गुञ्जनसँगको तीन दिन; अनन्त स्मृति - sahityapost.com
नेपाली साहित्य जगतमा परिचित स्रष्टा सीता विष्ट कार्कीको टेलिफोनले अचानक मेरो मनमा एउटा नयाँ ऊर्जा थपिदियो: सिर्जनात्मक, साहित्यिक ऊर्जा तर घरको वास्तविकता सम्झिएँ । मन झन् झन् भारी भयो । पुस १६ गतेदेखि नै आमाको उपचारमा बारम्बार अस्पताल धाउँदै र उहाँकै स्याहारसुसार गर्दै दिन बितिरहेका थिए । तीन दिनको कार्यक्रमका लागि समय निकाल्नु लगभग असम्भव जस्तो लाग्दै थियो । नारायणगढसम्मको यात्रा, मनले त जान चाहन्थ्यो तर परिस्थिति तगारो बनेर उभिइरहेको थियो । पुसको अन्तिम सातामा आएको उहाँको फोनको प्रत्युत्तरमा मैले साँचो मन र वर्तमान बाध्यता दुवै प्रस्ट पारेँ । माघको ९–११ गतेका लागि अहिल्यै निर्णय गर्न सकिनँ । तर आशा भने दुवैतिर रह्यो, यदि आमाको स्वास्थ्य रिपोर्ट राम्रो आयो वा कुनै व्यवस्थापन हुन सक्यो भने म यात्रा गर्ने सक्नेछु । भगवानले आँटेपछि पुर्याउँछन् भने जस्तै भयो । आमाको चेकअप र फलोअप सकिएर घरमै बसेर केही महिना औषधी खाँदै रेस्ट गर्ने डाक्टरको सल्लाहअनुसार नै उहाँ गोरखा जाने मन गर्नुभयो । घरसम्म पुर्याएर शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फिर्ता आएँ । अन्ततः टुङ्गियो–गुञ्जनको लघुकथावाचन तथा सम्मान कार्यक्रममा सहभागी हुने कुरो । यात्रा माघ ९ गते बिहान ११ बजे शुरु हुने तय भयो । गुञ्जन नारी साहित्य संस्थाकी अध्यक्ष अग्रज साहित्यकार जलेश्वरी श्रेष्ठको घरबाट । बिहानीको उषाको किरण घरभित्र छिरेर यताउति नाच्दै रमाइरहेको थियो । म घरको काम सकेर झोला तयारी गर्दै थिएँ । सानो छोराले स्कुल जान तयार हुँदै गर्दा मलिन अनुहार बनाएर मलाई हेर्दा मन गहिरो भावुकतामा डुब्यो । यतिका दिन मलाई छाडेर जान लागेकी मामु भन्ने भाव अनुहारमा यत्रतत्र पोखिएको थियो । त्यसो त जहाँ जाँदा पनि सँगै जान खोज्ने र घरमा सँगै बस्न खोज्ने सानैदेखिको उसको बानी नै हो । उसलाई सम्झाइबुझाइ गर्दै तयारी गरिरहेँ तर ऊ अनुहार मलिन नै बनाएर स्कुलको बस भेट्न दौडियो । बिहान १०ः४५ मा जलेश्वरी दिदीको घर पुगेँ । मेरी अत्यन्त मिलनसार मित्र डा. शान्तिमाया गिरी स्कुटरमा उहाँकै श्रीमानका पछिल्तिर बसेर जलेश्वरी दिदीको घर खोज्दै हुनुहुँदो रहेछ । सँगै भित्र पसियो । घडी हेर्दै भन्यौँ: शायद हामी नै पहिले आइपुग्यौँ क्यारे । ११ बजेकै रहेनछ । अग्रज सर्जक द्वारिका श्रेष्ठले घरको अगाडि गार्डेनतिर देखाउँदै भन्नुभयो: त्यहाँ अरू पनि आइसक्नुभएको छ । हामी त्यतै लाग्यौँ । हामीभन्दा पहिल्यै अग्रज साहित्यकार भागीरथी श्रेष्ठ दिदी र कमला रिसाल पुगिसक्नुभएको रहेछ । एकछिनपछि जलेश्वरी दिदी आउनुभयो । सबैले उहाँबाट आशीर्वाद लियौँ । क्रमशः थपिन थाल्यो, काठमाडौँका जुझारु महिला साहित्यकारको टोली: मञ्जिला अनिल, इन्दिरा दीक्षित, रश्मि रिमाल, ईल्या भट्टराई, रेणुका भट्टराई, डा. वेञ्जु शर्मा आदि । केहीबेरको भलाकुसारीपछि करिब १२ बजे हामी यात्राका लागि गाडी चढ्यौँ । गाडीमा साना भाइ थिए सहचालक । उनले आफू जत्रै झोला तानिरहेको दृश्य हेरेर मन कटक्क खायो । लगेजहरू गाडीभित्र लैजान जलेश्वरी दिदीको घरमा बस्ने भाइ र मैले सहयोग गरिरह्यौँ । उनले स्रष्टाका झोलालाई सिटमाथिको ब्याग होल्डरमा मिलाएर राख्दै गए । क्रमशः अन्य नारीस्रष्टाहरू आउने क्रम जारी नै रह्यो । डा. सावित्री श्रेष्ठ, मोतीशोभा श्रेष्ठ, विमल प्रभा बज्राचार्य, अन्जना ताम्राकार, अञ्जली अधिकारी, जुमन किरण, निसा केसी चढ्नुभयो । यात्रामा सहभागीको सूची हेर्दै सुमन वर्षा, डा. यादेवी ढकाल, प्रभा बराल, सन्ध्या पहाडी तथा प्राज्ञ बाबा बस्नेतको खोजी भयो । उहाँहरू कोही