चर्चित कार पोलो इलेक्ट्रीकमा तयार, नेपालको लागि राम्रो हुने देखियो - www.meroauto.com
काठमाडौं । युरोपियन जाइन्ट फक्सवागेन ग्रुपले आफ्नो चर्चित ह्याचब्याक कार पोलोको इलेक्ट्रीक मोडल तयार पारेको छ । कम्पनीले युरोपमा सम्पूर्ण करसहित २५ हजार युरोमा बिक्री गर्नेगरी पोलो इलेक्ट्रीक तयार पारेको हो । चिनियाँ उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न निकै कठिन भइरहेको समयमा कम्पनीले आइडी नामबाट पोलो ह्याचब्याक सार्वजनिक गरेको हो । यसको विकास, डिजाइन र उत्पादन युरोपमै भएको कारण राम्रो बजार पाउने फक्सवागेन समूहको अपेक्षा छ । कम्पनीले जनवरीमा यसको ग्लोबल प्रिमियर गर्ने जनाएको छ । अहिले युरोपका विभिन्न भूभागमा यसको सडक परीक्षण चलिरहेको ‘स्पाइ इमेज’हरू बाहिर आएका छन् । फ्रन्ट ह्वील ड्राइभ सिस्टमको साथ बजारमा आउने पोलो ह्याचब्याक कारमा ३७ किलोवाट आवर (प्रयोग गर्न सकिने) लिथियम आइरन फस्फेट ब्याट्री उपलब्ध हुनेछ । कम्पनीले यसमा ८५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिनेछ । कम्पनीले यही ब्याट्रीमा अर्को ९९ किलोवाटको मोटर पनि दिने जनाएको छ । जुन मोटर साइजका हिसाबले नेपाली बजारको लागि पनि पोलो ह्याचब्याक उपयुक्त मोडल बन्ने देखिन्छ । फक्सवागेन पोलो नेपालमा पनि निकै सफल ह्याचब्याक हो । १.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध पोलो ह्याचब्याक राम्रो संख्यामा बिक्री भएको थियो । भारतमा पोलोको उत्पादन बन्द भएसँगै नेपालमा पनि आउन बन्द भएको थियो । इलेक्ट्रीक पोलोले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । ९० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्नेगरी आउन लागेको पोलोलाई ११ किलोवाटसम्मको एसी चार्जरले चार्ज गर्न सकिन्छ । कम्पनीको दाबी मान्ने हो भने डीसी चार्जरले १० देखि ८० प्रतिशत चार्ज गर्न केबल २७ मिनेट लाग्नेछ । जर्मन कार उत्पादकले पोलो इलेक्ट्रीकलाई ‘जीटीआई’ मोडलको रूपमा पनि ल्याउने छ । यसमा १५५ किलोवाटको मोटर र ५२ किलोवाट आवरको निकेल म्याग्निज कोबल्ट (एनएमसी) ब्याट्री प्रयोग गर्नेछ । यसको रेन्ज ४५० किलोमिटरसम्म रहने कम्पनीको भनाइ छ । यसले १३० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्नेछ । यसलाई १० देखि ८० प्रतिशत चार्ज गर्न केबल २३ मिनेट मात्रै लाग्ने बताइएको छ । ‘सेल टु प्याक’ डिजाइनमा तयार भएको ब्याट्री प्रयोग हुने पोलो इलेक्ट्रीकमा ब्याट्री दुई एक्सएलको बीचको फ्लोरमा राखिएको छ । फक्सवागेन ग्रुपले यसलाई ‘मोड्युलर इलेक्ट्रीक ड्राइभ प्लेटफर्म (एमइबी प्लस) को पछिल्लो विकास भनेको छ । फक्सवागेन पोलो इलेक्ट्रीक (आइडी) मोडलमा अगाडि म्याकफर्सनको सस्पेन्सन सेटअप दिएको छ । पछाडि टोर्सन बीम सेटअप छ । चारवटै चक्कामा डिस्क ब्रेक, हाइड्रोलिक र ब्रेक बाय-वायर प्रणाली रहने कार सुरक्षाको हिसावले अब्बल हुनेछ । पोलो इलेक्ट्रीकको लम्बाइ ४०५२ एमएम, चौडाइ १८१६ एमएम र उचाइ १५३० एमएम रहनेछ । यसमा २६०० एमएम लामो ह्वीलबेस रहने भएको कारण निकै लग्जरी यात्रा प्रदान गर्न सक्नेछ । पेट्रोल इन्जिन भएको पोलोको तुलनामा इलेक्ट्रीक मोडल भित्र धेरै फराकिलो हुनेछ । टेक फिचरमा पनि कुनै चिनियाँ कारभन्दा कमजोर नहुने गरी बजारमा आउने पोलोले आफ्नो पेट्रोल कारको सफलतालाई निरन्तरता दिने अनुमान गर्न सकिन्छ । The post चर्चित कार पोलो इलेक्ट्रीकमा तयार, नेपालको लागि राम्रो हुने देखियो appeared first on Meroauto.