Redirecting...

कथा: दूर क्षितिजको बत्ती   - sahityapost.com

कथा: दूर क्षितिजको बत्ती   - sahityapost.com
Source: shpt

आज फेरि ऊ झल्याँस्स ब्युँझियो । राग दरबारीकै बेला हुँदो हो । दुनियाँ मस्त निद्रामा थियो । एक–दुईटा कुकुरहरू प्राण निस्किन लागेको आवाजमा भुक्दै थिए । बाँकी बतासले सास फेर्दा समेत सुन्न सकिने सन्नाटा थियो । आज उसको जीउ सदाझैँ पसिनाले लछप्पै भिजेको थिएन । थरथर कामिरहेको पनि थिएन । बरु अलि अलि जाडो भैरहेको थियो । सामुन्नेको झ्याल खुलै रहेछ । खुल्ला झ्यालबाट उसले रोशनी देख्यो । आकाशका तारा हुन् कि जुनकिरी हुन्, त्यो त उसले चिनेन । तर धेरै पर पर अँध्यारो पर्दामा उज्यालाका थोप्लाहरू देखेर आज ऊ रमायो । कस्तो बेग्लै रमिता गर्यो उसको जीवनले आज । चलनको विधि नै फेरिदियो । ऊ आफैँलाई पत्यार लागिरहेको छैन । हिजो, अस्ति, झन् अस्ति, धेरै रात भयो, ऊ प्रत्येक रात एक जुवा अँध्यारो बाँकी छँदै ब्युँझिन थालेको । हिजोसम्म त ऊ पसिनाको पोखरीमा डुबेर बाहिर निस्किन्थ्यो । सारा वदन लुगलुग गर्दै कामिरहेको हुन्थ्यो । काला, हरिया, पहेँला वीभत्स रूपरङ्ग गरेका, अजङ्गको जीउडाल भएका मानिसहरू सधैँ उसको सपनामा आउँथे । कहिले अन्धकार गुफाभित्र लगेर उसलाई थुनिदिन्थे । कहिले छातीमा गह्रुङ्गो ढुङ्गा बाँधेर गहिरो इनारमा खसालिदिन्थे । ऊ चिच्याउन खोज्थ्यो । छटपटाउन खोज्थ्यो । हातगोडा चलाउन खोज्थ्यो तर केही जोडबल चल्दैनथ्यो । अनि एक्कासि ऊ ब्युँझिन्थ्यो । सपनाबाट भागेर ब्युँझिन पनि उसलाई पहरो फोरेर निस्केझैँ गर्नुपर्थ्यो । उसलाई यतिमात्रै सम्झना छ कि हरेक रात उसलाई एकैनासका अनुहारहरू घेरा हाल्न आउँथे । एउटै चिहानबाट ब्युँतिएका शैतानजस्ता । कहिले ओछ्यानबाटै जुरुक्क उचालेर लैजान्थे । कहिले घिसार्दै घिसार्दै लान्थे । ब्युँझेपछि पसिनाका धारा एकैछिनमा सुक्दैनथे । लुगलुग कामेको जीउ अलिबेर थिर हुँदैनथ्यो । जसोतसो आफ्नै मनसँग सङ्घर्ष गर्दै जब ऊ यथारूपमा फर्कन्थ्यो, ऊ फेरि आफैँसँग उही वाक्य दोहोर्याएर भन्थ्यो – “आज पनि पापी आत्माहरूले पिछा गर्न छाडेनन् ।” उसकी आमाले ऊ सानोछँदा भनेको कुरा सम्झियो, “छातीमा हात राखेर नसुत । राति ऐँठन पर्छ ।” सानो छउन्जेल उसलाई खै कहिल्यै ऐँठन परेन । अहिले पनि उसलाई ऐँठन पर्नेमा पटक्कै भरोसा छैन । हात त छातीमा राखेकै हैन । अनि घरी घरी त्यस्तै कसरी हुन्छ ? यो पक्कै पनि शैतानहरूकै कर्तुत हो । ऊ आत्मालाई पत्याउँछ, आत्मासँगै डराउँछ । उसका लागि आत्मा भनेको भूत हो, प्रेत हो, पिशाच हो, नरकङ्कालबाट जुरुक्क उठेको