नेपाल प्रज्ञा प्रतिष्ठानबाट त कोही कलङ्कीबाट चढ्ने निधो भएपछि बस अघि बढ्यो । अब तीन दिनसम्म हामी सँगै रहनेछौँ भन्ने भाव मनमा सलबलाएपछि कताकता असहजताको पनि अनुभूति भयो । किनभने म यसरी परिवारविना कहिल्यै रात बस्ने गरी बाहिर जाने गरेकी थिइनँ । फेरि कतिपय चिनेका अनुहार, कतिपय नाम थाहा भएका तर आजै देखेका त कतिपय नामै नसुनेका स्रष्टाहरू सहभागी चढ्दै हुनुहुन्थ्यो । अग्रज र उम्दा स्रष्टाहरूसँग त नजिक हुन पनि मन डराउँथ्यो । यात्रामा जति मन रमाउँछ, त्यति शरीर रमाउन सक्दो रहेनछ । खासमा गाडीको धुँवाको गन्ध र घुमाउरा बाटाले उकुसमुकुस तुल्याएर पेटमा थपिदिने असहजता मेट्न अगाडिको सिट मेरो रोजाइमा पर्ने गर्छ । रीता खत्री, शान्तिमाया गिरी पनि उस्तै । हामी तीन जना क्याबिनमा बस्ने भयौँ । चालकलाई प्रज्ञाप्रतिष्ठान जाने बाटो देखाउँदै र चढ्न बाँकी रहेका स्रष्टाको जिम्मा लिँदै हामी यात्राको थालनीमा रमायौँ । नेपाल प्रज्ञाप्रतिष्ठानमा बाँकी सबै साथीहरूसँग भेट भयो । साहित्यकार प्रभा बराललाई टपक्क टिपेर लघुकथावाचनको ब्यानरलाई निधारमा सजाउँदै गाडी कमलादीबाट गणेशस्थान दर्शन गरी घण्टाघरतिर फन्को मार्यो । बाँकी तीन जना भने प्रज्ञाप्रतिष्ठानको गाडीमा आउनुहुनेभयो । शहीदगेट र धरहराको उचाइ तथा इतिहास नाप्दै उडिरहेको मेरो मन स्रष्टा यात्राको अनुभूतिको आँगनमा नाचगान गर्न थाल्यो । कालीमाटी र कलङ्की कटेको पत्तै नपाई शान्ति गिरीका शान्त र कोमल शब्दलहरमा अनि अञ्जली अधिकारीको अनुभवको अङ्गुलमा डुबिरह्यो । शान्ति म्यामसँग त्रिभुवन विश्वविद्यालयमा एमफिल पढेदेखि विद्यावारिधि गर्दासम्मका मित्रताका कुरा, सँगै पढेका साथीका स्मरण र जागिरे जीवनका अनुभूतिका कुरा निस्किरहे । अञ्जली म्यामसँगको कुराकानीमा विशेषगरी महेन्द्ररत्न क्याम्पस ताहाचलमा पढेर पनि उहाँले पढाउँदै गर्दा आफू उहाँकै विद्यार्थी हुन नपाएका गुनासाका साथमा विगतका स्मृतिहरू ताजा बने । क्याबिनभन्दा पछाडि सिटमा बस्नुहुने स्रष्टाहरू नौबिसे नकट्दै रमाइला कुराकानीमा जोडिँदै अनेक खानेकुराहरू बाँड्न व्यस्त हुनुहुन्थ्यो । पहिले छेउमा बसेका साथीसँग गफगाफ अनि वरपरका साथीसँग कुराकानी गरिसकेपछि सबैको ध्यान खिच्न खोज्ने प्रवृत्ति हुँदो रहेछ यात्रामा । साथमा अविस्मरणीय याद बटुल्ने हर्कतहरू । सडक किनारका सुन्दर बस्ती, हरियाली पार्क, सडकका सवारीसाधनका भिड, गाडी रोकिनुका कारण आदि बारे त मठरम्मै । सडकमा आइपर्ने हरेक परिस्थितिको जिम्मेवारी चालकलाई टिको लगाइदिएर जिम्मा सुम्पिए जस्तो । चालक कहाँ एक्लै जिम्मा लिने मुद्रामा थिए र ? उनी हाम्रो गफगाफमा ध्यान नदिन आग्रह गर्दा पनि बेलाबेलामा कुराकानीमा सहमति र असहमतिका भाव प्रकट गर्न भ्याउँथे । उनलाई सवारी हाँक्नमा हामीले बाधा पुर्याउने हौँ कि भन्ने चिन्ता हामीलाई मात्रै थियो । अनि घुम्ती बाटाहरू काटेपछि पछिल्तिर गएर बस्ने बाधा गरेका थियौँ । बेलाबेलामा हाम्रो ध्यान सडकमा पुगिरहन्थ्यो र उनलाई ओभरटेक नगर्न तथा गाडीको स्पिड घटाउन हामी नै सचेत गराइरहन्थ्यौँ । उनी पनि ८० वर्षे बुढापाकालाई समेत लिएर हिँडेको गाडीको रफ्तार बढाउन नहुने कुरामा सजगै देखिन्थे । गाडीमा कुराकानीपछि गीत गायन शुरु भयो । अग्रज तथा अनुज नारीस्रष्टाहरू मिलेर पछाडि खुब रमाइरहनुभएको थियो । मलाई पनि पछाडिका रमाइलोमा जोडिने मन जति छ अगाडिका दुई जना साथीहरूका रमाइला कुराकानी छुट्ला कि भन्ने डर उत्तिनै थियो । तर साथीहरूलाई आग्रह गरेर खानीखोला कटेपछि पछिल्लो ग्रुपमा मिसियौँ हामी तीनै जना । त्यहाँ अन्ताक्षरी सकिएर दोहोरी पनि शुरु भयो । रेणुका भट्टराई, रीता खत्री, ईल्या भट्टराई