Redirecting...

बालकोटमा एमालेलाई झट्का,दर्जन नेता कार्यकर्ता नेकपामा प्रवेश - kendrabindu.com

बालकोटमा एमालेलाई झट्का,दर्जन नेता कार्यकर्ता नेकपामा प्रवेश - kendrabindu.com
Source: kend

काठमाडौँ । भक्तपुरको बालकोट–२ क्षेत्रमा नेकपा एमालेबाट अलग हुँदै प्रभावशाली नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा सामूहिक रूपमा प्रवेश गरेका छन्। कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र सशक्त बनाउने उद्देश्यसहित अघि बढाइएको पार्टीको एकता अभियानअन्तर्गत उनीहरू पार्टीमा समाहित भएका हुन्। पार्टी प्रवेश गर्नेमा एमाले बालकोटका नेता तथा वडा नं. २ का अध्यक्ष पदका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. डि. के. रोसन, एमाले सूर्यविनायक क्षेत्रका सक्रिय नेता–कार्यकर्ता ईश्वर सिलवाल, हरि बास्कोटा, भाइ कृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, धुर्व के.सी., रुकुश वेकाजु, सुदिप प्रजा, कृष्णशरण लामिछानेलगायत रहेका छन्। उनीहरूको प्रवेशसँगै बालकोट क्षेत्रमा एमालेको संगठनात्मक आधार कमजोर बन्दै गएको संकेत देखिएको छ । नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। सो अवसरमा उनले कम्युनिस्ट आन्दोलनलाई खण्डित गर्ने प्रवृत्तिविरुद्ध एकताबद्ध संघर्षको आवश्यकता औँल्याउँदै समाज परिवर्तन, सुशासन र जनताको अधिकारका पक्षमा दृढतापूर्वक अघि बढ्न आह्वान गरे। उनले जनतासँग जोडिएको राजनीति, व्यवहारिक कार्यक्रम र बलियो संगठनमार्फत मात्रै परिवर्तन सम्भव हुने उल्लेख गरे। कार्यक्रममा पार्टी प्रवेश गरेका नेताहरूले एमालेभित्र वैचारिक विचलन, गुटगत राजनीति र कार्यकर्ताको भावना उपेक्षा बढ्दै गएको अनुभव सुनाउँदै त्यसबाट निराश भएर नयाँ विकल्पको खोजीमा नेपाली कम्युनिस्ट पार्टी रोजेको बताएका छन्। उनीहरूले पार्टीको नीति, विचार, नेतृत्व र एकता अभियानले आफूहरूलाई आकर्षित गरेको भन्दै स्थानीय तहदेखि जनताको मुद्दा उठाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। यस सामूहिक प्रवेशलाई नेपाली कम्युनिस्ट पार्टीले बालकोट–सूर्यविनायक क्षेत्रमा संगठन विस्तार र जनाधार मजबुत बनाउने महत्वपूर्ण उपलब्धिका रूपमा मूल्याङ्कन गरेको छ ।