Redirecting...

नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा - ehimalayatimes.com

नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपाली उत्पादनहरूले गुणस्तरका आधारमा विश्वास जित्दै आएको उल्लेख गर्नुभएको छ । नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजिसिसिआई) को ३०औँ तथा ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले नेपाल र जर्मनीबीचको दीर्घकालीन व्यावसायिक साझेदारीलाई थप सुदृढ बनाउँदै ‘पिपुल टु पिपुल कनेक्सन’ लाई अझ प्रभावकारीरूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । मन्त्री सिन्हाले स्वदेश तथा युरोपेली मुलुकहरूमा व्यापार, लगानी, आर्थिक सम्बन्ध प्रवद्र्धन, व्यापार मेला आयोजना तथा नेपाली उद्यमीहरूलाई नवीन सोचसहित अन्तर्राष्ट्रिय बजारमा जोड्ने कार्यमा एनजिसिसिआईले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । साथै, वरिष्ठ कलाकार किरण मानन्धर तथा अन्य ११ जना कलाकारद्वारा प्रस्तुत कला तथा चित्रकलाले नेपालको कला, संस्कृति र प्रकृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उहाँले विशेष सराहना व्यक्त गर्नुभयो। कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत महामहिम उडो युजेन भोल्जले नेपाल र जर्मनीबीचको व्यापारिक सहकार्यलाई अझ विस्तार गर्न आफू उत्साहित रहेको बताउनुभयो । उहाँले दुर्ई देशबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई आर्थिक साझेदारीमार्फत् थप मजबुत बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले स्वतन्त्र, पारदर्शी तथा स्वस्थ व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले निजी क्षेत्रको सक्रिय सहभागिताबिना दिगो आर्थिक विकास सम्भव नहुने उल्लेख गर्नुभयो । एनजिसिसिआईका अध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु अपरिहार्य रहेकोमा जोड दिनुभयो । ‘नेपाललाई न्यूनतम सात लाख मेट्रिक टन युरिया मल आवश्यक छ तर हाल तीन लाख मेट्रिक टन पनि आयात गर्न सकेका छैनौँ,’ उहाँले भन्नुभयो । उहाँले जर्मनीको सहकार्यमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पेश भइसकेको जानकारी दिँदै यसलाई सबै सरोकारवालाले मिलेर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । यसैबीच, नेपाल-जर्मन उद्योग वाणिज्य संघको ३० औँ तथा ३१ औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा बुधबार काठमाडौंस्थित र्‍याडिसन होटलमा प्रत्यक्ष कला तथा चित्रकला सत्रहरू आयोजना गरिएका छन्, जसले प्रतिष्ठित सभाहरूमा जीवन्त सांस्कृतिक आयाम थपेको छ । कार्यक्रमको औपचारिक उद्घाटन एनजिसिसिआईका संस्थापक अध्यक्ष दिव्यमणि राजभण्डारीले गर्नुभएको थियो । उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै उहाँले वरिष्ठ कलाकार किरण मानन्धरको नेतृत्वमा सहभागी कलाकारहरूको टोलीद्वारा प्रस्तुत सिर्जनशीलता र नवप्रवर्तनको उच्च प्रशंसा गर्नुभयो । कला नेपालको समृद्ध सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणका साथै देशको पहिचान र सफ्ट पावरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने प्रभावकारी माध्यम भएको उहाँको भनाइ थियो । कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरले नेपाल तथा विदेशबाट सहभागी युवा तथा वरिष्ठ कलाकारहरूले सिर्जना गरेका उत्कृष्ट कलाकृतिहरूको प्रशंसा गर्नुभयो । यस्ता कला गतिविधिहरूले कलात्मक उत्कृष्टता र अन्तरसांस्कृतिक समझदारी विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै उहाँले उदीयमान प्रतिभाहरूलाई स्थापित कलाकार र विभिन्न क्षेत्रका दर्शकहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । र्‍याडिसन होटल परिसरमा ११ जना कलाकारद्वारा प्रत्यक्ष कला तथा चित्रकला प्रदर्शन भएको थियो । कार्यक्रममा एनजिसिसिआईका अध्यक्ष सन्तोषचन्द्र कुँवरको उपस्थितिले आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यको व्यापक दृष्टिकोणमा कला, संस्कृति तथा सिर्जनात्मक उद्योगलाई समावेश गर्ने संघको प्रतिबद्धतालाई स्पष्टरूपमा प्रतिबिम्बित गरेको छ ।