तथा निशा केसी र मन्जिला अनिलको सक्रियता उस्तै । उहाँहरूको समूहमा थपिन पुग्यौँ हामी । गाडीका दुईतर्फी यात्रुबिचको दोहोरी घमासान चल्यो । कसैलाई अन्तिममा टुक्का मिलाउन नआए मिलाइदिने जिम्मा रेणुका भट्टराईले निभाइहाल्नुहुन्थ्यो । उहाँको करिब ८ वर्ष जतिको सानो छोरा पनि साथमा थिए । उनले समेत फर्काए एउटा दोहोरी त । आखिर सङ्गतकै फल भन्नुपर्यो । लामो दुरीको यात्रा सँगै गर्न पाउनु पनि हरेक हिसाबले फाइदाजनक नै हुन्छ । यहाँ पनि पहिले नाम सुन्दैमा डर लाग्ने अग्रज स्रष्टासँग धक फुकाएर बोल्न सकिने, समान उमेर र अनुजसँग त त्यसै पनि सकिने भइहाल्यो । साथमा एकले अर्काको प्रतिभालाई नजिकबाट चिन्ने र मनका भाव तथा व्यवहार र सोचलाई समेत पढ्ने अवसर मिल्यो । साथीहरूले हाँसो–ठट्टा, सिर्जनात्मक प्रतिभा र चुट्किला, दोहोरी आदिका माध्यमबाट वातावरण जति रोचक बनाइरहेका थिए उत्ति नै मुख खाली नहुने गरी फलफूल, चकलेट, चिप्स, मालपुवा, अमला, रोटी, ड्राइफुट आदि बाँड्दै जिब्रोको स्वाद बढाउँदै भोक बिर्साइदिएका थिए । अचम्म त अझ त्यतिबेला लाग्यो, जब खाजा खानका लागि बस बेनिघाटमा रोकियो । रेस्टुरेन्टमा पसेको बस अनि त्यहाँका यात्रुले खुब व्यापार बढाइदेलान् भनेर टुलुटुलु हेरिरहेका होटल साहुलाई भने कस्तो लाग्यो कुन्नि ? हामीलाई त निशा केसीले बनाएर ल्याएका मिठा परिकारले सन्तुष्टिको सीमा नघायो । आलो गुन्द्रुकको अचार, मसरुमको छोइला अनि आलुको तरकारीका साथमा जलेश्वरी दिदीले लानुभएको सेल त्यतिका यात्रुलाई टनक्क अघाउने गरी खुवाइयो र चितवनतर्फको बाटो तताइयो । उही गीत र नाचमा झुम्दै गरेको टोली पत्तै नपाई चितवनको पोखरा बसपार्कमा अवस्थित होटेल इमेजमा गएर बेलुकी ७ बजे उत्रियो । उद्योग वाणिज्य सङ्घको सभाहलमा गुञ्जन नारी संस्थाले लघुकथावाचन कार्यक्रम गर्ने योजना रहेछ । यही हलमा किन गर्ने होला भन्ने कौतुहल पनि त्यहाँ पुगेपछि प्रस्ट भइहाल्यो । हलको ढोकानेर भित्तामा कालो स्लेटमा सेता अक्षरमा लेखिएको रहेछ: स्वर्गीय पिता रेशमलाल श्रेष्ठ तथा माता बुद्धिलक्ष्मी श्रेष्ठको पूण्य स्मृतिमा निर्मित बहुउद्देश्यीय सम्मेलन कक्षका निर्माता श्रीमान् द्वारिका श्रेष्ठ तथा श्रीमती जलेश्वरी श्रेष्ठ । जलेश्वरी दिदीले मन्तव्यमा समेत आफैँले बनाएको हलमा कार्यक्रम गर्ने लक्ष्य पूर्ण भएको बताउनुभयो । यसरी हामी सोही कार्यक्रमका लागि बेलुकी आठ बजे इमेज होटलमा खाना खाइसकेपछि उद्योग वाणिज्य संघकै होटलमा विश्राम गर्न त्यसतर्फ लागेका थियौँ । होटलमा आ-आफ्ना नजिकका साथीहरू चयन गर्दै एउटा रुममा दुईदेखि तीनजनासम्म बस्नुभयो । नारीहरू घरबाट यसरी टाढा जान पाउने र प्रिय मित्रहरूसँग गफिन पाउने अवसर जीवनमा शायदै कम मिल्दो हो । रातभरि गुनगुनका आवाजहरू अन्यत्र कोठाबाट आइरहे । मसँग एकै बिछ्यौनामा रात बिताउने मित्र हुनुहुन्थ्यो: डा. शान्तिमाया गिरी । त्यसो त यति लामो बाटोमा एकछिन चुप नलागी गफिएका हामी पनि रातको ११ बजेसम्म चुप थिएनौँ । गफ गर्दैगर्दा भोलिको चिन्ताले पनि खुब पिरोल्ने । गफलाई नरोकिकनै मैले एउटा लघुकथाको ड्राफ्ट मोबाइल नोटमा खुसुक्क लेखिसकेँ । सुतौँ भनेर बिछ्यौनामा पल्टियौँ । तर पनि गफ उस्तै चलिरह्यो । खै, कहाँबाट आउँछ कुन्नि बातचितका विषयहरू । नारायणी नदीको हिउँदे बहावजस्तै शालीन र शान्त गफमा मस्त हुँदै हामी निद्रादेवीसँग एकैछिनमा एकाकार भइहाल्यौँ । बिहान ८ बजेदेखि कार्यक्रम शुरु हुने कुरा थियो । सात बजे नै जलेश्वरी, भागिरथी, ईल्या, बेञ्जु दिदीहरू सारी लगाएर चिटिक्क पर्दै होटलको ग्राउन्डमा हल्लिखल्ली गरेको आवाजले हामी तयारी हुन ढिला भएछौँ भन्ने महसुस गरायो । हाम्रो छेउकै