Redirecting...

महेन्द्रले गीत लेखेर रारा चिनाए, हृदयन्द्रको भ्लगले कर्णाली चिनाउला ? - www.sutranews.com

महेन्द्रले गीत लेखेर रारा चिनाए, हृदयन्द्रको भ्लगले कर्णाली चिनाउला ? - www.sutranews.com
Source: sutr

जुम्लाको स्याउले सयौं बर्षसम्म बजार नपाउँदा कोहि माइकालालले भ्लग पनि बनाएनन्, ब्लग पनि लेखेनन्। सहरको पाँचतारे होटेलको भ्लग बनाउनेले कर्णालीको झुपडीमा कहिले पनि क्यामराको आँखा तेर्स्याएन। राजा महेन्द्रले राराको गीत लेखेपछी रारा चिनिएको हो। कर्णालीका अर्ग्यानिक जनताले त्यहाँ फलेको कोदो, कागुनो, फापर, आलु खानु भन्याको गरीबले खान्या अन्न हुन भनिकन सोचे। हामी भातका किराहरूले त्यहाँका कोदो खानेहरुलाई ‘कोदे’ भन्यौ। सदियौंसम्म ‘कोल्टे कर्णाली’लाई सौतेनी ब्यवहार गर्यौं। कर्णालीले सुन बेचेर फलाम किन्छ। मतलब कोदो बेचेर कुहिएको चामल किन्छ र भात खान्छ। यति भएसी उनीहरूले सोच्छन् कि हामी आधुनिक भैगयौ त! कर्णालीले भात खान्यालाई कहिले भाते भनेन, तर हामी सहरियाले उनीहरूलाई सधैं कोदे भन्यौ। भात खाँदैमा आधुनिक भैजान्छ भन्ने कुरो अब कर्णालीका कर्णाधारहरुले नसोचेको राम्रो। कर्णालीको समस्या बुझ्न जानेहरू एक/दुई दिन त्यही फलेको अर्ग्यानिक खान्छन् र भन्दिन्छन्, कर्णाली स्वर्ग हो। तर यता आएसी कर्णालीले तिनीहरूलाई बिर्सन्छ र तिनीहरूले कर्णाली बिर्सन्छन्। संघीयता आएसी कर्णाली एउटा सिङ्गै प्रदेश बनेको छ। उसँग मुख्यमन्त्री छ, उसँग आर्थिक मामिला तथा योजना मन्त्रालय छ, उसँग उद्योग पर्यटन तथा वातावरण मन्त्रालय पनि छ। अहिले कर्णालीसँग सबै कुरो छ तर यति हुँदा-हुँदै पनि पूर्वराजपरिवारको नाति हृदयेन्द्र कर्णाली घुम्न जाँदा त्यहाँको स्थानीय बस्तुस्थितीको बारेमा भ्लग बनाउँदा एकदिनमै डेढ करोडले अवलोकन गर्छन्। किन अवलोकन गरे, के उनीहरू राजसंस्था चाहेर हेरेका हुन र, होइन ? हामी सोसल मिडियाको भिडमा रमाएका रहेछौ। मुलुक संघीयतामा गएको दस बर्ष बितिसक्यो। अहिलेसम्म कर्णालीको पर्यटन मन्त्रालयले कर्णालीको पर्यटन क्षेत्रको प्रचारप्रसारमा गर्न नसकेको काम हृदयन्द्रले एक दिनमा गरे। उनले पनि पर्यटन प्रवर्द्धनका लागि भनेर भ्लग बनाएका पनि होइनन्। यो निजी भ्रमण र प्राकृतिक मनोरंजनको काम थियो। तर भैदियो के भने उनी पूर्वराजाका नाति थिए। कवि शिरोमणि लेखनाथले भनेको जस्तै “ठुलाले जे गर्यो उहीँ हुन्छ सर्वसम्मत” यो भन्दा अगाडि कर्णाली घुम्न जाने अरु नेपालीले यस्तै खालको भ्लग लाखौं बनाए तर त्यसमा कसैको आँखा पुगेन। किन हृदयन्द्रले बनाएको भ्लग भाइरल भयो त ? किनकि पहिले भन्दा अहिले नेपालीहरु फुर्सदमा छन्। हामी आफूप्रती होइन, अरू प्रती चासो राख्छौ। हृदयन्द्र चारित्रीक हिसाबमा कस्ता छन् ? त्यो उनी निकटलाई मात्रै थाहा होला। रिलमा देखिनु र रियलमा देखिनु र बुझिनु अलग कुरा हो। हृदयन्द्रले कर्णालीमा जस्तोसुकै सामाजिक बिकासका काम गर्न सक्छु भने पनि गर्न सक्छन्, किनकि उनी पूर्वराजाका सन्तान हुन्। उनका हजुरबा ज्ञानेन्द्र अहिले नेपालको दशौं धनी ब्यक्तिमा पर्छन्। एक दुई अर्ब कर्णालीको सामाजिक बिकासमा लगानी गरू भने सजिलोसँग सक्छन्। हामी नेपाली अक्सर रिलमा रमाउने भएका छौ। जुम्लाको प्रख्यात तिला नदीमा ह्रिदयन्द्रले प्राकृतिक आनन्द लिए। उनले कर्णाली प्राविधिक शिक्षालय र जुम्लामा रहेको बौद्ध चैत्यमा केहि समय बिताएका थिए। त्यससँगै, सो क्षेत्रमा भेटेका स्थानीयहरुसँग उनले खुलेर कुराकानी गरे। ती सन्दर्भहरुमा स्थानीयसँग केही जिज्ञासा पनि राखेका थिए, केही जिज्ञासा स्थानीयवासीहरुको पनि थियो। डुडल चैत्यमा भेट भएकी पन्चकली बुढा नाम बताउने एक कर्णालीकी चेलीले हृदयन्द्र शाहलाई सोधिन्– हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ? हृदयन्द्रले दिएको जवाफ कुनै असमान्य थिएन अति सामान्य थियो। जस्तो उनका हजुरबा ज्ञानेन्द्र भन्ने र गर्ने गर्छन्। कर्णालीकी चेली पन्चकली पनि हृदयन्द्रसँगै यतिबेला भाइरल भएकी छिन्। आफुलाई अब्बल दर्जाको प्रश्नकर्ता भनेर बिसौ बर्षदेखि भिडियो पत्रकारको लाइसेन्स लिनेलाई पन्चकलीको पार्श्व हाउभाउ एक थप्पड हो। जमाना अर्ग्यानिकको पनि हो, नकि आर्टिफिसियल इन्टिलिजेन्सको मात्रै। कर्णालीको लागि हृदयन्द्र भन्दा पन्चकली प्यारो हो। किनकि हृदयन्द्र त एक/दुई चोटि घुम्न जाने पर्यटक मात्रै हुन्। उनी त्यो भन्दा अरु केही होइनन्। तर पन्चकली कर्णालीमा सालनाल गाडीएकी स्थानीय अर्ग्यानिक जीवन हुन्। हृदयन्द्रको निजी जीवन र उनले बनाएको निजी भ्लगमा यति धेरै चासु राख्नु भनेको हामी नेपाली कति धेरै फुर्सदिला रहेछौ भन्ने कुराको साक्षी मात्रै हो।