Redirecting...

धोनीले आगामी आइपिएल पनि खेल्ने - ehimalayatimes.com

धोनीले आगामी आइपिएल पनि खेल्ने - ehimalayatimes.com
Source: hmlt

नयाँदिल्ली । भारतीय स्टार क्रिकेटर एमएस धोनीले आगामी सिजन पनि इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने हुनुभएको छ । चेन्नई सुपर किङ्स (सिएसके) का प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथनले धोनीले आगामी सिजन पनि आइपिएल खेल्ने जानकारी दिनुभएको हो । विश्वनाथनले समाचार संस्था क्रिकबजसँग भन्नुभयो, ‘हो, एमएसले हामीलाई भनेका छन् कि उनी अर्को सिजन पनि उपलब्ध हुनेछन् ।’ धोनी र विश्वनाथन दुवै २००८ देखि सिएसकेसँगै हुनुहुन्छ । धोनीले आगामी सिजनमा खेल्ने या नखेल्ने प्रश्न पछिल्ला केही वर्षदेखि उठ्दै आएको थियो । तर, सिएसके सिइओको यो बयानले कम्तीमा सन् २०२६ को सिजनसम्मको अड्कलबाजी अन्त्य भएको छ । गत सिजनमा टोलीले राम्रो प्रदर्शन गर्न सकेन र अंक तालिकाको तल्लो स्थानमा रहेको थियो । गत सिजनको बीचमै चोटका कारण नियमित कप्तान रुतुराज गायकवाडको अनुपस्थितिमा धोनीले टोलीको कप्तानी सम्हाल्नुभएको थियो । धोनीले सिएसकेबाट २४८ खेल खेल्नुभएको र चार हजार ८६५ रन बनाउनुभएको छ । उहाँले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा पाँचपटक आइपिएल उपाधि जिताउनुभएको थियो । एजेन्सी