Redirecting...

‘बम्पर छुट’ पाएसँगै वर्षौदेखि कर नतिर्नेहरू पुग्न थाले यातायात कार्यालय - www.meroauto.com

‘बम्पर छुट’ पाएसँगै वर्षौदेखि कर नतिर्नेहरू पुग्न थाले यातायात कार्यालय - www.meroauto.com
Source: meau

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐनमार्फत कर र जरिवाना छुट सुविधा दिएपछि सवारीधनीहरूले पुरानो कर तिर्न थालेका छन् । छुटका कारण सेवाग्राहीले वर्षौंदेखिको एकमुष्ट बक्यौता कर र जरिवाना तिर्न नपर्ने भएपछि धमाधम कर तिर्न आउन थालेका हुन् । प्रदेश मातहतका सबै यातायात कार्यालयहरूले पुरानो कर तिर्ने सवारीधनीको संख्या बढ्न थालेको जनाएका छन् । प्रदेश सरकारले चालु आवको आर्थिक ऐन मार्फत आव २०८१/८२ सम्म सवारी साधन कर नबुझाएका र सवारी साधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका सवारीधनीले पछिल्लो ३ आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर २०८३ जेठ मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिका आर्थिक वर्षहरूमा लाग्ने सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिएको छ । सो अनुसार सवारीधनीले जतिसुकै वर्षदेखि कर नतिरेको भए पनि आव २०७९/८० देखि यताको मात्रै तिरे पुग्छ । सो अगाडिको सबै वर्षको कर, नवीकरण शुल्क र जरिवाना छुट पाउने छन् । यातायात कार्यालयहरूका अनुसार केही सवारीको १० वर्षभन्दा बढी समयदेखिको कर तिर्न बाँकी छ । यातायात व्यवस्था कार्यालय सानाठूला सवारी, एकान्तकुनाका सूचना अधिकारी अम्बिक घिमिरे पुरानो कर तिर्न आउने सवारीधनी बढेको बताउँछन् । ५/७ वर्षदेखि कर तिर्न बाँकी रहेकाहरू पनि कर तिर्न आउन थालेको उनले बताए । ५ वर्ष बढी नवीकरण नभएका सवारी पुनः दर्ता गरी नवीकरण गर्नुपर्ने उनले बताए । ‘विगतका वर्षहरूमा पहिलो चौमासिकमा सवारी कर तिर्ने कमै हुन्थे । आन्दोलनको असरको बाबजूद यस वर्ष बढेका छन् । जति वर्षको कर तिर्न बाँकी भए पनि पुरानो ३ वर्ष (२०८१/८२ अघि) र चालु आवको कर तिरेपछि अरू अघिल्ला वर्षहरूको कर तथा जरिवाना छुट पाइन्छ । २०७९/८० अगाडिको सबै छुट हुन्छ । त्यसैले, वर्षौंदेखि कर तिर्न बाँकी रहेकाहरू पनि आउन थालेका छन्,’ उनले मेरोअटोसँग भने । अघिल्लो ३ आव र चालु आवको सवारी कर तथा नवकीकरण शुल्कमा भने नियम अनुसार नै जरिवाना लाग्ने उनले बताए । उनले गत आवको पहिलो चौमासिक (साउन-कात्तिक)को तुलनामा चालु आवमा कार्यालयको राजस्व १५ करोड ५० लाख रुपैयाँ धेरै उठेको जानकारी दिए । गत आवमा पहिलो ४ महिनामा १ अर्ब ४६ करोड रुपैयाँ कर उठेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । पुरानो कर तिर्नेको संख्या बढे पनि चालु आवमा ठ्याक्कै कतिले तिरे भन्ने एकिन तथ्यांक भने नभएको उनले बताए । ‘गत वर्षको तुलनामा