अर्धप्राणी हो । कहिलेकाहीँ त उसलाई लाग्थ्यो, यी सबै बौलाएका मानिसका आत्मा हुन् । अगतिमा परेर मर्नेहरूको आत्माले पनि मोक्ष नपाएर प्रेत भएर डुलिरहन्छ भन्ने पनि उसले सुनेको थियो । उसले बुझेको के हो भने आत्माले पिछा गर्यो भने धपाउन मुस्किल छ । उसलाई लाग्छ, प्रत्येक रात यी आत्माहरू यही झ्यालको बाटो भएर उसको ओछ्यानसम्म आइपुग्छन् र उसलाई जुरुक्क उचालेर लैजान्छन् । त्यसैले उसले झ्याल ड्याम्म थुनिदियो । हरेक रात ऊ यसै गर्ने गर्छ । हरेकले जस्तै उसले पनि बालक छँदा भूतको कथा सुनेको थियो । सानोमा कथा भनेकै भूत प्रेतका कथा हुने गर्थे । कथा सुन्दा सुन्दै बसेको चकटी मुनिबाट भूतको हातले कोट्याएजस्तो लाग्थ्यो । छेउकै ओछ्यानमा एक्लै सुत्न डर लाग्थ्यो । बाल्यकाल यही भरोसाका साथ बिताइएको हो कि रातिको समय भनेकै भूतहरूको समय हो । भूत भनेको मरेका मान्छेको आत्मा हो रे । बालकहरूले नै यसको ठोकुवा गर्थे । उसको मनमा अहिले त्यस्तै आत्माहरूले ताण्डव मच्चाइरहेका छन् । उसका लागि सुत्नु भनेको सङ्ग्राम गर्न तम्सिनु हो । केही दिनदेखि मौसम पनि अलिअलि फेरिएको छ । सुत्नेबेलामा झ्यालबाट छिर्ने बतास आनन्ददायक हुन्छ । त्यसैको अँगालोमा बेरिएर निदाउन रमाइलो लाग्छ । मध्यरातपछि बतास पनि पुरानो हुँदै जान्छ, स्पर्श पनि चिसो चिसो लाग्न थाल्छ । एउटा ओढ्ने कुराले ढाकिन मन लाग्छ । आज राति उसले धेरै स्वर्णिम सपना देख्यो । पछिल्लोचोटि उसले यस्तो आनन्ददायक सपना कहिले देखेको थियो, त्यसको उसलाई मधुरो स्मरण समेत छैन । उसले सामुन्नेको झ्याल बन्द गरेको थियो किनकि हरेक रात त्यही झ्यालबाट शैतानहरू छिर्थे र उसलाई घिसारेर लैजान्थे । आज उसले सिरानको माथिपट्टिको सानो झ्याल उघारिदिएको थियो, सास फेर्न सजिलो होस् भनेर । उसलाई झ्याल भनेको आफ्नै जिन्दगीजस्तो लाग्थ्यो – उज्यालो र अँध्यारो पालैपालो छिर्ने । मध्यरात मात्रै भएको हुँदो हो । त्यही सानो झ्यालबाट साना साना रङ्गीन पुतलीहरू भुरुरु उड्दै भित्र पस्न थाले । यति सुन्दर पुतलीहरू उसले कहिल्यै देखेको थिएन । पुतलीहरू यतिसम्म राम्रा पनि हुन्छन् ? ऊ अचम्ममा पर्यो । ती पुतलीहरू फूलको वासना चाल पाएर नाचेझैँ उसका वरिपरि पखेटा हल्लाउँदै नाच्न थाले । कुनै सिपालु कोरियोग्राफरले तालिम दिएर पठाएका नर्तकीजस्ता । बडो रमणीय भयो उसको साँघुरो संसार । हेर्दाहेर्दै ती पुतली झन् झन् ठुल्ठुला हुँदै जान थाले । पखेटा पनि लामा लामा भएर भित्तातिर ठोकिन थाले । अनुहारहरू पनि फेरिँदै फेरिँदै सुन्दर युवतीका जस्ता देखिन थाले । ऊ छक्क परेर हेरेको