कोठामा बस्नुहुने अञ्जली म्याम र मन्दिरा दिदी पनि केहीबेर गफ गर्ने सुरले हाम्रो कोठामा छिर्नुभएको थियो तर शान्ति म्यामले हाम्रै कारणले कार्यक्रममा असर नपरोस्, समयमै निस्कनु उचित हुन्छ भनेपछि उहाँहरू पनि तयारीमा जानुभयो । हामी तुरुन्तै तयार भएर दिदीहरू गएतिरै लाग्यौँ । उहाँहरू बिहानको चिया तथा नास्तामा लाग्नुभएको रहेछ । हाम्रो भने चिया खाने बानी नभएकाले नजिकैको हरिहर मन्दिरको दर्शन गर्न गयौँ । मन्दिरा, अञ्जली, शान्ति र प्रभा बरालसँगको आत्मीय सम्बन्धमा यो मन्दिर साक्षी बसेजस्तो र सधैँ यसरी नै नारीस्रष्टाहरू हातेमालो गर्दै अघि बढ्नु भन्ने आशिष पाएजस्तो मलाई महसुस भइरह्यो । उहाँहरूको मनमा के थियो भन्न सक्दिनँ । जे होस् यहाँबाट देखिएको बिहानीको नारायणीको दृश्य भने बेलुकीको झिलिमिली दृश्यभन्दा पृथक् तर शालीन उस्तै देखिन्थ्यो । मन्दिरका छेउमा धर्मका तराजु बोकेर बसेजस्तै देखिने वृद्ध र वेवारिसे जस्ता देखिने माग्नेहरूको भिडले नेपालको गरिबी र भ्रष्ट राजनीतिलाई व्यङ्ग्य गरिरहेजस्तो महसुस गराउँदै नमिठो गरी मेरो मन चसक्क चस्कायो । लामो पर्खाइ जीवनकै नमिठो अनुभूति हुन्छ तर पर्खाइको फल मिठो अवश्य हुन्छ । ८ बजे शुरु हुने भनिएको कार्यक्रमले झन्डै डेढ घण्टा कुरायो । कार्यक्रममा प्रा. डा. चुडामणि बन्धुको प्रमुख आतिथ्य, गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्व तथा अग्रज साहित्यकारहरू गोविन्द विनोदी, डा. बेञ्जु शर्मा, भागीरथी श्रेष्ठ, केशरी खनाल, गायत्री श्रेष्ठ, धनराज गिरी, नेपाल प्रज्ञाप्रतिष्ठान काव्यविभाग प्रमुख बाबा बस्नेतलगायतका चितवन तथा काठमाडौँका सर्जकको बाक्लो उपस्थिति थियो । सन्ध्या पहाडीले सञ्चालन गर्नुभएको यस कार्यक्रममा काठमाडौँ र चितवनका विभिन्न साहित्यकारहरूले चोटिला एवम् मार्मिक लघुकथा सुनाउनुभयो । अञ्जना ताम्राकारले आफ्ना लघुकथामार्फत आशाको बीउ उमार्दै गर्दा उषा तिवारीले लेनदेनको हिसाबमाथि व्यङ्ग्यको तीर रोप्नुभयो । मैले लघुकथा लेख्नु सामान्य कुरा नभएको तथ्यलाई लघुकथा कि लघुशङ्का शीर्षकको लघुकथाका माध्यमबाट व्यङ्ग्य प्रहार गर्ने मौका पनि पाएँ । एकातिर राधा कोइराला शिक्षक भएका नाताले बालपात्र सिद्दुको मनोविज्ञान खोतल्दै हुनुहुन्थ्यो भने मञ्जिला अनिल भर्चुअल रियालिटीमा चुर्लुम्म डुबेको मानवसभ्यतालाई कथामा उतार्दै फेसबुके प्रेममाथि प्रहार गरिरहनुभएको थियो । चितवनकी स्रष्टा भूमिका गैरे तिमल्सिना गरिबीको वास्तविक चित्र शब्दमा उतार्दै हुनुहुन्थ्यो भने डा. सावित्री श्रेष्ठ आमाको चेतना कसरी खुल्यो भन्ने तथ्यको खोजीमा मस्त हुनुहुन्थ्यो । एकातिर विवाहपछिको प्रेमिल साथलाई निलो फूलमा नियालिरहेकी रीता खत्री र अर्कातिर देखेका सबै कुरा सत्य नहुने मानवीय सोच र दृष्टिकोणको उछित्तो काढिरहेकी डा. शान्तिमाया गिरीका लघुकथासँगै भविष्य खोजिरहेकी गायत्री अधिकारीको मार्मिक कथाले दर्शकको ध्यान खिचिरहेको थियो । विदेश जाने सोच र त्यसप्रतिको व्यङ्ग्यलाई स्वार्थ कथाका माध्यमबाट प्रभा बरालले छर्लङ्ग पार्नुभएको थियो भने रेणुका भट्टराईको साझा प्रकाशन कथा फरक शैलीमा प्रस्तुत भएको थियो । साथमा निशा केसी, रचना शर्मा, मिना रिमाल, विमल प्रभा बज्राचार्य, कमला रिसाल, मोतीशोभा श्रेष्ठ, रश्मि रिमाल, कल्पना भण्डारी, डा. यादेवी ढकाल, कल्पना भण्डारी अधिकारी, अञ्जली अधिकारी, जुमन किरण आदि स्रष्टाका लघुकथाले फरकफरक विषय र दृष्टिकोणलाई उजागर गरेको थियो । नेपाली समाजका विकृति विसङ्गति, विभेद, वैदेशिक पलायन, बुढ्यौलीका चिन्ता, अविश्वास, देखावटी सम्बन्ध आदिलाई विषय बनाएका नारीस्रष्टाका अधिकांश लघुकथाहरू