अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ नागरिक पक्राउ - www.pardafas.com
गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरेको अभियोगमा प्रहरीले ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ३३ वर्षीय लिउ पान, ३१ वर्षीय गाओ झिकुन, ४१ वर्षीय लिउ जियानवेइ, ४१ वर्षीय डु शुआङसेङ, ३८ वर्षीय पेंग काङ, ४९ वर्षीय चाइ झिक्सिन र ४२ वर्षीय झाङ हाओ रहेका छन्। अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको प्रहरी टोलीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोग तथा समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२७, ज्याठास्थित लिउ पानले सञ्चालन गरेको रेष्टुरेण्टमा कल बाइपास भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सो क्रममा कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।