पुरानो कर तिर्ने बढेका छन् । तर, कति सवारीले तिरे भन्ने एकिन तथ्यांक हुँदैन । किनभने सिस्टममा हरेक सवारी छुट्टाछुट्टै डाटा हुन्छ । हरेक सवारीको बक्यौता कर देखिन्छ । समग्रमा कति सवारीको कति वर्षदेखिको कर बाँकी छ भन्ने थाहा हुँदैन,’ उनले भने । केही गाडीको ८/१० वर्षदेखिको कर तिर्न बाँकी रहेको उनको भनाइ छ । त्यस्तै, देशकै सबैभन्दा ठूलो (सवारी दर्ताका आधारमा) यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज शिवाकोटी कर छुट अफरका कारण पुरानो कर तिर्न आउने सेवाग्राही उल्लेख्य मात्रमा बढेको बताउँछन् । साउनदेखि नै छुट अफर लागू भएकाले सवारीधनी बक्यौता कर तिर्न आइरहेको उनले बताए । उनले गत आव पहिलो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा कुल राजस्व संकलन १३.८४ प्रतिशतले बढेको जानकारी दिए । उनका अनुसार चालु आवका कात्तिकसम्म गुर्जुधाराबाट १ अर्ब ६३ लाख रुपैयाँ राजस्व उठेको छ । जबकि गत वर्ष सोही अवधिमा ८८ करोड ३९ लाख रुपैयाँ संकलन भएको थियो । कुल राजस्वमा सवारी करको हिस्सा करिब ७० प्रतिशत रहेको उनले बताए । ‘कर र जरिवाना छुट अफरपछि वर्षौंदेखि कर नरितेका पनि तिर्न आउन थालेका छन् । यो संख्या बढ्दो क्रममा छ । सोधिखोजी गर्न आउने पनि बढेका छन्,’ उनले मरोअटोसँग भने । जेनजी आन्दोलनले सेवा प्रभावित हुँदा पनि राजस्व बढ्नुले बक्यौता कर तिर्न आउनेको संख्या बढेको पुष्टि हुने उनले बताए । कतिले बक्यौता कर तिरे भन्ने एकिन संख्या चाहिँ थाहा नहुने उनको भनाइ छ । कर बक्यौता हुनेहरूमा प्रयोगमा नआएका तर लगत कट्टा नगरेका, हराएका/चोरी भएका सवारी धेरै हुने गरेका छन् । त्यस्तै, केही सवारीधनीले नियतवस नै कर नतिर्ने गरेको कार्यालयका अधिकारीहरू बताउँछन् । सवारी धनीले लिनसक्छन् हजारौं फाइदा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी बिमलप्रसाद भट्टराई छुट सुविधाको उपयोग गर्दै सवारीधनीले हजारौं रुपैयाँ फाइदा लिनसक्ने बताउँछन् । उनका अनुसार सवारीधनीले जति सुकै वर्षको कर नतिरेको/नवीकरण नगरेको भए पनि आव २०८१/८२ सम्म तिर्न बाँकी करमध्ये अन्तिम ३ वर्ष र चालु आवको मात्रै तिरे बाँकी अरू वर्षको सबै कर, नवीकरण शुल्क र जरिवाना मिनाहा हुन्छ । अर्थात् सवारीधनीले आव २०७९/८० देखि यताको मात्रै कर तिर्नुपर्छ । ‘सवारीधनीले विगत १० वर्षदेखि कर नतिरेको भए पनि आव २०८१/८२ अघिको ३ वर्ष र चालु आवसहित ४ वर्षको मात्रै कर तथा नवीकरण शुल्क तिरे पुग्छ । अरू अघिल्ला वर्षहरू (आव २०७८/७९ अघि)को सबै कर तथा जरिवाना मिनाहा हुन्छ,’ उनले मेरोअटोसँग भने, ‘यद्यपि, चालु आवसहितको कर तिर्दा भने प्रचलित कानुन बमोजिम नै जरिवाना लाग्छ ।’ उदाहरणका लागि १५० सीसीको एउटा मोटरसाइकलधनीले आव २०७२/७३ देखिको कर तिरेको छैन । नियम अनुसार उक्त मोटरसाकले हरेक वर्ष ५ हजार सवारी कर र ३०० रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्छ । कर नतिरेको एक आव नाघेपछि सवारी करमा हरेक वर्ष थप ३२ प्रतिशतका दरले जरिवाना लाग्छ भने नवीकरण शुल्कमा शतप्रतिशत जरिवाना लाग्छ । सो अनुसार अहिले उक्त मोटरसाइकलले झण्डै ७५ हजार रुपैयाँ कर तिर्नु पर्थ्यो । तर अहिले छुट अफरमा आव २०७९/८० यता ४ वर्ष (चालु आवसहित)को सवारी कर, नवीकरण शुल्क र पुनः दर्ता शुल्क गरी कुल साढे २९ हजार रुपैयाँ मात्रै तिरे पुग्छ । सवारी नवीकरण नगरेको ५ वर्ष नाघेकाले पुनः दर्ता शुल्कबापत थप १०२० रुपैयाँ तिर्नुपर्दछ । उक्त सवारीधनीले झण्डै ४५ हजार रुपैयाँ बढी कर छुट लाभ पाउँछ । चारपाँग्रे सवारीको लाग्ने कर रकम बढी भए पनि हिसाब भने एउटै तरिकाले हुन्छ । नवीकरण नगरेको ५ वर्ष ननाघेका सवारी पुनः दर्ता हुनुपर्दैन । ठूला सीसी र चारपाँग्रे सवारीधनीलाई झनै धेरै फाइदा हुने देखिन्छ । किनभने ठूला सीसी र चारपाँग्रे सवारीको करको दर धेरै हुन्छ ।यस अफरमा जति धेरै वर्षको कर तिर्न बाँकी छ, उनीहरूले धेरै फाइदा पाउने छन् । केही सवारीधनीले लाख रुपैयाँभन्दा बढीसम्म लाभ पाउने अवस्था रहेको यातायात कार्यालयका अधिकारीहरू बताउँछन् । यस्ता छन् अरू छुट अफर बागमतीमा दर्ता भएका २० वर्ष वा सोभन्दा पुराना सार्वजनिक सवारी साधनधनीले दर्ता खारेज गर्न चाहेमा २०८३ जेठ मसान्तसम्म २० वर्षसम्मको तिर्न बुझाउन बाँकी सवारी साधन कर तथा नवीकरण दस्तुर बुझाएको सो बापत लाग्ने जरिवानामा शतप्रतिशत छुट दिएको छ । त्यस्तै, प्रदेशमा दर्ता भई नवीकरण नगरेका यातायात सेवासँग सम्बन्धित प्रशिक्षण केन्द्र, कारखाना, वर्कशप र रिकन्डिसन हाउस लगायतका व्यावसायीहरूले पछिल्लो अवधिको नवीकरण दस्तुर २०८३ जेठ मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिका अवधिमा लाग्ने नवीकरण दस्तुर र जरिवानामा शतप्रतिशत छुट दिएको छ । त्यसैगरी, कुनै पनि सवारी साधन हराई फेला परेको भए प्रहरी कार्यालयको सिफारिस पत्र र यातायात व्यवस्था कार्यालयमा रोक्का गरेको प्रमाणसहित नवीकरणका लागि पेश गरेमा सवारी हराएको र फेला परेको अवधि भित्र लाग्ने सवारी साधन कर तथा नवीकरण दस्तुर र सोमा लाग्ने जरिवाना छुट दिएको छ । त्यस्तै, सरकारी स्वामित्व (संघीय/प्रदेश/स्थानीय सरकार मातहत) रहेका मर्मत सम्भार गरी प्रयोगमा ल्याउन नसकिने सवारी साधन दर्ता भएका कार्यालय हेर्न मन्त्रालयको स्वीकृतिमा तिर्नु बुझाउनुपर्ने राजस्व बाँकी भए सो समेत मिनाहा भई लगत कट्टा गरी स्वामित्व रहेको कार्यालयबाट लिलाम बिक्री गर्ने व्यवस्था गरेको छ । The post ‘बम्पर छुट’ पाएसँगै वर्षौदेखि कर नतिर्नेहरू पुग्न थाले यातायात कार्यालय appeared first on Meroauto.