जेनजीहरुले स्वर परिवर्तन गर्न थाले : मेयर महर्जन - www.pardafas.com
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताए । तर जेनजीहरुले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको बताए । यस्तो गर्न नपाइने मेयर महर्जनको भनाइ छ । निर्वाचन हुनैपर्ने र निर्वाचन सफलीभुत बनाउने काममा जेन–जीहरुले पनि सहयोग गर्नुपर्ने बताए । ‘सम्माननीय प्रधानमन्त्रीज्युको जुन सरकार छ, यसको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । तर अलिकति मलाई चिसो परिरहेको छ की, जेन–जीले आमा भन्नुहुन्छ । भनिरहेको पनि छ । तर पछिल्लो कालखण्डमा आएर स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिँदैनौँ भनिरहेको छ । यो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ । चुनाव गरेर यो सरकार डिरेल भइरहेको अवस्था जुन छ, त्यसलाई रेलमा ल्याउने जुन प्रकारको मुख्य दायित्व छ, त्यो काममा सफलीभुत बनाउनैपर्छ’ उनले भने । महानगर प्रमुख महर्जनले जेनजीहरुको बुद्धि पलाउन बाँकी रहेको र निर्वाचन सफलीभुत गराउन सहयोग गर्नैपर्ने बताए ।