Redirecting...

नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान - www.pardafas.com

नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान - www.pardafas.com
Source: pfds

थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता १०० केएम च्याङ्गमाई थाइल्याण्ड बाई यूटीएमबी मा सहभागिता जनाई उल्लेखनीय सफलता हासिल गर्नु भएका नेपाली धावकद्वयलाई नेपाली राजदूतावास, बैंककले एक विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ। उक्त अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता अल्ट्रा–ट्रेल डु मोन्ट–ब्लाङ शृंखलाअन्तर्गत आयोजना गरिएको थियो, जुन विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण अल्ट्रा ट्रेल रन प्रतियोगितामध्ये एक मानिन्छ। थाइल्याण्डको उत्तरी पहाडी भू–भाग, जङ्गल, उकालो–ओरालो तथा कठिन भौगोलिक संरचनालाई समेटेर आयोजना गरिएको यस प्रतियोगितामा विश्वका विभिन्न देशका व्यावसायिक तथा अनुभवी धावकहरूको सहभागिता रहेको थियो। यस कठिन र प्रतिष्ठित १०० किलोमिटर लामो ट्रेल रनमा जुम्ला जिल्ला निवासी नेपाली महिला धावक सनमाया बुढाले चौथो स्थान हासिल गर्न सफल भई नेपाल र नेपालीको नाम अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाएका छन् । त्यस्तै, ५० किलोमिटर लामो ट्रेल रनमा सहभागी धावक सनमाया वुढाकी बहिनी रनमाया बुढाले सातौं स्थान हासिल गर्दै नेपाली धावन क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छिन् । उक्त ऐतिहासिक सफलताको कदर गर्दै आज नेपाली राजदूतावास, बैंककमा आयोजित सम्मान कार्यक्रममा धावक सनमाया बुढाले जुम्लाको दुर्गम भूगोल, अभावपूर्ण जीवन अवस्था, निरन्तर संघर्ष, कठोर अभ्यास र आत्मविश्वासको यात्राबारे आफ्नो प्रेरणादायी अनुभव सुनाइन् । उनको संघर्षशील यात्राले कार्यक्रममा उपस्थित सबैलाई भावुक र प्रेरित बनाएको थियो। कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख मोती बहादुर श्रीसले धावकद्वयलाई बधाई दिँदै खादा लगाई मायाको चिनो प्रदान गरी औपचारिक रूपमा सम्मान गरे । उनले नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय सफलताले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै भविष्यमा पनि यस्ता प्रतिभाहरूलाई प्रोत्साहन गर्न राजदूतावास सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले दूतावासले आयोजना गर्न लागेको लुम्बिनी नेपाल मिनि म्याराथुनको बारेमा समेत प्रकाश पारे । उक्त सम्मान कार्यक्रममा नेपाली राजदूतावासका कर्मचारीहरू, गैरआवासीय नेपाली संघ, थाइ–नेपाली संघ, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, तथा शिक्षा, पेशा, व्यवसायमा संलग्न करिब २५ जना नेपाली समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी थाई नेपाली सङ्घ थाइल्याण्डका पूर्व अध्यक्ष कुमार कार्कीले धावकद्वयलाई प्रोत्साहन स्वरूप एक लाख रुपैया आर्थिक सहयोग प्रदान गरे । साथै, कार्यक्रममा उपस्थित अन्य नेपालीहरू तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले पनि आ–आफ्नो तर्फबाट आर्थिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमले नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय उपलब्धिलाई सम्मान गर्ने मात्र नभई, नेपाली समुदायबीच एकता, गर्व र प्रेरणाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।