जेएनजीको नाममा अपराधीले मुलुक जलाए : केपी शर्मा ओली - janatatimes.com
दमक, फागुन ३ । नेकप (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेएनजीको नाममा अपराधीहरूले मुलुकमा आगजनी र तोडफोड गरेको दाबी गर्नुभएको छ। झापाको दमक नगरपालिका–२ स्थित हिमालय उच्च माविमा नेपाल शिक्षक संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका आगजनी र तोडफोडका घटनामा जेएनजी पुस्ताको संलग्नता नरहेको जिकिर गर्नुभयो। “नेपाल शिक्षक संगठन भनेजस्तै जेएनजी एउटा उमेर समूह हो,” उहाँले भन्नुभयो, “त्यो समूहका युवा पुस्ताको आन्दोलनमा पुसेर अपराधीहरूले मुलुक जलाएका हुन्, शिक्षक र विद्यार्थीले देश जलाएका होइनन्।” शिक्षकहरूको माग र आन्दोलनबारे टिप्पणी गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेका बेला शिक्षकका विषय उठाइएको र वार्ताका लागि पटक–पटक आह्वान गरिएको उल्लेख गर्नुभयो। “म प्रधानमन्त्री भएको अवस्थामा नै शिक्षकका माग उठाइएको थियो, मैले वार्तामा आउन शिक्षक संगठनका प्रतिनिधिहरूलाई पटक–पटक आग्रह गरेको थिएँ,” उहाँले भन्नुभयो, “तर उहाँहरू आउनुभएन, सरकार र प्रधानमन्त्रीको विरोधमै केन्द्रित हुनुभयो।” उहाँले सबै समस्या वार्ताबाट समाधान हुन सक्ने अवस्था हुँदाहुँदै पनि आन्दोलनले स्पष्ट मार्गचित्र नबनाउँदा निकास ननिस्किएको धारणा राख्नुभयो। “कहाँ पुग्ने, कसरी टुंग्याउने, कसले कोसँग संवाद गर्ने भन्ने स्पष्ट हुनुपर्थ्यो,” उहाँले भन्नुभयो। अध्यक्ष ओलीले शिक्षकहरूको संयुक्त आन्दोलनमा विभिन्न राजनीतिक आस्थाका आधारमा फरक–फरक माग र दृष्टिकोण आएका कारण आन्दोलन सहज रूपमा अघि बढ्न नसकेको पनि बताउनुभयो। शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रीलाई जिम्मेवारी दिइएको भए पनि आन्दोलनमा संलग्न केही पक्षले सरकार र प्रधानमन्त्रीको मात्र विरोध गरिरहेकाले समाधानतर्फ प्रगति हुन नसकेको उहाँको भनाइ थियो। ओलीले शिक्षकहरुनै समाजको रुपान्तरणकारी चेतनाका संवाहक रहेको बताउनु भयाे । विगतका राजनीतिक एवम् जनाधिकारका आन्दोलनहरुमा पनि शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको उहाँले स्मरण गराउनु भयो । उहाँको नेपालको शिक्षा क्षेत्र र शिक्षकहरुका समस्या समाधानका लागि सरकारमा हुँदा र नहुँदा पनि एमालेले सशक्त भुमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । आफु पनि २०२६ सालको शिक्षक रहेको स्मरण गर्दै अध्यक्ष ओलीले शिक्षण कार्य एउटा जागिर मात्र नभई समाज रुपान्तरणको अभिभारा समेत रहेको बताउनुभयो । शिक्षाको स्तर कम भएका तथा दुर्गम क्षेत्रहरुमा समेत पुगेर शिक्षकहरुले चेतना, शिक्षा र समाज रुपान्तरणको जागरण फैल्याएको भन्दै उहाँले समयानुकुल वेतन अभावमा पनि शिक्षकहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।