Redirecting...

विश्‍व घटना : चीन भूकम्पले लियो १२७ को ज्यान - www.nepaliheadline.com

विश्‍व घटना : चीन भूकम्पले लियो १२७ को ज्यान - www.nepaliheadline.com
Source: nplh

काठमाडौं- आज १८ डिसेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप। – सन् १९६६- शनिको चन्द्रमा एपिमिथियसको खोजी सन् १९६६ मा आजकै दिन शनि ग्रहलाई परिक्रमा गर्ने चन्द्रमा एपिमिथियस पत्ता लागेको थियो। यो शनि ग्रहका १५० वटा प्राकृतिक उपग्रह र चन्द्रमामध्ये एक हो। यो एपिमिथियसले अर्को चन्द्रमा जानुससँग आफ्नो कक्ष सेयर गर्छ। शनिको सबैभन्दा ठूलो चन्द्रमा टाइटन हो, जुन सौर्यमण्डलमा वायुमण्डलवाला एक मात्र प्राकृतिक उपग्रह हो। – सन् १९५८- विश्‍वको पहिलो सञ्‍चार भूउपग्रह प्रक्षेपण सन् १९५८ मा आजकै दिन विश्‍वको पहिलो सञ्‍चार भूउपग्रह ‘अर्बिटिङ रिले इक्विपमेन्ट सिग्‍नल कम्युनिकेसन्स (स्कोर)’ प्रक्षेपण गरिएको थियो। यो भूउपग्रह प्रक्षेपणका लागि गम्भीर गोपनीयता अपनाइएको थियो। अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलबाट यसको प्रक्षेपण गरिएको थियो। – सन् १९१२- पिल्टडाउन म्यानको खोजी सन् १९१२ मा आजकै दिन रहस्यमय मानिएको पिल्टडाउन मानिसको अवशेष पत्ता लागेको घोषणा गरिएको थियो। त्यतिन्जेल यो मानव पुर्खालाई अज्ञात मानिँदै आएको थियो। इंग्ल्यान्डको पूर्वी ससेक्सको पिल्टडाउनमा उक्त मानवको अवशेष फेला परेको थियो। यसको टाउको ओरङगुटेनको चिउँडोको हड्डी र एक बयस्क मानिसको खोपडीजस्तो देखिन्थ्यो। जियोलोजिकल सोसाइटी अफ लन्डनले आयोजना गरेको सम्मेलनमा पुरातत्त्वविद चार्ल्स डसनले उक्त मानवको अवशेष फेला परेको घोषणा गरेका थिए। – सन् १८६५- अमेरिकामा गुलामी अन्त्य १६० वर्षअघि आजकै दिन अमेरिकामा दास प्रथा (गुलामी)को अन्त्य भएको घोषणा गरिएको थियो। अमेरिकी संविधानको १३औं संशोधनलाई कार्यान्वयन गर्दै गुलामी अन्त्य भएको घोषणा गरिएको थियो। त्यससँगै सबै अमेरिकी नागरिकलाई नागरिकताको अधिकार, समान कानून, सुरक्षा र मतदानको अधिकार प्रदान गरिएको थियो। – सन् २०१९- डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग तत्कालीन अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आजकै दिन संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो। त्यससँगै महाभियोग सामना गर्ने उनी तेस्रो राष्‍ट्रपति बनेका थिए। उनीविरुद्ध सत्ताको चरम दुरुपयोग र अमेरिकी संसद कंग्रेसको काम कारवाहीमा अवरोध पुर्‍याएको आरोप लगाइएको थियो। त्यसअघि एन्ड्र्यु जोनसन र बिल क्लिन्टनमाथि पनि महाभियोग दर्ता भएको थियो। अर्का राष्‍ट्रपति रिचर्ड निक्सनले महाभियोग दर्ता हुनुअघि नै राजीनामा दिएका थिए। – सन् २०२३- चीन भूकम्पले लियो १२७ को ज्यान सन् २०२३ मा आजकै दिन चीनमा आएको शक्तिशाली भूकम्पमा परी १२७ जनाको ज्यान गएको थियो। खासगरी, गान्सु प्रान्तको जिसिसान काउन्टी भूकम्पबाट क्षतिग्रस्त भएको थियो। ६.२ रेक्टर स्केलको उक्त भूकम्प चीनमा १३ वर्षयताकै शक्तिशाली थियो।