Redirecting...

चुनावी सुरक्षा जोखिममा : सार्पसुटर अझै फरार, ४२८ थान हतियार लुटेराकै कब्जामा - bishwokhabar.com

चुनावी सुरक्षा जोखिममा : सार्पसुटर अझै फरार, ४२८ थान हतियार लुटेराकै कब्जामा - bishwokhabar.com
Source: bsbk

काठमाडौं- गुड्डु पटेल, जसलाई प्रहरीले गोली हानी १८ फागुन ०८१ मा टोखाबाट पक्राउ गरेको थियो । प्राप्त सूचनाअनुसार सुरुमा उनलाई प्रहरीले मामुली अपराधी ठानेको थियो । सोही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको थियो । तर, उनले उल्टै प्रहरीतर्फ नै गोली चलाउने प्रयास गरेका थिए । प्रहरीको जवाफी फायरमा घाइते बनेका उनी पक्राउ परे । अनुसन्धानपछि खुल्यो– उनी मामुली अपराधी नभई सार्पसुटर रहेछन् । ३ असोज ०७९ मा कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा गोली हानी लाल मोहम्मदको हत्या भएको थियो । उनैको हत्याका सार्पसुटरमध्ये एक थिए गुड्डु । तर, उनी अहिले फरार छन् । सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएका गुड्डु जेनजी आन्दोलनका क्रममा २४ भदौदेखि फरार भएका हुन् । नक्कली भारतीय नोट कारोबारका कारण भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विंगस्)को राडारमा रहँदै आएका बाराको जितपुर सिमरा उपमहानगरपालिका-९ का युनुस अन्सारी पनि २४ भदौदेखि नै फरार छन् । उनी पनि केन्द्रीय कारागारबाटै भागेका थिए । आन्दोलनका क्रममा कारागार तोडफोड हुन थालेपछि अन्य कैदीबन्दीसँगै अन्सारी पनि निस्किएका थिए । अन्सारी १० जेठ ०७६ मा सात करोड ७६ लाख नक्कली भारतीय रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीविरुद्ध अदालतले ६ वर्ष कैद सजाय तोकेको थियो । उक्त सजाय भुक्तानपछि जेलबाट निस्केलगत्तै उनलाई प्रहरीले गत २३ असारमा सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गत पक्राउ गरेको थियो । त्यसयता उनलाई केन्द्रीय कारागारमा राखिएको थियो । बर्दिया बाँसगढी नगरपालिका-७ का ज्योतिबहादुर भण्डारी । उनी ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ सहकारी ठगीको ‘मास्टरमाइन्ड’ मात्रै होइनन्, नक्कली नागरिकता प्रयोग गरी अनलाइन स्क्याममा समेत संलग्न थिए । उनलाई प्रहरीले मुस्किलले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको थियो । ४ असारमा पक्राउ गरेर ल्याइएका उनलाई ललितपुरको नक्खु कारागारमा राखिएको थियो । तर, २४ भदौमा कारागारमा आगजनी र तोडफोडका घटना भएसँगै निस्किएका उनी पनि फरार छन् । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पनि उमेश थापासहित बचतकर्ताको ६५ करोड ७७ लाख ठगी गरेको कसुरमा १८ असोज ०८० देखि नक्खु कारागारमै थिए । उनकी श्रीमती पूजा खत्रीसमेत सोही कसुरमा पक्राउ परी सुन्धारास्थित महिला बन्दीगृहमा थिइन् । तर, २४ भदौदेखि उमेश र पूजा दुवै फरार छन् । उनीहरूविरुद्ध गत १६ पुसमा मात्रै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुई अर्ब ६८ करोड ५१ लाख बिगोसहित दुईदेखि १० वर्षसम्मको कैद सजाय माग गर्दैै अदालतमा मुद्दा दर्ता गराएको छ । साथीकी श्रीमतीलाई प्रलोभनमा पारेर भारतको कोठीमा बेच्ने नुवाकोट दुप्चेश्वर-६ का जान्द्रे भनिने रामबहादुर तामाङ पनि जेलबाहिरै छन् । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले टोलीले १३ वैशाख ०८० मा पक्राउ गरेपछि पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका उनी २४ भदौमै फरार भएका हुन् । जापानी आपराधिक समूह ‘याकुजा सिन्डिकेट’ले ९० को दशकमा संगठित आर्थिक अपराध गरेर विश्व नै हल्लाएको थियो । ८० हजार संगठित सदस्य रहेको सिन्डिकेटले तेल र कारको मात्र होइन, यौनदासीको समेत विश्वभर तस्करी गथ्र्यो । सोही स्तरका तस्करले हङकङबाट नेपाललाई ‘ट्रान्जिट’ बनाएर क्विन्टलका क्विन्टल सुन तस्करी गर्दै आएको थियो । २ साउन ०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट बरामद ६०.७१६ किलो सुन सोहीमध्येको थियो । प्रहरीले घटनामा संलग्न बेल्जियम नागरिक दावा छिरिङसहित याओ फुचेङ, डिङ सेङ फा, सेड फा डिङ, नेङकाई ली, कुंगा टासी, मा जियन झोङ, लि झेक्विङ, गेङ्गा झाछी, याङ वेन, टेरेन्स सेसहितलाई पक्राउ गरेको थियो । पक्राउ परेका याओ फुचेङ, डिङ सेङ फा, सेड फा डिङ, नेङकाई ली र कुङ्गा टासी यस्ता अभियुक्त थिए, जसले जाली कागजात पेस गरी नक्कली नागरिकता लिएका थिए । पक्राउपछि उनीहरू सबैलाई केन्द्रीय कारागारमा राखिएको थियो । २४ भदौको तोडफोड र आगजनीपछि उनीहरू सबै फरार छन् । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड र आगजनीपछि कारागारबाट फरार भएका माथिका प्रतिनिधि घटना मात्रै हुन् । जो गम्भीर र संगठित प्रकृतिको कसुरमा संलग्न रहेका थिए । मुलुकभरका २८ कारागारबाट फरार हुने यस्ता आपराधिक कैदीबन्दी चार हजार ४६३ छन् । जसमध्ये ३८ सय ५२ नेपाली र ६११ विदेशी कैदीबन्दी छन् । यिनैलाई सरकारले २१ फागुनको निर्वाचनका लागि सबैभन्दा ठुलो सुरक्षा चुनौती ठानेको छ । यो तथ्यलाई गृहमन्त्री ओमप्रकाश अर्यालले स्वीकार गरेका छन् । हतियार लुटेराकै कब्जामाआन्दोलनका क्रममा नेपाल प्रहरीको १३ सय ४२ र सशस्त्र प्रहरीको ४६ गरी १३ सय ८८ थान हतियार लुटिए । त्यसमध्ये हालसम्म ७६० थान हतियार मात्रै फिर्ता भएका छन् । त्यस्तै, दुई सय थान जलेको अवस्थामा फेला परेको प्रहरी बताउँछ । यो आधारमा अझै ४२८ थान हतियार लुटेराकै साथमा छन् । जुन आसन्न निर्वाचनका लागि सबैभन्दा ठुलो सुरक्षा चुनौती रहेको नेपाल प्रहरीले जनाएको छ । फरार कैदी पक्रिन खोज्दा प्रहरीमाथि नै आक्रमण सिन्धुलीमा फरार कैदी पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको छ । जबर्जस्ती करणी कसुरमा दोषी ठहरपछि जिल्ला कारागारमा सजाय भुक्तान गर्दै आएका दुधौली-२, गामनका हेमबहादुर बम्जन पनि २४ भदौमा फरार भएका थिए । उनी गाउँमै लुकिछिपी बस्दै आएको सूचनापछि १ माघको बेलुका पक्राउ गर्न पुगेको प्रहरीमाथि उल्टै आक्रमण गरेर फरार भए । त्यसक्रममा एक प्रहरी घाइते भएका छन् । -पत्रपत्रिकाबाट