गगन थापाका यी पाँच गुण, जसले भावी प्रधानमन्त्रीका लागि योग्य बनाउँछ ! - kendrabindu.com
काठमाडौं । यतिवेला सर्वत्र चासो छ, फागुन २१ गतेको संसदीय निर्वाचनपछि नेपालको प्रधानमन्त्री को होला ? राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेर निर्वाचनमा होमिएको छ । त्यसैगरी नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको छ । हालसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले यस विषयमा मुख खोलेको छैन । नेपाली काँग्रेसले पार्टी सभापति गगनकुमार थापालाई औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । चर्चामा रहेका उम्मेदवारमध्ये थापा प्रधानमन्त्रीका लागि सबैभन्दा योग्य र सर्वस्वीकार्य पात्र देखिन्छन् । यसको कारण हो, जेनजी आन्दोलनपछि अब पुराना राजनीतिक दलका पुराना नेता प्रधानमन्त्री बन्नै नहुने सामाजिक मनोविज्ञान छ । निश्चय नै जनताले नयाँ अनुहार चाहेका छन् । तर, राजनीतिक पृष्ठभूमि नै नभएका र भरपर्दाे छवी नभएका व्यक्तिलाई एकैपटक प्रधानमन्त्री पद सुम्पन नहुने बलियो मत नेपाली समाजमा छ । यी दुई फरक मनोविज्ञानको बिचमा मध्यमार्गी छवी भएका एकै पात्र हुन्, थापा । थापा मात्र एक त्यस्ता पात्र हुन् जोसँग लामो राजनीतिक अनुभव छ र नयाँको पनि पहिचान एकैचोटी छ । त्यसभन्दा पनि पृथक अन्तराष्ट्रिय समुदायले विश्वास गर्ने नेपाली काँग्रेसका सभापति हुन् उनी । जेनजी आन्दोलनपछि गल्ती स्वीकार गर्दै अगाडि बढेका थापालाई जेनजी आन्दोलनका धेरै अगुवाले आफ्नो प्रतिनिधिको रुपमा हेरेका छन् । देश बुझेको नेता विगत दुई दशकको अवधीमा थापाले सार्वजनिक नीति अर्थात पब्लिक पोलिसीका विषयहरुलाई मिहिन ढंगले अध्ययन गरेका छन् । जुन उनको संसदको प्रस्तुतीले पनि देखाउँछ । संसदमा छोटो अवधीमा बोल्नका लागि पनि उनले आफ्नो अनुसन्धान टोलीमार्फत राम्रो तयारी गर्दथे । त्यसैले पनि संसदमा उनले बोलेका कुरा हमेशा संचारमाध्यमको समाचार शीर्षक बनें । र, सामाजिक संजालमा पनि त्यसको चर्चा हुने गर्दथ्यो । अझ देशको कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, अर्थतन्त्र, विदेश नीति लगायतका विषयहरुमा उनले स्वयं र सहयोगीमार्फत बृहत अध्ययन गरेका छन् । त्यही ज्ञानको आधारमा उनले प्रधानमन्त्रीको रुपमा राम्रो कार्यसम्पादन गर्न सक्छन । उनले विशेष महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिकि दस्तावेजमा देशमा विद्यमान समस्या र समाधानका उपाय दुवैलाई राम्रोसँग प्रस्तुत गरेका छन् । सधैं परिवर्तनको पैरवी नेपाल विद्यार्थी संघको राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएका थापाले शुरुवाती दिनदेखि अहिलेसम्म निरन्तर परिवर्तनको पैरवी गरिरहेका छन् । विद्यार्थी राजनीतिमा रहँदा उनले नेपालमा गणतन्त्र ल्याउनको लागि महत्वपूर्ण भूमिका खेले जसका कारण आजसम्म पनि उनी राजावादीको तारोमा छन् । त्यसपछि निरन्तर रुपमा उनले पार्टीभित्र र बाहिर रुपान्तरण र प्रगतिशील एजेण्डाको बाटो समाए । जसले गर्दा उनी अन्य राजनीतिक दलहरुका लागि पनि उनी एक उदाहरणीय पात्र बने । संसदमा उनले आफूलाई सधै स्थायी प्रतिपक्षको रुपमा स्थापित गरे । विपक्षी पार्टी मात्र होइन, आफ्नै पार्टीको कमीकमजोरीको बारेमा उनले बिना कुनै त्रास र संकोच आवाज उठाए । पछिल्लोपटक भदौ २३ र २४ को जेनजी पछि त्यसलाई विद्रोहको रुपमा स्वीकार गरी युवाको आवाज र मागलाई समयमा नै सम्बोधन गर्न नसकेको भनी माफी नै मागे, जसले पार्टीलाई जेनजीसँग जोड्यो । उनले आफ्नो पोजिसनलाई हालै सम्पन्न विशेष महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । यति मात्र होइन, उनले आफ्नो राजनीतिक प्रतिवेदनमा नेपालको राजनीति, प्रशासनतन्त्र र सुरक्षा निकायहरुलाई रुपान्तरण गर्ने प्रस्ताव समेत गरेका छन् । यदि थापाको राजनीतिक प्रतिवेदनलाई कार्यान्वयन