जोखिमयुक्त भत्काइएका संरचनामा व्यापार नगर्न प्रशासनको आग्रह - ehimalayatimes.com
हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारका क्रममा भत्काइएका तथा जोखिमयुक्त घर–टहरामा व्यापार–व्यवसाय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनाअनुसार जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्दै उक्त आग्रह गरिएको हो। प्रशासनले अधिकांश घरधनीले भत्काइएका संरचनाको व्यवस्थापन गरिसकेको भए पनि केही स्थानमा आंशिक रूपमा भत्किएका घर–टहरामा अझै व्यवसाय सञ्चालन भइरहेको पाइएको जनाएको छ। यस्ता संरचनामा व्यापार गर्दा कामदार र सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै श्रमिक सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ। जोखिमपूर्ण संरचनामा व्यवसाय सञ्चालन गर्दा भविष्यमा हुन सक्ने कुनै पनि विपद्जन्य घटनाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित घरधनी तथा व्यवसायी स्वयंले वहन गर्नुपर्ने स्पष्ट गरिएको छ। उल्लेखनीय छ, रातोमाटे–बुद्धचोक–राति पुल तथा बुद्धचोक–सामरी पुल खण्डमा गरिएको सडक विस्तार कार्य हाल सर्वोच्च अदालतको आदेशअनुसार स्थगित अवस्थामा छ।