Redirecting...

अस्ट्रेलिया गोलीकाण्डका सन्दिग्ध आक्रमणकारीमध्ये मृत बुवा 'भारतीय नागरिक', छोराको 'होस खुल्यो' - www.bbc.com

अस्ट्रेलिया गोलीकाण्डका सन्दिग्ध आक्रमणकारीमध्ये मृत बुवा 'भारतीय नागरिक', छोराको 'होस खुल्यो' - www.bbc.com
Source: bbcn

Daily Mail बुवा सजिद अकरमको घटनास्थलमै मृत्यु भएको र नवीद अकरम अहिले अस्पताल हुँदै गरेको प्रहरीले जनाएको छ अस्ट्रेलियाको सिड्नीस्थित 'बोन्डाइ बीच' मा गत आइतवार १५ जनाको मृत्यु हुने गरी गोली प्रहार गर्ने दुई सन्दिग्ध आक्रमणकारीहरू भारतीय मूलका भएको अस्ट्रेलिया र भारतका अधिकारीहरूले जनाएका छन्। उनीहरू बाबुछोरा थिए।दुई जनामध्ये ५० वर्षीय बुवा सजिद अकरमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनका छोरा २४ वर्षीय नवीद अकरम गम्भीर स्वास्थ्य अवस्थामा अस्पतालमा छन्। अस्ट्रेलियाका सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार नवीदको होस मङ्गलवार खुलेको छ। प्रहरीले उनीसँग बयान लिएको नाइनन्यूजले जनाएको छ। बीबीसीले त्यसबारे बुझ्न प्रहरीसँग सम्पर्क गरेको छ। अस्ट्रेलिया गोलीकाण्ड : जाइ लागेर बन्दुक खोस्ने 'नायक' र दुई सन्दिग्ध आक्रमणकारी को हुन् अस्ट्रेलियाको बोन्डाइ बीचमा आक्रमण गर्ने व्यक्तिहरू 'बाबु र छोरा' 'बोन्डाइ बीच'मा यहुदीहरूको पर्व 'हानका' मनाउन भेला भएका मानिसहरूलाई निसाना बनाएर सन्दिग्ध आक्रमणकारीहरूले गोली प्रहार गरेका थिए। उक्त घटनामा परी १५ जनाको मृत्यु भएको छ भने कैयौँ मानिसहरू घाइते भएका छन्।अधिकारीहरूले बताएअनुसार सजिद अकरम सन् १९९८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए। उनले पार्ट्नर भिसा हुँदै पछि आवासीय भिसा लिए। नवीद अकरमको जन्म अस्ट्रेलियामै भएको र उनी त्यहीँका नागरिक भएको अधिकारीहरूले पुष्टि गरेका छन्।'सजिद अकरमको मूल घर हैदराबाद' Getty Images दक्षिण भारतीय राज्य तेलङ्गनाका एक वरिष्ठ प्रहरी अधिकारीले सजिद अकरमको मूल घर हैदराबाद भएको पुष्टि गरेका छन्। उनका अनुसार सन् १९९८ मा अस्ट्रेलिया गएपछि सजिद अकरम छ पटक मात्र हैदराबाद फर्किएका थिए। उनको परिवारले सजिदको "कट्टरपन्थी सोच वा गतिविधि"बारे आफूलाई केही थाहा नभएको बताएको छ।"भारतमा उनका नातेदारहरूबाट प्राप्त जानकारीका अनुसार साजिद अकरम विगत २७ वर्षदेखि हैदराबादमा बस्ने आफ्नो परिवारसँग सीमित सम्पर्कमा थिए।"बीबीसी तेलगूसँग कुरा गर्दै ती प्रहरी अधिकारीले भने, "अस्ट्रेलिया पलायन भएपछि उनी पैतृक सम्पत्तिजस्ता पारिवारिक मामिला र वृद्ध आमाबुवालाई भेट्न भनेर छ पटक भारत फर्किएका रहेछन्।""पछि बुवाको देहान्त हुँदा समेत उनी भारत आएका रहेनछन्," उनले भने।"