गर्ने हो भने जेनजी आन्दोलनले उठाएका लगभग सबै मागहरु पुरा हुन्छन् । त्यसैले विगत २० वर्षमा उनले जहिले पनि परिवर्तनको पक्षमा आवाज उठाएका छन् । उनले समाजमा निरन्तर आउने परिवर्तनको लहरलाई राम्रोसँग बुझ्ने गर्दछन् । साथै, उनको संविधानप्रतिको प्रतिबद्धता बलियो र दृढ छ । सन्तुलित कूटनीतिक पैरवी काँग्रेसको सभापतिको रुपमा थापाले जहिल्यै नेपालको असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा जोड दिएका छन् । केही वर्षअघि नेपालमा अमेरिकाको एमसीसी र चीनको बिआरआईको बिषयमा नेपालमा निकै ठूलो बहस चल्यो । यस बिचमा काँग्रेसको महामन्त्रीको रुपमा उनले निकै सन्तुलित भूमिका खेले । जसका दुई महत्वपूर्ण उदाहरण म प्रस्तुत गर्न चाहन्छु । उनले अमेरिकाको एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेले । पछि काँग्रेस नै सरकारमा रहेको समयमा उनले चीनको बिआरआईलाई पारित गराउन महत्वपूर्ण भूमिका खेले । यसबाट उनले नेपालले कुनै एक मुलुकको पक्ष नलिई सन्तुलित कूटनीति अंगिकार गर्नसक्छ भन्ने स्पष्ट सन्देश दिए । विशेष महाधिवेशनबाट पारित भएको राजनीतिक प्रतिवेदनमा पनि उनले दुई छिमेकी मुलुकको आर्थिक विकासबाट अधिकत्तम फाइदा लिई नेपालको परराष्ट्र नीतिलाई विविधिकरण गर्ने प्रस्तावलाई अगाडी सारेका छन् । साँसद र नेपाली काँग्रेसको महामन्त्रीको रुपमा थापाले अन्तरराष्ट्रिय समुदायसँग सुमधुर सम्बन्ध बनाएका छन् । जसले गर्दा अहिलेको विषम राजनीतिक अबस्थामा उनले नेपालको कूटनीति र अन्तराष्ट्रिय सम्बन्धलाई पाको ढंगले सम्हाल्न सक्छन् । एक अध्ययनशील नेताका रुपमा थापाले पछिल्लो भूराजनीतिलाई राम्रोसँग बुझेका छन् । काँग्रेसको महामन्त्री बन्दै गर्दा उनले अन्तरराष्ट्रिय समुदायसँगको सम्बन्धलाई सौहाद्र्धपुर्ण बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । नयाँ अनुहार तर पर्याप्त अनुभव थापा नेपाली राजनीतिका ति पात्र हुन्, जोसँग राजनीतिको लामो अनुभव छ तर नयाँ र युवा नेतृत्वको छवी प्रवल छ । नेपाली काँग्रेसका पाका नेताहरु ७० वर्षको आसपासमा हुँदा उनको उमेर भने ४९ मात्र रहेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ पुस्ताले नेपाली काँग्रेसको नेतृत्वमा देख्न चाहेको व्यक्ति थापा नै हो । युवा नेताको पहिचान बनाएपनि २०६४ को पहिलो संविधानसभाको निर्वाचनदेखि अहिलेसम्म निरन्तर सांसद भइरहेका छन् । स्वाथ्य तथा जनसंख्यामन्त्री रहँदा उनले निकै सुधारका कार्ययोजनाहरु ल्याए । त्यसैगरी उनीसँग संसदका बिभिन्न समितीहरुको जिम्मेवारी सम्हालको अनुभव समेत रहेको छ । त्यसैले थापा नेपाली राजनीतिका यस्ता पात्र हुन् जो विभिन्न समयमा सांसद भएर पनि नयाँ भरोसाको रुपमा रहेका छन् । यति मात्र होइन, यस अवधीमा उनले प्रधानमन्त्री लगायत पार्टीका शीर्ष नेताहरुसँग नजिकबाट काम गरेका छन् जसका कारण उनले राजकाजको कला पनि राम्रो सिकेका छन् । विश्वास र भरपर्दाे पात्र पार्टीभित्र र बाहिर लामो समय काम गरेको आधारमा थापाले देशभित्र र देशबाहिर एक विश्वसनिय छवी बनाएका छन् । प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुसँग उनको सौहाद्र्धपूर्ण सम्बन्ध रहेको छ । उनले विदेश नीतिको सवालमा उनले प्रमुख शक्तिहरुसँग सौहाद्र्ध र विश्वसनिय सम्बन्ध बनाएका छन् । नेपाली र अंगेंजी दुवै भाषामा पोख्त थापाले अन्तराष्ट्रिय विषयमा नेपालको धारणा स्पष्टसँग राख्न सक्छन् । यस मात्र होइन, देशभित्र उनले नेपाली सेना, न्यायलय, कर्मचारीतन्त्र, मिडिया, नागरिक समाज र अन्य क्षेत्रको विश्वास जितेका छन् । निष्कर्षमा भन्दा चर्चामा आएका नामहरुमध्ये थापा प्रधानमन्त्रीको भरपर्दाे र वलियो दावेदारको रुपमा थापा उभिएका छन् । उनी सर्लाही ४ बाट संसदीय निर्वाचन लड्दैछन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. अमरेश सिंहसँग चुनाव लड्दैछन् ।