जीवनमा खेल्ने दानव जो अहिले विश्वमा वर्तमान छन्, ती पनि बढ्ता मानिसहरूको सोझइ, भोलाभालापनकै आडमा खडा भएर जग लिइरहने हुन् । संसारमा दानवता खतम गर्नलाई उसका बाबु सीधा-सोझपनलाई मान्छेको बस्तीबाट सिध्याउनुपर्छ । त्यसैले छोरा सीधा-सोझा भएर निस्कला भन्ने मलाई बडो चिन्ता छ । किनभने मेरो एउटा छोरो सोझो निस्कनासाथै संसारमा एउटा मानिस बाङ्गो-टेढो निस्कन सम्भव छ । एउटा मात्र मानिस बाङ्गिनासाथै दुनियाँका व्यवहार र व्यवस्था बटारिन जान्छन् । धुर्याइँ केही नभई बिलकुल सीधा-सोझा जाति हुनाले गाई-भैंसी, बोका बाख्री इत्यादि धेरै प्राणी-समाजमा मुख फुलिरहेको देखिन्छ : कुनै पनि गाई, बाख्रीहरूले खाद्य सङ्ग्रह गर्न वा लुकाउन वा एकले अर्कोलाई जोताएर पसीना खान खोजेको देखिन्न, यसैले उनीहरूका निम्ति जहिले पनि प्रकृतिमा आजको पछि भोलिलाई खाना मौजूद रहन्छ । मानिसकै घेरामा परेका प्राणीलाई मात्र शायद दुःख पनि छ । तर मानिस अरू प्राणीझैँ होइन, ऊ अकलमन्द र धूर्त छ, त्यसैले मानिसले सोझो बन्न कहिले पनि हुँदैन । त्यसैले मानिसले आफ्नो सुरक्षाका लागि आफू काँटादार भएर सधैं जागरूक भइरहनुपर्छ । चलाकीको काँटा नै उसको रक्षक हो । संसारमा कोही सोझो नभएपछि मानिसको काँटाले कसैलाई घोच्न र बिझाउन पनि सक्तैन । मानिसलाई दैत्य बनाउने ग्रन्थ कुनै लेखकले लेखेका छैनन्, तापनि मानिसलाई चलाक, रसिक र सुन्दर नबनाउने ग्रन्थ वा पुस्तकहरू पर्याप्त छन्, ती पुस्तकहरूलाई पनि सोझो बनाउने आरोप लगाउन सकिन्छ, यद्यपि धर्म, नीति, शास्त्र, दर्शन चाहे जेसुकै होस्, हरतरहबाट योग्य नबनाईकन मानिसलाई सीधा-सोझा बनाउने हो भने त्यस्तो पुस्तक छुन पनि म अपराध सम्झन्छु । (निबन्धसंग्रह ‘कुरा साँचो हो’बाट । पूरा संग्रह साहित्यपोस्ट एपमा पढ्न सक्नुहुन्छ ।) The post क्लासिक निबन्ध : सोझा appeared first on साहित्यपोस्ट.