मार्मिक र जीवन्त थिए । लघुकथा वाचन कार्यक्रमलाई औपचारिक रूपमा बिट मारेर हामी होटल इमेजतर्फ नै गाँस र बास दुवैको खोजीमा त्यहाँबाट सरुवा भयौँ । करिब ३ बजे दिउँसो खाना खाइसकेपछि भने हामी औपचारिक कार्यक्रमको दाम्लो खोलिएका घरपालुवा जनावर भएका थियौँ । त्यसपछि आ-आफ्नो इच्छाअनुसार चरेर आउनु भनी आमाले छाडा छाडिदिएका सन्तानजस्तै हामी यत्रतत्र छरियौँ । त्यसमध्ये हाम्रो ८ जनाको ग्रुप चितवनको सौराहामा जङ्गल सफारी गर्ने हुटहुटीले उता हानियो । तब शुरु भयो यात्राको अविस्मरणीय पल । एउटा म्याजिक रिजर्भ गरेर हानिएको यस समुहमा डा. शान्तिमाया गिरी, अञ्जली अधिकारी, मन्दिरा मधुश्री, डा. बेञ्जु शर्मा, रश्मि रिमाल, निसा केसी, जुमन किरण र म थियौँ । अग्रज साहित्यकार धनराज गिरीले केही समय अगाडि कार्यक्रममा भेट हुँदा आफूलाई सौराहाको गैँडा भन्दै त्यता जाने भए खबर गर्न र आफूले घुमाइदिने समेत वाचा गर्नु भएको थियो । उहाँलाई नै सम्झियौँ बाटोमा । अनि फोन गरेँ मैले । समयमै जानकारी नभएर होला, उहाँ हामी जङ्गल सफारीबाट फर्किँदा बल्ल त्यहाँ पुग्नुभयो । हामी जिप रिजर्भ गरी जङ्गल छिर्यौं । चार बजेपछि हात्ती सफारी बन्द भइसक्ने रहेछ । हामी ४ः३० मा पुगेकाले यो अवसर त गुमिहाल्यो । तर पनि जिपमै चढेर भए पनि जनावर र जनावरको घर हेर्ने धोको पूर्ण गरियो । खुब चिच्याउँदै छिरेका हामी निकुञ्जमा आवाज पनि ननिकाली हिँड्नुपर्ने नियम, त्यसमा पनि आवाजले जनावरहरू नजिक नपर्ने भएकाले देख्न नपाइने हो कि भन्ने भयले चुप त लाग्यौँ तर समूहमा एकदुई जना बोले पनि थपथाप गर्न सबै तत्पर । कहाँ शान्त हुने रहेछ र ? जे होस् साना आवाजमा गफ गर्दै हामी अघि बढिरह्यौँ । हामीसँगै एकजना गाइड पनि थिए । उनले त्यहाँको भौगोलिक बनावट, जनावरहरूको सङ्ख्या तथा तिनका स्वभाव र बासस्थानका बारेमा वर्णन गरे । हामीले सोधेका जवाफ दिँदै र हाम्रा स्मृतिलाई क्यामेरामा कैद गर्दै सहयोग गरिरहे । कसले पहिले जनावर देख्ने भन्ने खेल खेल्दै अघि बढ्यौँ । संयोगले मैले नै सबैभन्दा पहिले हरिणका हुल देखेँ र साथीहरूलाई देखाएँ । त्यसपछि कसैले वन कुखुरा, कसैले मयूर नाचेको, कसैले जरायो, मृग, हुट्टीट्याउँ आदि जनावरहरू देख्यौँ । जङ्गलका बिचबिचमा दरबारियाका पुराना होटल तथा सिकार खेल्ने ठाउँका अवशेषहरू पनि देखिए । थरिथरि प्रजातिका रुख बिरुवा र झाडीका नाम पनि चिन्ने चिनाउने गर्दै रमाइला गफगाफका साथमा हामी जिप सफारी गरिरहेका थियौँ । स्रष्टाहरूको समूहमा सिर्जनाकै कामलाई फोकस गर्नुपर्ने विचार मनमा एक्कासि पलायो । अनि मैले रमाइलो खेल खेलौँ भनेर सबै साथीहरूलाई यहाँ देखिएका जनावर र चराचुरुङ्गी मध्ये एउटा नाम रोजेर आफूलाई राख्ने भनी अनुरोध गरेँ । कसैले हरिण, कसैले हरिणी, कोही मृग, कोही गोही, कोही जरायो त कोही मयूर मयूरी भइयो । मैले भाले मयूर छानेँ । यिनै नाम र स्वभाव तुलना गर्दै हामी व्यक्तिसँग जिस्किँदै आयौँ । यात्राको रमाइलो यसले पनि थप्यो । अनि आफूले छानेका नामलाई नै आधार बनाएर एकएक लघुकथा सिर्जना गर्ने गृहकार्य लिएर हामी सफारीबाट फर्कियौँ । समयको उचित सदुपयोग र रमाउने कलामा सर्जकलाई कसैले नभेट्ने रहेछ भन्ने पक्का ठानियो । सौराहा भ्रमण अर्थात् जिप सफारी सकेर फर्कँदै गर्दा देशविदेशबाट आउनुभएका पर्यटकको घुइँचो राप्ती किनारमा देखिन्थ्यो । विभिन्न होटल तथा रेस्टुरेन्टमा बलेका झिलिमिली बत्तीको छाया पानीमा तैरिँदा उस्तै मनमोहक । जाडो लखेट्न भन्दा पनि मासुका परिकार बनाउन बालिएको नदी किनाराको आगोमा एकैछिन चिसा हत्केला सेकाउन पाउँदा स्वर्गै पुगेको अनुभूति भइरह्यो । अनि हामीलाई घुमाउँछु भन्ने बुबा स्रष्टा