साहित्य, संगीत र कलाक्षेत्रका आठ स्रष्टा सम्मानित - sahityapost.com
काठमाडौं । जनमत वाङ्मय प्रतिष्ठान, नेपालको ४२औँ वार्षिकोत्सव विविध साहित्यिक कार्यक्रमसहित सम्पन्न भएको छ। सो अवसरमा साहित्य, संगीत र कलाक्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका आठ जना स्रष्टालाई विभिन्न सम्मान प्रदान गरिएको छ। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले २०५० सालदेखि निरन्तर रूपमा प्रदान हुँदै आएका सम्मानहरूको सङ्ख्या बढ्दै गएकाले यस वर्ष दुई चरणमा सम्मान वितरण गर्ने जानकारी दिनुभयो। आ–आफ्नो विधामा लामो समयदेखि निरन्तर संलग्न रही योगदान पुर्याएकाे स्रष्टाहरूलाई सम्मान गरिएको उहाँले बताउनुभयो। २०८१ सालको ‘दीपा–जनमत सम्मान’ नियात्राकार तथा लेखक निर्मोही व्यासलाई प्रदान गरिएको छ। त्यसैगरी ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ लेखक ज्ञानेन्द्र विवशलाई अर्पण गरिएको छ। विवश यात्रा–लेखक, कलाकार तथा कलासमीक्षकसमेत हुनुहुन्छ। सम्मानित स्रष्टाहरूमा ‘गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान’ श्याम तमोट, ‘केवलपुरे–जनमत सम्मान’ खेमराज निरौला, ‘कमला सैंजू–जनमत सम्मान’ मोतिशोभा श्रेष्ठ, ‘जनमत–राजभाइ सहयात्री सम्मान’ कृष्णप्रसाद आचार्य, ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाजुराम पौडेल, ‘जनमत–केदार–सुदर्शना बालसाहित्य सम्मान’ ज्योति अधिकारी सम्मान समारोहमा सम्बन्धित विधाका अग्रज व्यक्तित्वहरूले दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेकाे थियाे । सम्मान अर्पण गर्ने व्यक्तित्वहरूमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के. सुन्दर, उपसभामुख इन्दिरा राना मगर, कलाकार राधेश्याम मुल्मी, साहित्यकार रामप्रसाद पन्त, कवि कृष्ण प्रधान र इन्दिरा श्रेष्ठ रहनुभएकाे थियाे । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले आठै जना सम्मानित स्रष्टाहरूको परिचय गराउनुभएको थियो भने सम्मानितहरूको तर्फबाट निर्मोही व्यासले मन्तव्य प्रकट गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि भूपाल राई र जनमतका अध्यक्ष तथा प्रधान सम्पादक मोहन दुवालले पनि आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमकै अवसरमा उपसभामुख इन्दिरा राना मगरले सुमधुर स्वरमा गीत प्रस्तुत गर्नुभएको थियो। जनमत वाङ्मय प्रतिष्ठानकी सदस्य सिर्जना दुवालले स्वागत मन्तव्यसहित स्वागतगान प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो। The post साहित्य, संगीत र कलाक्षेत्रका आठ स्रष्टा सम्मानित appeared first on साहित्यपोस्ट.