रेड पाण्डा म्याराथनमा नेपाली सेनाका गजिन्द्र राई प्रथम - ehimalayatimes.com
इलाम । रेड पाण्डा म्याराथनमा नेपाली सेनाका गजिन्द्र राई प्रथम हुनुभएको छ । उहाँले ४४ दशमलब ३ किलोमिटर दूरी चार घण्टा १२ मिनेटमा तीन हजार ६१० मिटर उचाइको सन्दकपुर सब्मिट गर्नुभएको हो । एक हजार २२० मिटरको इलाम बजारबाट म्याराथन सुरु भएको थियो । उपाधिमा नेपाली सेनाकै बर्चस्व रहेको छ । चार घण्टा १३ मिनेटमा निर्धारित दूरी पार गर्दै सेनाकै करण रावल दोस्रो हुनुभयो । चार घण्टा २९ मिनेटमा सेनाकै कर्णबहादुर रोक्का मगर तृतीय हुनुभयो । प्रथम हुनेले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिलातर्फ खोटाङकी निर्मला राई प्रथम हुनुभयो । उहाँले पाँच घण्टा ४० मिनेटमा उक्त दूरी पार गर्नुभएको थियो । महिलातर्फ नेपाली सेनाकी सुनसरी रोकाय द्वितीय र कल्पना बुढा तृतीय हुनुभएको थियो । पाँचथर, इलाम, ताप्लेजुङका स्थानीयतर्फ राजन मेन्याङ्बो प्रथम हुनुभयो । द्वितीय विशाल राई, तृतीय राजेन्द्र लिम्बू र रमेश लिम्बू सान्त्वना हुनुभयो । प्रतियोगिता दीप ज्योति क्लबले आयोजना गरेको हो । महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले एक लाख ५० हजारका दरले नगद पुरस्कार प्राप्त गरे । दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो । यस्तै, स्थानीयतर्फको प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । रेड पाण्डा नेटवर्क र प्ले फर नेचरको सहयोगमा प्रतियोगिता आयोजना भएको हो ।