हेरेकै भइरह्यो । छिनभरमै उसका वरिपरि स्वर्गका परीभन्दा पनि परम सुन्दरी युवतीहरू आ–आफ्ना पखेटा पट्याएर खडा भए । उनीहरूका रूपौला अनुहार हेरेर ऊ मग्न भैरह्यो । “उठ युवक !” एउटी सुन्दरीले आफ्ना दुवै हातले उसका दुई हात च्याप्प समाउँदै भनी, “हिँड, हामी सँगै जाऔँ ।” ऊ अवोध बालकझैँ, अलिअलि सर्माएझैँ, प्रसन्न पनि भएझैँ जुरुक्क उठ्यो र पछि पछि लाग्यो । उसले न त प्रश्न गर्यो, न त प्रतिवाद नै गर्यो । हिजो अस्तिजस्तै घिस्रिँदै, लछारिँदै–पछारिँदै जानुपर्ने आज किन हुन्थ्यो र ? ती सुकोमल हातहरूको स्पर्श, हजार चन्द्रमासरि दिव्य मुहार भएकी युवतीको आग्रहमा ऊ यसरी पछि लाग्यो जसरी छाया पछि लाग्छ । उसले बाहिर निस्किँदा निस्किँदै भनी, “हामी तिमीलाई यस्तो यात्रामा लाँदैछौँ जसको पल्लो टुप्पोमा तिमी केवल शान्ति पाउने छौ । त्यहाँ बुद्धत्वका मधुर धुन सुनिने छन् । पवित्र आत्माहरू सुस्त सुस्त झुलिरहेका हुनेछन् । धानको बाला झुलेको देखेका छौ नि ? हो त्यस्तै । बतास पनि मधुरोसँग चल्ने छ । सबै मुक्त हाँसो हाँसिरहेका हुनेछन् अनि कोलाहल कतै हुने छैन । त्यहाँ तिमीले आफूलाई माया गर्दा गर्दै विलुप्त भएका मानिसहरूको आत्मालाई पनि भेट्नेछौ । न भोक, न तिर्खा, न लोभ, न अहङ्कार ! न घृणा, न व्यभिचार ! एउटा विकट पथको यात्रा पार गरेपछि पुगिने त्यस दुरूह टुङ्गोमा पाउनेछौ, तिम्रो व्याकुल मनले खोजेको निर्मल र अनन्त शान्ति ।” उसले चाहेको यही त थियो । ती दानवसरि अजङ्गका आत्माहरूको चङ्गुलबाट सदाका लागि मुक्ति । यस्तो एउटा घोर निद्रा, जसको सपनामा तिनीहरूको छाया पनि नपरोस् । उसलाई घरी घरी प्रश्नले प्रश्न सोध्ने गर्दछ, “सपनाहरूलाई पनि कैद गर्न मिल्छ र ? यी त त्रिलोकयात्री छन्, जहाँ पनि पुग्छन् । त्रिकालदर्शी छन् । देवता, ऋषि, मुनि, मनुष्य, असुर जसलाई पनि भेट्छन् । मेरा सपनाहरू मात्रै भयानक आत्माहरूको वन्धनमा किन परेका छन् ? हे मेरा सपनाहरू ! जाओ , तिमीहरू पनि स्वतन्त्र होऔ । भागेर धेरै पर जाओ ।” अब ऊ बेस्सरी खुसी भयो र झन् रमाउँदै ती सुन्दरीहरूका पछि पछि लाग्यो । हिँड्दा हिँड्देै उनीहरू एउटा सहरमा प्रवेश गरे । “ओहो ! यो त मेरो उही सहर हो ।” उसले अचम्मित हुँदै चारैतिर हेर्यो । सहर पूरै ध्वंश गरिएको थियो । जतासुकै भवनहरू भत्किएर भग्नावशेष मात्रै देखिन्थे । आगोको चर्को राप अझै थियो । मत्थर धुवाँ उडिरहेको थियो । खरानीको आकाश शिरैमाथि थियो । पर परसम्म कतैबाट चराचुरुङ्गीहरूको चिर्बिर सुनिन्नथ्यो । सडक छेउछाउका हरियाली र शीतल छहारी बाँड्ने माउ–चल्ला रूखहरू