सुभद्राहरणम् - sahityapost.com
कृष्णा द्रौपदीसँग एकान्तवासको नियम भङ्ग गरेकाले, वीरवर अर्जुन १२ वर्षका लागि वनवासी बन्न पुगेका थिए । यत्रतत्र घुम्दै जाँदा प्रभासक्षेत्रमा द्वारकाधीश श्रीकृष्णसँग उनको मिलन भयो । श्रीकृष्णले अर्जुनलाई प्रीतिपूर्वक स्वागत सत्कार गर्नुभयो । द्वारकापुरीका हजारौं जनताले धूमधामसँग अर्जुनको अभिनन्दन गरे । राजसी आतिथ्य ग्रहण गरेर अर्जुनले केही दिन त्यहीं बिताए । त्यसै बखत त्यस क्षेत्रको अत्यन्त सुप्रसिद्ध रैवतक नाम गरेको पर्वतमा एउटा भव्य महोत्सव आयोजन गरियो, जहाँ वृष्णिवंशी र अन्धकवंशी जनहरूको ठूलो मेला लागेको थियो । त्यहाँ ब्राह्मणवर्गलाई श्रद्धापूर्वक हजारौं गाई दान गरियो । त्यहाँ अनेकौं रत्नजटित महल र कल्पवृक्षहरू रहेका थिए । अनेकौं+ संगीत महोत्सवहरू पनि त्यहाँ आयोजित गरिएका थिए । सारा जनताहरू दिव्य वस्त्राभूषणले झकिझकाउ भएर उत्सव मनाइरहेका थिए । वृष्णिवंशका प्रतापी राजा उग्रसेन त्यहाँ समुपस्थित थिए । वीरवर प्रद्युम्न, अक्रूर, सारण, गद, बभ्रु, विदूरथ, निशठ, चारुदेष्ण, पृथु, विपृथु, सत्यक, सात्यकि, भंगकर, महारव, कृतवर्मा, उद्धव आदि विख्यात यदुवंशीय वीरहरूको पनि त्यहाँ समुपस्थिति थियो । त्यहाँ स्वयं द्वारकाधीश श्रीकृष्ण आफ्ना प्रियसखा अर्जुनका साथ महोत्सवको आनन्द लिंदै परिभ्रमण गरिरहनुभएको थियो । त्यसै वेला वसुदेवपुत्री सुभद्रा आफ्ना प्रिय सखीहरूका साथ त्यहाँ आइपुगिन् । उनी परमसुन्दरी थिइन् । उनलाई देख्नासाथ अर्जुनलाई मोहनी लागेजस्तो भयो । उनको चित्त कामोद्दीप्त भयो । उनी एकोहोरो सुभद्रालाई नै हेर्न लागे । श्रीकृष्णले अर्जुनको मनोदशा बुझिहाल्नुभयो, अनि मुसुक्क हाँस्दै यसरी जिस्क्याउनुभयोः हे भारत, के हो ? वनवासीको मन पनि कामोन्मत्त भएजस्तो छ नि ? हे कुन्तीनन्दन, यिनी मेरी बहिनी अनि सारणकी सहोदरा बहिनी सुभद्रा हुन्, यिनी पिताजीकी सारै प्यारी छोरी हुन् । यदि तिमीलाई यिनीसँग बिहा गर्न मन छ भने म पिताजीलाई निवेदन गरुँ ? अर्जुनले भनेः स्वयं मान्यवर वसुदेवजीकी छोरी अनि हजुरकी बहिनी सुभद्रा अनुपम सुन्दरी छिन् । यिनलाई देखेपछि कसको मन मुग्ध हुँदैन होला र ? हे सखे, वृष्णिकुलकुमारी सुभद्रा मेरी रानी बनेदेखि त साँच्चिकै मेरो मनोरथ पूर्ण हुने थियो । हे जनार्दन, यिनलाई पाउने उपाय के हो ? मलाई बताउनुहोस्, यिनलाई पाउन जुनसुकै उद्योग पनि गर्न म तैयार छु । श्रीकृष्णले भन्नुभयोः हे नरश्रेष्ठ अर्जुन, क्षत्रियका निम्ति स्वयंवर पनि विवाहको एक प्रकार हो, तर यसको परिणाम सन्दिग्ध हुन्छ किनभने स्त्री