मतदाताको विश्वास कहिल्यै घट्न दिनेछैन : बसुन्धरा हुमागाई - kendrabindu.com
मण्डनदेउपुर। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाईले मतदाताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडामा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले विगतमा दुई पटक जनताको प्रतिनिधित्व गर्ने अवसर पाएको स्मरण गरे। त्यस अवधिमा नागरिकको अपेक्षा अनुसार काम गर्ने प्रयास गरेको उल्लेख गर्दै उनले पुनः एकपटक विश्वास गरेर जिम्मेवारी दिन मतदातासँग आग्रह गरे । निर्वाचित भए प्रतिनिधिसभामा काभ्रेपलाञ्चोकको आवाज प्रभावकारी रूपमा उठाउने र मतदाताले दिएको मतको सम्मान हुनेगरी भूमिका निर्वाह गर्ने उनको भनाइ छ। विकास निर्माण, सामाजिक सेवा र नागरिकका आधारभूत आवश्यकताका विषयलाई प्राथमिकतामा राख्ने उनले बताए। हुमागाईले आफू कुनै पक्ष–विपक्षभन्दा माथि उठेर काम गर्ने बताउँदै सबै वर्ग र समुदायलाई समेटेर अघि बढ्ने धारणा राखे। निर्वाचन चिन्ह ‘तारा’ मा मतदान गरी आफूलाई सेवा गर्ने अवसर दिन मतदातासँग अनुरोध गर्दै उनले आगामी दिनमा पनि जनताको साथ र सहयोग रहने अपेक्षा व्यक्त गरे ।