शान्ति श्रीष मगरको ‘युके बस्ने दाइ’ म्युजिक भिडियो सार्वजनिक - sahityapost.com
पोखरा । गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ…’ बोलको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले भिडियो सार्वजनिक गर्दै संगीतमा प्रस्तुत मौलिकपनले नेपाली पहिचानलाई झनै उजिलो बनाएको टिप्पणी गर्नुभयाे । सुरेश राना मगरको रचना तथा सागर आलेको पुरुष आवाज समावेश रहेको उक्त गीतले नेपाली समाज, माया–प्रेम र जनजीवनका स्पन्दनलाई स्पर्श गर्ने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रममा गायिका शान्ति श्रीष मगरले गलकोट, बागलुङबाट पोखरा आइपुग्दासम्मका आफ्नो संघर्षयात्राको भावुक स्मरण गर्नुभयाे । औपचारिक संगीत शिक्षा नभए पनि रेडियोका गीत सुन्दै विकसित भएको रुचिले कहिल्यै साथ नछोडेको उहाँले बताउनुभयाे । केही समय गीत–संगीतबाट टाढिनुपरेको कठिन अवस्थाको उल्लेख गर्दै उहाँले “मनले रुचाएको यात्रालाई कुनै पनि बाधाले रोक्दैन” भन्ने मनोबलले फेरि संगीतमा फर्किएको सुनाउनुभयाे । उहाँका यसअघि फूल जस्तै मेरो जोवन, जूनतारा, गल्छी झरेसि, बसे पर्खेर लगायतका गीत सार्वजनिक भइसकेका छन् । सार्वजनिक भिडियोमा शान्तिसँगै विजय पुन, चाहना राना मगर र आश्विन राना मगरको अभिनय रहेको छ । कार्यक्रम अध्यक्ष अनुराग अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । निर्देशक तथा मोडल विजय पुन, पोखरेली युवा साँस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेललगायत कलाकार तथा साहित्यकर्मीहरूले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गर्नुभएकाे थियाे । The post शान्ति श्रीष मगरको ‘युके बस्ने दाइ’ म्युजिक भिडियो सार्वजनिक appeared first on साहित्यपोस्ट.