डढेर चितामा खरानी हुन नभ्याएका दाउराझैँ भएका थिए । ऊ नाङ्गो पाउले त्यही तातो सडक टेक्दै हिँड्दै थियो । यस्तो लाग्थ्यो, यो सहरमा भर्खरै कुनै महासमर भएको थियो । केहीबेर अगाडिमात्रै यहाँ मानव र मानवताले हारेको हुनुपर्दछ । ती अट्टालिकाहरू, ती महल, ती देवल, ती मठ–मन्दिर, ती सन्झ्याल, गजुर, घन्ट, कला र सभ्यताका निसानीहरू सबै भस्म भएका थिए । युवकले ठान्यो, उसका रहरहरू निमोठ्न जानेको, सपनाहरू चुँडाल्न जानेको, महत्वाकाङ्क्षाहरूका जरा उखेल्न जानेको यो सहर आज आफैँ भस्म ओढेर घाटमा पल्टिएको छ । कसरी ध्वस्त हुनसक्छ यो सहर यसरी उसले चालै नपाउने गरी ? यही सहर हो जहाँ उसले दुई सुकाको मूल्यमा पाँच मोहोरको मिहेनत बेचेको छ । ज्ञान, चेतना र विवेक बेचेको छ । ती हजारौँ ढोकाहरू, एकपछि अर्को गर्दै तिनका सँघारबाहिरै जुत्ता फुकालेर भित्र पसेको छ, प्रत्येक टेबल–कुर्सीलाई शिर झुकाएर नमस्कार गरेको छ । यति धेरै त उसले देवालयहरूमा पनि दर्शन गरेको छैन । अभिलाषाको हरण गर्न उन्मत्त यही सहरको वेदीमा उसले आफ्ना धेरै वाञ्छनाहरू अर्पण गरेको छ – ॐ आग्नये स्वाहा ! चारैतिर आँखा घुमाएर हेरेपछि उसले पत्याउनै पर्ने हुन्थ्यो कि भ्रमपूर्वक पालेका उसका आशा र भरोसाहरू पनि डढेर खरानी भएछन् । यो सहर हेराक्लाइटसले दुई पटक गोडा भिजाउन नसकेको नदीझैँ निरन्तर बगिरहनेजस्तो उसलाई लाग्दैनथ्यो । स्थिर र अपरिवर्तनशील विचारहरूले ठडिएका यसका अग्ला इमारतहरूमा आगो कहाँबाट पस्यो ? कसले डढायो ? पक्कै पनि यो हेराक्लाइटसकै आगो हो । ऊ निष्कर्षमा पुग्यो । सखारैको झिसमिसे बेला थियो वा गोधुलीको बेला थियो, त्यो ऊ जान्दैन । सपनामा समय प्रस्टसँग थाहा हुँदैन । धुमिल किसिमको हुन्छ । सहरका बिराना चोक, गल्लीहरूमा आफ्ना पाइलाका डोबहरू छोड्दै छोड्दै ऊ ती युवतीहरूका सँगै त्यहाँबाट लामा लामा फड्का चाल्दै बाहिर निस्कियो । कस्तो अचम्म ! सहरको डिल तर्ने बित्तिकै ऊ जुन दुनियाँमा पुग्यो, अहो ! त्यसको अवर्णित सौन्दर्य देखेर ऊ अक्क न बक्क भयो । अलौकिक ! अतुलनीय ! यस्तो सुन्दर दृश्यको परिकल्पना सायद कुनै चित्रकारले पनि गरेको छैन । हरिया, पर परसम्म फैलिएका खर्क छन् । हिजोसम्म त यो ठाउँ एउटा बन्जर भूमि थियो जहाँ मरेका जन्तुहरूलाई घिसार्दै घिसार्दै ल्याएर मिल्काइन्थ्यो । केही अग्ला सिमलका रूखहरू थिए जसका टुप्पाबाट ओर्लिन्थे गिद्धका बथानहरू । भाला र तरबारको चुच्चोझैँ तीखा ठुँडहरूले ठुङ्न थाल्थे ती सिनोलाई । रमाई रमाई कसैले आँखा झिकेर खान्थे, कसैले कान तानिदिन्थे । कोही भुँडी नै फोरेर भित्रै