सजिद अकरम र उनका छोरा नवीद कट्टरपन्थी बन्नुका कारणहरूको सम्बन्ध भारतसँग वा तेलङ्गानामा भएको देखिँदैन," उनले भने। उनका अनुसार सजिद भारतमा कुनै आपराधिक गतिविधिमा संलग्न भएको अभिलेख छैन। उनले सजिद रोजगारीको अवसर खोज्दै अस्ट्रेलिया गएको र त्यहाँ "युरोपेली मूलकी महिलासँग उनको बिहे भएको" जानकारी दिए। अस्ट्रेलियाको बोन्डाइ बीच गोलीकाण्ड 'इस्लामिक स्टेट विचारधारा'बाट प्रेरित: अस्ट्रेलियाका प्रधानमन्त्री अस्ट्रेलियाको बोन्डाइ बीचमा भएको बन्दुक हमलाबारे हामीलाई के थाहा छ? शङ्काको घेरामा फिलिपिन्स भ्रमण EPA/Shutterstock मृतकहरूप्रति सम्मान प्रकट गर्न घटनास्थलमा मानिसहरू जाने गरेका छन् सजिद अकरम र नवीद अकरमले गत महिना फिलिपिन्स भ्रमण गरेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार त्यस बेला सजिद अकरमले भारतीय पासपोर्ट प्रयोग गरेका थिए भने अस्ट्रेलियाको नागरिक भएकाले नवीद अकरम अस्ट्रेलियाली पासपोर्टमै गएका थिए। दुवै देशका प्रहरीले अकरम बाबुछोराको फिलिपिन्स भ्रमणबारे छानबिन थालिएको बताएका छन्।फिलिपिन्सको अध्यागमन अभिलेखमा उनीहरू १ नोभेम्बर मा फिलिपिन्स पुगेको र २८ नोभेम्बरमा सिड्नी फर्किएको देखिएको छ।फिलिपिन्समा अवतरण गर्दा उनीहरूले आफ्नो गन्तव्य दक्षिणी सहर डभाऊ भएको जनाएका थिए। डभाऊ मिन्डनाऊ टापुमा पर्छ। उक्त टापुका केही भागमा अतिवादी इस्लामिस्ट लडाकुहरू सक्रिय रहेको बताइन्छ।फिलिपिन्सको राष्ट्रिय सुरक्षा परिषद्ले ती दुई जनाको सम्बन्ध फिलिपिन्समा भएका आतङ्ककारी समूहहरूसँग भए नभएकोबारे छानबिन थालिएको बताएको छ।सजिद र नवीद अकरमले फिलिपिन्समा सैन्य शैलीको तालिम लिएको हुन सक्ने विवरणहरू सार्वजनिक भएका छन्। फिलिपिन्सको सेनाले त्यसबारे आफूले तत्काल केही भन्न नसक्ने जनाएको छ।अस्ट्रेलियाका अधिकारीहरूले पनि उनीहरूको फिलिपिन्स भ्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको बताएका छन्। सन् २०२३ मा इस्लामिक स्टेटलाई के भयो? प्यारिस हमलाबारे आधुनिक फ्रान्सेली इतिहासकै ठूलो मुद्दाको सुनुवाइ शुरू इस्लामिक स्टेटसँग सम्बन्ध भएको आशङ्का Reuters 'बोन्डाइ बीच'स्थित घटनास्थलनजिकै फेला परेको र सन्दिग्ध आक्रमणकारीहरूको भन्ठानिएको एउटा कारमा अतिवादी सङ्गठन इस्लामिक स्टेट (आईएस)का झण्डाहरू फेला परेको विवरण सोमवार सार्वजनिक भएको थियो। केही वर्षअघि नवीद अकरमको सम्बन्ध आईएसका सिड्नीस्थित सदस्यहरूसँग भएको आशङ्कामा छानबिन भएको समाचारसंस्था एबीसीले जनाएको छ। आईएसले प्यारिससहित युरोप र अमेरिकामा भएका कैयौँ आतङ्ककारी आक्रमणहरू आफूले गराएको दाबी गरेको छ।अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले "अरूसँग सम्बन्ध भएको आधारमा" नवीद अकरम सन् २०१९ मा पहिलो पटक निगरानीमा परेको बताएका छन्। उनका अनुसार त्यतिबेला उनीबाट "तत्कालका लागि कुनै खतरा नभएको वा उनी हिंसामा संलग्न हुने खतरा नभएको" आकलन गरिएको थियो।"यो [घटना] इस्लामिक स्टेटको विचारधाराबाट प्रेरित छ कि जस्तो प्रतीत हुन्छ," अल्बनीजीले एबीसी सिड्नीलाई दिएको अन्तर्वार्तामा भनेका छन्।उनले 'बोन्डाइ बीच'मा भएको आक्रमण "लक्षित, सुनियोजित र निर्मम" भएको बताए। तालिबान, अलकायदा र इस्लामिक स्टेट बीचको भिन्नता इस्लामिक स्टेटका नाइके मारिएको कारबाहीका तस्बिर सार्वजनिक बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।