धनराज गिरीसँग फर्कने बेलैमा भए पनि भएको भेट अर्को रोचक पक्ष बनेको थियो । साँच्चै रमाइलो मात्र नभएर प्रतिभावान् व्यक्तित्व हुनुहुँदो रहेछ उहाँ । उहाँले आफूलाई नै उडाउँदै गरेका जोक र हामीप्रति देखाएको आत्मीय व्यवहार, जति जे भने पनि नरिसाउने प्रवृत्ति र पहिलोपटक भेटेको भएर पनि पुरानो चिनजान जस्तै व्यवहार गर्ने प्रवृत्तिले मन छोयो । बर्छौलीमा आइपुग्दा उहाँले आफ्नो घरमा जान गर्नुभएको आग्रहलाई ढिला भइसकेको बहानामा टार्दै हामी नारायणगढतर्फ लाग्यौँ । करिब वर्ष दिन पहिले नै चितवनबाट प्रकाशन भइसकेको नारीस्रष्टा परिचयकोश लिने दाउ पनि थियो मेरो । ऋषिप्रसाद लामिछाने अर्थात् गोर्खे साइँलोले खुब मिहिनेत गरेर नारीस्रष्टा कोशको सङ्कलन, सम्पादन तथा प्रकाशन गर्नुभएको थियो । उहाँलाई भेट्न लायन्सचोकतर्फ मोडियौँ । अरू साथीहरू म्याजिकमै बसिरहनुभयो । म उत्रिएँ र उहाँकै पछिपछि घरतर्फ लागेँ । छोरी र नातिसँगै उभिनुभएकी सानी कदकी भाउजू अर्थात् उहाँकी श्रीमतीको मिजासिलो बोली र उहाँकै घरमा बस्न गर्नुभएको आग्रहले माइतीको आँगन टेकेको अनुभूति गरायो । समाजमा बिरलै हुन्छन् यस्ता आत्मीय मानिसहरू । मनमा यस्तै सोच पलायो । उहाँहरूको आग्रहलाई नकार्दै काठमाडौँबाट समूहमा आएको टोलीलाई छाडेर कसरी यहाँ खुसुक्क बस्न आउनु भन्ने आशय व्यक्त गर्दै, पछि आउने बहानामा पुस्तक बोकेर म बाहिरिएँ । उहाँहरू पनि बिदाइका हात हल्लाउन बाध्य हुनुभयो । नेपालीहरूको आतिथ्य स्वभाव साँच्चै कति उदार र महान् छ भन्ने मनमा महसुस भइरह्यो । होटलमा पुग्दा हामी हिँड्नुअघिको भोलिको योजना परिवर्तन भइसकेको तुरुन्तै थाहा पाइयो । खासमा भोलि बिहान ८-९ बजे मात्र खाजानास्तापछि काठमाडौँ हिँड्ने योजना काठमाडौँबाट हिँड्ने बेलामा नै सबैलाई जानकारी भइसकेको थियो तर अचानक योजना बदलिएर बिहान ६ः३० बजे नै चिया पिएर हिँड्ने भन्ने सुनेपछि हामीसँग सौराहा भ्रमणमा जानुभएका धेरै साथीहरू रिसाउनुभयो । कारण जायज पनि थियो । किनभने बेलुकीको समय सौराहा घुमेर सदुपयोग गर्ने र भोलिपल्ट नुवाइधुवाइ गरेर खालीपेटमा मौलाकालिकाको दर्शन गर्न जाने योजनामुताविक नै यो टोली सौराहातिर लागेको थियो । तर एउटा टोली भने बेलुकी नै मौलाकालिका दर्शन गरेर फर्किएछ र अरू थकान बिसाउन बसेका टोली र उहाँहरूबिचको भलाकुसारीबाट निस्किएको निष्कर्षको साक्षी हाम्रो टोली बन्न नपाएको रहेछ । रीता खत्रीले बदलिएको यात्रातालिका सुनाउँदै गर्दा मलाई भने खासै फरक परिरहेको थिएन । किनभने मेरा लागि चितवन, सौराहा र मौलाकालिका दर्शन नयाँ थिएन । फेरि यात्राकै लागि छुट्ट्याइएको आइतबार बचाएर जागिरमा पुग्ने योजना पनि मनमा थिएन । तर कतिपय साथीहरू पहिलोपटक मौलाकालिका जाने योजनामा हुनुहुन्थ्यो । उहाँहरूको मन अमिलो हुनु स्वाभाविक नै थियो । अझ भनौँ भने मन्दिर जाने भनेर मनैमा भए पनि योजना बनाइसकेपछि पछि हट्न नहुने धार्मिक विश्वासले पनि उहाँहरूमाथि असहजता थपिरहेको थियो । बेलुकीको खाना खाने योजना पनि रद्द गरिएको र चिउरा दालमोठ खाएर सुत्ने सहमति भएको रहेछ । हुन त दिउँसोको तीन बजे त खाना खाइएको थियो । तर पनि खाना नभइ निद्रा नलाग्ने मलगायतका केही साथीहरू भने खानाको खोजीमा अन्यत्र लाग्यौँ । हामी बसेको होटलमा तयारी गरिकन खान समय धेरै लाग्ने र केही तयारी पनि नगरिएको भन्ने जवाफ सुनेर बाहिर गयौँ तर कहाँ मिल्यो र सहजै ? जे भेटियो तात्तातो त्यही खानुभयो साथीहरूले । शान्ति म्याम र मैले पनि समोसा तरकारीमा नै भाते तिर्सना मेटाउने निधो गर्यौं । समूहमा हिँडेपछि यस्ता परिस्थितिहरू सामान्य नै मान्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौँ हामी । हाम्रो छेउमा बसेर सुनिरहेका चालकले पनि कति समझदार हुनुहुँदो रहेछ तपाईंहरू भनेर तारिफ गर्न भ्याइहाले । राति १० बजेको हुँदो हो, सबै सुत्ने तर्खरमा आ-आफ्नो कोठामा गइसक्नुभएको थियो । हाम्रो भने हिजो बसेको होटलको पनि ३०३ नम्बरको कोठा परेको थियो, आज पनि त्यही नम्बर । यो यात्राको लक्की नम्बर नै ३०३ रहेछ क्यारे भनेर एकछिन साथीहरूसँग ख्यालठट्टा पनि भयो । कोठामा गएर फ्रेस भइसकेपछि केही साथीहरूसँग १-१ः३० घण्टा सुखदुःखका कुरा गर्ने र यात्रालाई यादगार बनाउने योजनामा हामी दुई बाहिर निस्कियौँ । हाम्रो भन्दा विपरीत ढोका पनि सुटुक्क खोलियो । रहिछन् जुमन किरण बहिनी । हाम्रै जस्तो सोचले हामीलाई नै बोलाउन भनेर बाहिरिएकी, उनकी रुम पाटनर निशा केसी भने भित्र बिछ्यौनामा पल्टिरहनुभएको र हामीलाई बोलाउन आदेश दिइरहनुभएको रहेछ । उहाँ फेरि मैले पद्मकन्या कलेजमा पढाएकी विद्यार्थी पनि हुनुहुन्थ्यो । गफिने मन थियो तर माथिल्लो तलामा सुत्न गइसक्नुभएका मन्दिरा र अञ्जली म्यामलाई बोलाएर ल्याउने शर्तमा हामी माथि लाग्यौँ । तर त्यहाँ पुगेपछि बिमल प्रभा र अन्जना दिदीको कोठामा एकछिन छिरेका हामी मन्दिरा दिदीको झन्डै २ घन्टा लामो कथा “बुधनकी घोडी” सुनेर सक्दा १२ बजिसकेछ । छिटो कथा समाप्त गर्नु भन्दाभन्दै पनि यति समय त लागिहाल्यो, सौराहाकै परिवेशको कथा रोचक र सुन्दर उस्तै । तर एकातिर निद्रा र अर्कातिर तल्लो फ्ल्याटमा कुरिरहेका साथीहरू अनि बिचैमा उठेर जाउँ भने कथाको अपमान गरेको ठान्ने हो कि भन्ने भयले खुब पिल्सिएँ म । तल झर्दा सबै मस्त निद्रामा । मलाई कुरिरहेकी मित्र शान्तिको अनुहारमा साँच्चै पर्खाइको गहिरो पीडा पढेँ । अनि हामी पनि वर्तमानलाई थकाइ बिसाउने मौका दिएर भविष्यको स्वागतमा सुस्तायौँ । भोलिपल्ट बिहान हामी देवघाट धामतर्फ लाग्यौँ । नारायणी र कालीको दोभानमा पुगेर पितृलाई सम्झी पानी अर्पण गर्यौं । विभिन्न धार्मिक गीत गाउँदै नाचगान गर्यौं । नाच्न भनेपछि त अञ्जना दिदीका गोडा उचालिइहाल्ने । कति फुर्तिलो नाच फेरि । फोटो तथा भिडियो खिच्यौँ । जलेश्वरी आमाले मन्दिर निर्माणका लागि दिनुभएको सहयोगको सम्मानस्वरूप उहाँलाई सम्मान कार्यक्रम पनि राखिएको रहेछ । महादेवको ठुलो मूर्ति निर्माण गर्दै गरिएको स्थलमा गएर सो कार्यक्रममा सहभागी भयौँ । हामीलाई समेत त्यहाँका समितिले स्वागत गर्दै खादा ओडायो । भजनमा त्यहाँ पनि खुब नाचियो । मेरै नाम भएकी छोरी छन् रे उहाँकी । एकजना वृद्धले त्यसो भन्न पनि भ्याउनुभयो । उहाँसँग उभिनुभएका अन्य वृद्ध बाहरूलाई पनि शारीरिक कसरत हुन्छ भन्दै एकछिन सँगै नचाएँ । उहाँहरू पनि खुब रमाइलो मान्दै नाच्नुभयो । अनि धार्मिक सांस्कृतिक धरोहरमा गरिएको भजन कीर्तन र नाच–गानले उत्सवमय बनाएको स्मृतिलाई बोकेर जङ्गलका बाँदरका चर्तिकला हेर्दै सिर्जनात्मक ऊर्जा तथा आत्म–सन्तोषका साथ हामी गन्तव्यतर्फ लम्कियौँ । काठमाडौँको बालुवाटार आइनपुगुञ्जेलसम्म जाँदाकै क्रियाकलाप, अनुभव र अनुभूतिहरू दोहोरिए । नयाँ केही थप थियो भने डा. यादेवी ढकाल म्यामको उपस्थिति र अघिल्लो दिन स्वर भासिएर लघुकथा समेत अरूले वाचन गरिदिनुपरेको स्थितिलाई च्वाट्टै निको पारिदिने औषधी सेवनपछिको स्वस्थ आवाजको ननस्टप परीक्षण । तर रेणुका भट्टराई दिदीको झ्याउरे गीत र खानेकुराको बाँडफाँड भने छुटेको थियो । यादेवी म्यामसँग गफिन थालेपछि मेरो बालसखी जस्तै अनुभूति हुने मर्स्याङ्ग्दी नदी दोभान र मुग्लिन पनि कतिबेला कटेछन् पत्तै पाइनँ । आफू गोरखामा यही नदीको काखमा हुर्किएकी भएर होला, कोही कसैले यसको नाम लियो वा यही नदीको नाम मिसाइएको गीत आयो भने पनि आत्मीयता महसुस