प्रहार गर्थे । केही स्यालहरू पनि आएर आफ्नो हिस्सा कब्जा गर्न थाल्थे । खै कहाँ छन् आज ती लुछीलुछी सिनो खाने गिद्ध र स्यालहरू ? खै कसले लग्यो ती हाडखोरहरू ? कता भाग्यो त्यो असह्य दुर्गन्ध ? आज त यहाँ हरियो दुबोको गलैँचा ओछ्याइएको छ । खै कताबाट आयो यो मधुरो सिम्फोनीको आवाज ? “कि त म यो सौन्दर्यले द्रवित भएर बग्न थाल्छु, कि त म यो धुनले जमेर यहीँ हिमशिला बनिदिन्छु ।” उसले आफैँलाई सुनाउँदै भन्यो । हिँड्दै जाँदा अझै पर छन् पहाडका मालिकाहरू, अझै पर शैल शृङ्खलाहरू, शैलजाले आफ्नै हातले सिँगारेका जस्ता चुचुराहरू, मालिकाका खोँचहरूबाट मधुर सङ्गीत सुसेल्दै दगुर्ने सेता सेता नदीहरू … न शब्दमा वर्णन गर्न सकिने, न त आँखाले भरोसा गर्न सक्ने । कुनै घरको छानोझैँ दुईतिरबाट उठेका पहाडहरूको साँघुरो धुरीमा चढ्दै चढ्दै माथि माथि पुग्दै गए । तलका खर्कहरू अब धमिला देखिन थाले, एकपछि अर्को गर्दै दायाँ बायाँका टाकुराहरू पुड्किँदै पुड्किँदै ‘लिलिपुट’ जत्रा देखिन थाले । बादलका टुक्राहरूको जुलुस उनको नजिक नजिक आउन थाल्यो । पृथ्वी त अब भुइँमै पुगिसकेको थियो । सायद स्वर्गलोक भनेको यस्तै अपत्यारिलो सौन्दर्य होला । पाँच पाण्डवझैँ उनीहरू पनि हिँडिरहे हिँडिरहे । “हे प्रिय युवक ! अब त गोडा पनि थाकिसके । अबेर पनि भयो । भोक पनि बेस्सरी लागिरहेछ । हिँड्दा हिँड्दै हामीले त केही खानै बिर्सेछौँ । भन, के खान्छौ ?” ऊ चुपचाप उभिइरह्यो । वरिपरि नजर घुमाएर हेर्यो । खानेकुरा केही पनि देखेन । यसबेला उसको मन जति प्रशान्त थियो, बाहिरको लोक पनि त्यस्तै निश्चल थियो । “आजको हाम्रो बिसौनी यही हो युवक । भोलि बिहानै फेरि आरम्भ गरौँला हाम्रो दिगन्तसम्मको यात्रा । आऊ, तिमी पनि यतै कतै बस ।” दूर क्षितिजमा एउटा बत्ती बलेको देखियो । ती सबै सुन्दर युवतीहरूलाई त्यहीँ छोडेर ऊ फुत्त बाहिर निस्कियो, आफ्नो कोमल निद्राबाट । जुरुक्क उठेर बस्यो । उसलाई सिङ्गै जीउ हलुङ्गो महसुस भइरहेको थियो । उसले यसो घडी हेर्यो । बिहानको पहिलो किरणले सँघारमा दण्डवत् गर्ने बेला हुनै लागेको रहेछ । उसले भरोसा गर्यो, आज घाम अलि बढी शृङ्गार गरेर आउने छ । ती चम्किला रूप भएका युवतीहरूलाई झलझली सम्झिँदै उसले बस् यत्ति प्रश्न गर्यो, “आज यो सपना जहाँनेर चुँडियो, के भोलि फेरि त्यहीँनेरबाट जोडिएला ? अनन्त शान्तिको त्यो दुरूह टुङ्गो अझै कति पर छ युवती ?” ऊ जुरुक्क उठेर फटाफट आफ्नो काममा लाग्यो । आज आइतबार । नोकरीमा जानु छ, सहरभित्र । The post कथा: दूर क्षितिजको बत्ती appeared first on साहित्यपोस्ट.