भारतबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त प्रचण्ड - bishwokhabar.com
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त भएका छन् । एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार नयाँदिल्ली गएका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका थिए । दिल्ली बसाइको क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको थियो । हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफललमा रहेको उनको सचिवालयले जनाएको छ । ‘राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो । यसक्रममा अन्य दलका नेताहरुसँग पनि प्रचण्डको छलफल हुनसक्ने स्रोत बताउँछ । खासगरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच राष्ट्रिय सभामा तालमेल गर्ने तयारी छ । त्यस विषयमा शीर्ष तहमा भेटघाट र छलफल हुँदै आएको छ । स्रोत भन्छ- एमालेलाई ७/७ र नेपाली कम्युनिष्ट पार्टीलाई ४ सिट प्राप्त हुने गरी राष्ट्रिय सभामा सिट बाँडफाँट गर्ने मोडेलमा अनौपचारिक छलफल जारी छ । तर, प्रचण्डले मधेश प्रदेशमा रहेका केही साना दललाई समेत समेट्ने गरी मतभारका आधारमा सिट बाँडफाँटको प्रस्ताव राखेका छन् । शीर्ष नेताहरुको छलफलबारे जानकार एक नेताका अनुसार प्रचण्डले ‘सम्मानजनक सिट’मा सहमति भए राष्ट्रियसभामा मिलेर जान सकिने बताएका छन् ।