Redirecting...

अब्बल गीतहरूका गुमनाम गायक ‘इन्द्रजीत मिजार’ - sahityapost.com

अब्बल गीतहरूका गुमनाम गायक ‘इन्द्रजीत मिजार’ - sahityapost.com
Source: shpt

“म जस्तो एउटा सानु कलाकारलाई यस मञ्चमा निम्ताइदिनु भएकोमा यो मञ्चलाई कोटी कोटी धन्यवाद दिन चाहन्छु…” यो वाक्य कति गहकिलो थियो भन्ने कुरा जजसले तत्क्षण सुने उनीहरूलाई थाह छ । कसैको पनि तीव्र प्रतिक्रिया दिने साहस थिएन, थियो त सबैका रसाएका आँखा । जब जादूमय स्वरका धनी इन्द्रजीत मिजार ‘मेरो भ्वाइस युनिभर्स’ नेपालको एउटा रियालिटी शोबाट आफ्नो लोकप्रिय गीत “अब यो बाटो मेरो हो कि…” गीत गाइसकेपछि बोलेका थिए । मोबाइलको स्क्रीनमा यसरी इन्द्रजीत मिजारलाई प्रथम पल्ट देख्न र सुन्न पाउँदा मैले वर्षौंदेखि खोजेको एउटा गायक भेटे भन्नेहरूको संख्या गनिसक्नु भएन । कहिले जान्न नखोजेको देखेपछि मैले खोजेको यही हो जस्तो, कस्तो होला भनेर सोचिरहेको देखेपछि मुख हैन आँखाबाट आँसु बोलेको । एउटा भुइँ मान्छे वर्षौंपछि पनि भुइँमै निहुरिएका कालजयी गीतहरू ‘पिरतीको मिठो तिर्सना’, ‘अब यो बाटो’, ‘के भन्ने हाम्रो समय’, ‘टुङ्नाको धुनमा’, ‘यो बाटो कहाँ जाने हो’ आदि.. गीतहरूका गायक इन्द्रजीत मिजार । समाज कहीलेकहीं नजिकैको हीरा नदेखेर टाढाको कुनै एउटा चम्किने वस्तुलाई हामीले खोजेको हीरा यही हो भन्ने कुरालाई ढिपी गर्न व्यस्त हुन्छ । हीरा हीरै हुन्छ, जसलाई प्रमाणित गरिरहन आवश्यकता पर्दैन । तर हीराको परख गर्न नै चुक पछि भन्नु केही छैन । नेपाली समाजमा मात्रै हैन अन्य समाजमा पनि यस्ता कुराहरू धरै छन् । अर्थात् धेरै इन्द्रजीत मिजारहरूले अझै पनि उचित सम्मान र संरक्षण पाएका छैनन् । नेपाली चलचित्र क्षेत्रका पार्श्व गायक इन्द्रजीत मिजारको चर्चा कति भयो ? उनले गाएका सुपर हिट गीतहरू सबैले सुनेका वा हेरिएका भए पनि, गायक इन्द्रजीत मिजारलाई किन कतै देखिएन ? उनले स्वर भरेर कालजयी बनेका गीतहरू टिकटक, रील आदि बनाउँदै सबैले चर्चा कमाए/कमाइरहेका छन्, खै त गायक, गीतकार, संगीतकारको चर्चा ? यस्ता धेरै प्रश्नहरू छन् जसका उत्तरहरू शिर निहुराएर बसेका छन् । इन्द्रजीत मिजार सुमधुर स्वरका धनी इन्द्रजीत मिजारलाई भारतको पश्चिम बंगाल जिल्लाको डुवार्समा बस्ने हुनाले उनलाई चर्चित गायक पुस्पन प्रधानले डुवर्स श्री भनेका छन्, उनको एउटा पोस्टमा । डुवर्स श्री त उनी हुन् नै, तर नेपाली संगीत क्षेत्रका एक युग बोकेर हिँड्ने एक जिउँदो इतिहास पनि हुन् । जसको मान सम्मान र संरक्षण उचित समयमा हुनुपर्ने हो । नेपाल तथा दार्जीलिङ, सिक्किम आदि क्षेत्रहरू उनका गीतहरूले नगुन्जिएका होइनन् । देवता, रहर, दर्पणछाया, कोसेली आदि जस्ता चलचित्रका प्राण स्वरूप रहेका उनका गीतहरू आजपर्यन्त सुपरहिट छ । ‘उनले गाएका गीतहरू कायौं पटक गएको छु । बाटो हिँड्दा गएको छु, एक्लै बस्दा गएको छु, बिहेको पार्टीमा नाचेको छु, कारियोकेमा गाएको छु, जे जस्तो अवस्थामा पनि गाएको छु’ भन्नेहरूको संख्यामा म पनि पर्छु । उनका गीतहरू करोडौंले सुनेका छन् । तर सीमित मान्छेले मात्रै उनलाई चिनेका छन्, जानेका छन्, देखेका छन् । उनी आफ्नो चर्चा आफैं गर्दै हिँड्ने मान्छे होइन । उदित नारायण, कुमार सानुहरूसँग हाराहारीमा पुग्नुपर्ने नेपाली जगतका एउटा अब्बल गायक ओझेलमा पर्दा नेपाली गीत सङ्गीत मन पराउनेहरूलाई बहुतै पीडा भइरहेको छ । आखिर किन यति प्रतिभावान् गायक ओझेलमा परे ? उनले आफूलाई जहिले पनि साधारण रूपमा प्रस्तुत गरिरहेका हुन्छन् । अझै पनि गीत गाइरहेका छन् उनी । नयाँ गीतकार संगीतकारका गीतहरू गाउँछन्, नयाँ युवाहरूसँग घुलमिल गरिरहेका हुन्छन् । साथै नेपाली मात्र नभएर हिन्दी तथा बङ्गला गीतहरू पनि गाइरहेका हुन्छन् । उनले कविता कृष्णमुर्ती, आशा भोसलेहरूसँग गीत गाए, उनले गाएका एकल गीतहरूले आकाश छोए, तर खै इन्द्रजीत मिजार कहाँ छन् ? करोडौं दर्शकहरूले हेर्न चाहेका छन्, सुन्न चाहेका छन्, सबैले सुनेका तर कसैले नचिनेका एक अब्बल गायक इन्द्रजीत मिजारलाई । कलकत्ता The post अब्बल गीतहरूका गुमनाम गायक ‘इन्द्रजीत मिजार’ appeared first on साहित्यपोस्ट.