हुन्छ र मन फुरुङ्ग भइहाल्छ । हामी कहिले जागिरका कुरा, कहिले प्रेमका कुरा, कहिले कर्तव्यका कुरा, कहिले साथीभाइका कुरा त कहिले विश्वविद्यालयमा बढ्दो राजनीतिक प्रभावको कुरामा खुब हरायौँ । म भने बेलाबेलामा रश्मि रिमालको कब्जियतमाथि मजाक गर्न, मञ्जिला अनिल दिदीको विवाह वर्षगाँठलाई ताजा स्मरण गराउन तथा रीता खत्री र ईल्या भट्टराईलगायतका स्रष्टाको गायनमाथि आवाज मिसाउन पनि भ्याइरहेकी थिएँ । क्याबिनको ढोकाबाट टाउको निकालेर हेर्दा दायाँबायाँ बस्नुभएका सबै स्रष्टाका अनुहार हेरेर कुरा गर्न खुब सजिलो भइरहेको थियो । तर कसोकसो उठ्न लाग्दा टाउको केमा ठोक्कियो खै ? साह्रै नराम्ररी दुख्यो । टुटुल्को नै उठ्यो पनि तर रगत भने आएन । यसले मलाई केही न केही सावधानी गराउँदै छ क्यारे भन्ने ठानेर पछाडि फर्किएर चुलबुलेपन देखाउनुभन्दा अघिल्ला ग्रुपहरूकै गफमा ज्ञानी श्रोता बनेर ध्यानमग्न हुने निधोमा पुगेँ । अघिल्तिर आएर हामीसँग बस्न रुचाउनुहुने मन्दिरा दिदी, निशाजी र जुमनजीलाई फलफूल तथा मांसाहारी भोजनका परिकारका नाम रोज्न लगाउँदै कथाका विषय फेरि पनि बाँडफाँड गर्यौं । यसपटक सौराहा यात्रामा सहभागी नभएर पनि सिर्जनात्मक गृहकार्यमा यादेवी म्याम सहभागी बन्नुभयो । उहाँलाई पनि जिप सफारीमा देखिएको एउटा चराको नाम जुरिहाल्यो । मेरो भागमा परेको मयूर, खसी र आँपका विषयमा मनमनै प्लट निर्माण गर्न पनि थालेँ । उहाँहरूले पनि आफूले रोजेका विषयमा यहीँ नै केही न केही लेखन योजना मनमा आइसकेको बताउनुभयो । यात्रामा एउटा नयाँ अनुभूति यस्तो थपियो कि अग्रज र उम्दा सर्जकका नाम मात्रै सुन्दा मनमा एक किसिमको भय भनौँ वा कौतुहलता निर्माण भइहाल्दो रहेछ । उहाँहरू पक्कै पनि हामी जस्ता भर्खरै टुसाएका सर्जकलाई नगन्ने र आफैँमा घमण्ड पालेर झिनामसिनालाई हेप्ने फरक स्वभावका हुनुहोला जस्तो लाग्थ्यो मलाई । तर सँगै यात्रा गरिरहँदा अग्रज महिला स्रष्टाहरू कसैमा पनि अनुमानित गुण भेटिनँ । अझै पनि कतिपय चल्तीफिर्तीका साहित्यकारहरू घमण्डी हुन्छन् भन्ने भान मनमा छ, शायद उहाँहरूसँग पनि यति नजिक भएर घुलमिल हुन पाए त्यो भ्रम पक्कै हट्ने रहेछ भन्ने अनुभूति मनमा थपिएको छ । जेहोस् यस यात्राले अपूर्ण ज्ञानको पाटो र भ्रमलाई पनि उज्यालो छर्दै प्रस्ट पारिदियो । तर एउटै भय मनमा अझै बाँकी चाहिँ के छ भने उहाँहरूले मप्रति बनाएको दृष्टिकोण कस्तो भयो होला ? शायद उहाँहरूले पनि केही न केही सिर्जनाका माध्यमबाट त्यसलाई पोख्नुहुने छ अनि पढेर आफ्नो मूल्याङ्कन गर्न अवश्य पाउने छु भन्ने आशा सँगालेकी छु । आफूलाई अनुकूल पर्ने ठाउँमा साथीहरू ओर्लन थालेपछि बिदाइका हात हल्लाउन मनले अटेर गरिरहेको थियो । तर बालुवाटार पुगेपछि यात्रा भौतिक रूपमा समाप्त भए पनि हृदयमा सिर्जना, मित्रता, प्रेम, संवेदना, रमाइलो र प्रेरणाको स्मृति हृदयमा अमिट बनेर बाँचिरह्यो । घर–परिवार छोडेर सिर्जनाले तय गरेको यात्रामा हराएका महिला साहित्यकारहरूको अनुभव, गफ–ठट्टा, प्राकृतिक सौन्दर्य, धार्मिक दर्शन र सांस्कृतिक सम्पदाले थपेको अनुभूतिको यो यात्रा केवल यात्रा मात्र नभइ मन र आत्माको सुरम्य सङ्गीत र भावनात्मक भवसागर बनेको थियो । सिर्जनाको रङ, संवेदनाको प्रकाश र मित्रताको सुगन्ध फुलाउन गुञ्जनले जुराएको यो अवसर वर्तमानका लागि भन्दा पनि भविष्यका लागि अमिट प्रेरणा बन्यो । जेन बेबीबुमरदेखि जेनजीसम्मका हामी सबै सहभागी स्रष्टाहरूको मनमा बसेको यस अनुभूतिले सदैव चम्किलो तारा बनेर उज्यालो दिइरहनेछ । यस स्मृतिले समयको पखेटा हालेर चिरकालसम्म साहित्यिक जगतमा उड्दै भविष्यका उम्दा साहित्यिक पुस्तालाई समेत प्रेरित गरिरहनेछ ।