रामेछापमा मन्थलीको नवजागरण साकोस सर्वाधिक करदाता - janatatimes.com
रामेछाप, मंसिर १ । रामेछापमा उत्कृष्ट करदाताको रूपमा मन्थलीस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था (साकोस) भएको छ। राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८२ को अवसरमा सोमबार करदाता सेवा कार्यालयले विभिन्न मापदण्डका आधारमा सहकारीलाई उत्कृष्ट करदाता घोषणासहित सम्मान गरेको छ। करदाता सेवा कार्यालयका अनुसार कार्यालयको कार्यक्षेत्र अन्तर्गत पर्नेलाई करदातामध्ये नवजागरण साकोसले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आयकर दाखिला गरेको थियो। नियमित कर सहभागिता, पारदर्शी आर्थिक व्यवस्थापन र कर राशीकाे आधारमा सहकारीलाई उत्कृष्ट करदाता घोषित गरिएको कार्यालयले जानकारी दिएको छ। यसअघि पनि नवजागरण साकोस लगातार दुई वर्षसम्म उत्कृष्ट करदाता सम्मान पाइसकेको छ। यस वर्ष पुनः सम्मानित भएपछि लगातार तेस्रो वर्ष ह्याट्रिक गर्दै सहकारीले कर तिर्ने संस्कृतिलाई सकारात्मक रूपमा प्रवर्द्धन गरेको छ। सहकारीका प्रतिनिधिहरूका अनुसार निरन्तर मेहनत, पारदर्शिता र दायित्व पालनाले राज्यबाट सम्मान पाइने उदाहरण यसले प्रस्तुति गरेको छ। समारोह कर अधिकृत सरिता भट्टको अध्यक्षता तथा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापामगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष साेमेश थापालाई सम्मानपत्र प्रदान गरिएकाे थियाे । नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको स्मरणमा प्रत्येक वर्ष मंसिर १ गते कर दिवस मनाइन्छ। वि.सं २०५४ साल मंसिर १ गतेदेखि भ्याट प्रणाली सुरु गरिएकाले त्यसै दिनलाई कर तथा करदाताको भूमिकाप्रति सम्मान र जागरूकता दिवसका रूपमा मनाइँदै आएको हो।