बालवाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा वाग्ले पुनः चयन - sahityapost.com
काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा अनन्त वाग्ले सर्वसम्मत रुपमा पुनः चयन हुनुभएकाे छ । केन्द्रको १० औं वार्षिक साधारण सभाको अवसरमा बबरमहलस्थित साफ पल्चामा सम्पन्न कार्यक्रममा वाग्लेलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष चयन गरिएको हो। कार्यक्रममा प्रमोद प्रधानको संयोजकत्वमा सिर्जना शर्मा र प्रा.डा. तारानिधि भट्टराई सम्मिलित अध्यक्ष मण्डल गठन गरी नयाँ कार्यसमिति चयन गरिएको थियो। नयाँ कार्यसमितिमा उपाध्यक्षमा मन्जु ज्ञवाली, महासचिवमा शान्ति सापकोटा, सचिवमा सन्जोग ठकुरी, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ तथा सदस्यहरूमा नेत्र तामाङ, रवीन्द्र मानन्धर, सुशीला तामाङ र हिक्मत दाहाल चयन हुनुभएकाे छ । कार्यक्रमको विशेष आकर्षणका रूपमा अध्यक्ष वाग्लेको सम्पादनमा तयार भएको पुस्तक ‘अपराजिता : जीवन बदल्ने छोरीहरू’ को विमोचन गरिएको थियो। पुस्तक विमोचन कार्यक्रममा सिर्जना शर्मा, विजयराज आचार्य, प्रा.डा. चुडामणि बन्धु, के के कर्माचार्य, प्रमोद प्रधान, अशोकमान सिंह, शान्ति सापकोटा लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो। हिरोइन मुभमेन्ट कार्यक्रमअन्तर्गत केन्द्रले प्रकाशन गरेको उक्त पुस्तकमा जीवनका विविध संघर्ष पार गर्दै सफलता हासिल गर्नुभएकाे पाँच जना नेपाली महिलाहरू — म्याराथन धाविका मिरा राई, आईटी इन्जिनियर श्रीती श्रेष्ठ, तेस्रो लिङ्गी अभियन्ता पिंकी गुरुङ, गायिका अभया सुब्बा र कान्छी शिक्षाकर्मी रित काफ्लेको संक्षिप्त जीवन कथा समावेश छ। वाग्लेले पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्दै सहयोगीहरू — नेदरल्याण्डकी बेट्टे एन्ड्रियान्से, हिरोइन अभियान नेपाल, चित्रकार कृषा ताम्राकार लगायत सबैप्रति आभार व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे, “आफ्नो लक्ष्यमा पुग्न निरन्तर लगनशील भएर सफलता चुमेका पाँच नेपाली छोरीहरूको कथा समेटिएको यो पुस्तक प्रेरक स्रोत बन्नेछ।” विमोचन कार्यक्रममा सहभागी भएका पात्रहरूले पनि पुस्तकप्रति प्रशंसा व्यक्त गर्नुभएकाे थियाे । पिंकी गुरुङले तेस्रो लिङ्गी समुदायको पहिचान स्थापित गराउन लेखक वाग्लेको योगदान उल्लेख गर्नुभयाे भने, गायिका अभया सुब्बाले महिलाको आवाज छायाबाट प्रकाशमा ल्याएकोमा कृतज्ञता जनाउनुभयाे । पुस्तकमाथि समालोचक डा. जानुका पौडेल र पत्रकार सुशीला तामाङले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएकाे थियाे । The post बालवाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा वाग्ले पुनः चयन appeared first on साहित्यपोस्ट.