चुनावी सरगर्मी बढेसँगै उम्मेदवारको सुरक्षामा कडाइ - www.pardafas.com
फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारको सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ। निर्वाचनको सरगर्मी बढ्दै जाँदा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका गतिविधि सुरक्षित र निर्बाध रूपमा सञ्चालन गर्न गृह मन्त्रालयले सुरक्षा सतर्कता बढाएको हो। गृह मन्त्रालयका अनुसार चुनावी कार्यक्रम, उम्मेदवारको आवतजावत तथा बसाइका क्रममा कुनै पनि किसिमको सुरक्षा चुनौती नआओस् भन्ने उद्देश्यले चारवटै सुरक्षा निकाय परिचालित भइसकेका छन्। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारको सुरक्षालाई विशेष प्राथमिकतामा राखेर सुरक्षा परिचालन गरिएको जानकारी दिए । प्रवक्ता काफ्लेले एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरी कार्यान्वयनमा लगाइसकेको उल्लेख गर्दै उम्मेदवारहरूले सुरक्षा विषयमा चिन्ता लिनु नपर्ने बताए । उनका अनुसार निर्वाचन आयोगले तोकेको आचारसंहिता पालना गर्दै सबै उम्मेदवारले निडर भएर आफ्ना गतिविधि सञ्चालन गर्न सक्ने वातावरण बनाइएको छ। उम्मेदवार सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सेल गठन गरी सूक्ष्म निगरानी बढाएको छ। केन्द्र, उपत्यका, प्रदेश र जिल्ला तह गरी कुल ९३ वटा निर्वाचन सेल सक्रिय छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार संवेदनशील तथा चर्चित उम्मेदवारका लागि जिल्ला सुरक्षा समितिमार्फत विशेष टोलीसमेत परिचालन गरिएको छ। संभावित जोखिम न्यूनीकरण गर्न सादा पोसाकका प्रहरीलाई समेत परिचालन गरिएको र आवश्यकता अनुसार सिनियर प्रहरी अधिकृतको कमान्डमा सुरक्षा व्यवस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ। कुनै पनि उम्मेदवारले सुरक्षा चुनौती महसुस गरे वा शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी दिन सकिने व्यवस्था गरिएको छ। यसैबीच, निर्वाचनलाई प्रभावित गर्न सक्ने सामाजिक सञ्जालका घृणास्पद अभिव्यक्ति नियन्त्रणका लागि प्रत्येक निर्वाचन सेलमा सूचना प्रविधिमा दक्ष प्रहरी खटाइएको छ। मन्त्रालयले विगतको तुलनामा देशको शान्ति सुरक्षामा सुधार आएको र आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित रूपमा सम्पन्न हुनेमा विश्वस्त रहेको जनाएको छ। गृह मन्त्रालयका अनुसार सम्भावित चुनौतीका रूपमा राजनीतिक दलबीच हुन सक्ने विवाद, जेनजी समूहसँग सम्बन्धित गतिविधि तथा खुला सिमानाबाट उत्पन्न हुन सक्ने अवस्थालाई मूल्याङ्कन गरी सोही अनुसार सुरक्षा रणनीति तय गरिएको छ। यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त तथा छुट्टाछुट्टै रूपमा परिचालन भइरहेका छन्।