स्वभावैले चञ्चल हुन्छन्, स्वयंवरको माला सुभद्राले कसलाई पहिराइदिने हुन् के थाहा ? बलपूर्वक कन्यालाई हरण गर्नु पनि शूरवीरका लागि उत्तम विधि हो भनिएको छ । त्यसैले हे वीरवर, मेरो के राय छ भने तिमी मेरी बहिनीलाई बलपूर्वक हरण गरेर लैजाऊ । यो सबैभन्दा भरपर्दो उपाय हो । श्रीकृष्णका यी वचनलाई शिरोपर गर्दै अर्जुनले दौडिदत्तलाई युधिष्ठिरको राय लिनका निम्ति हस्तिनापुर दौडाए । उता युधिष्ठिरले सुन्नासाथ यस कुरामा स्वीकृति जनाए, भीमसेनले खुशी व्यक्त गरे । यो सबै समाचार लिएर दौडिदत्त आइपुग्यो । अर्जुनले प्रसन्नताका साथ श्रीकृष्णको प्रेरणानुसार नै यो कार्य सम्पन्न गर्ने विषयमा गोप्य योजना बनाए र त्यो दिन रात्रि विश्रामका लागि अतिथिकक्षतिर लागे । भोलिपल्ट विहान श्रीकृष्णको स्वर्णमय रथ सारथि दारुकले तम्तयार गरे । रथ भव्यताका साथ सुसज्जित थियो । त्यसका बीच बीचमा क्षुद्रघण्टिकाहरू जडिएका थिए । त्यसमा शैव्य, सुग्रीव, मेघपुष्प र बलाहक जस्ता उत्तम घोडाहरू जोतिएका थिए । रथका भित्रपटि सकल दिव्यास्त्रहरू सुसज्जित थिए । प्रज्वलित अग्निका समान तेजस्वी त्यो रथ जब दौडन्थ्यो तब मेघ गर्जिएको जस्तो धीरगम्भीर ध्वनिले दशै दिशा घनक्क घन्किन्थ्यो । रथ देख्नासाथ शत्रुगण हतोत्साहित हुन्थ्यो । वीरवीर अर्जुन सुदृढ कवच पहिरिएर, गोहीका छालाको बलियो पञ्जा लगाएको हातमा चमचमाउँदो तरवार लिएर, शिकार खेल्ने बहानाले उक्त रथमा चढेर रैवतक पर्वततिर लम्किए । यता सुभद्रा रैवतक पर्वतमा चढेर सारा देवदेवीहरूको पूजाआजा सम्पन्न गरी फर्किन लाग्दैथिइन् । अर्जुन त्यहीं पुगे र अकस्मात् रथबाट ओर्लिएर विद्युत्–वेगमा सुभद्राका समीप गई बलपूर्वक उनलाई उठाएर रथमा बसाले अनि मुस्काइरहकी प्यारी परमसुन्दरी सुभद्रालाई हरण गरेर द्रुतगतिमा उक्त सुवर्णमय रथलाई आफ्नो नगरतिर हुइँक्याइहाले । यो काम यति चाँडै भयो कि– उनका अगिपछि लागेका सुरक्षा–सैनिकहरूले वस्तुस्थितिको आकलन गरुन्जेलमा अर्जुनले सुभद्रालाई भगाइसकेका थिए । स्वयं द्वारकाधीश श्रीकृष्णका सर्वाधिक सम्मान्य अतिथिले नै यसरी राजकुमारीको हरण गरेपछि उनीहरू हक्का न बक्का भए अनि आत्तिँदै द्वारकापुरीतिर दौडिए । त्यहाँ गएर यो सारा वृत्तान्त बेलिविस्तार लगाए । सुधर्मा सभाका सभापालले अत्यन्त क्रुद्ध हुँदै युद्धका लागि तैयार हुन सम्पूर्ण सैनिक सुरक्षाबललाई सूचित गर्न स्वर्णनिर्मित ठूलो नगरा बजाए । त्यो सुनेर भोज, वृष्णि र अन्धकवंशीय सारा वीरहरू दौडिएर सभागारमा भेला भए । सबै कुरा बुझेपछि अर्जुनप्रति ती सबै परम–क्रुद्ध हुँदै युद्ध गर्न उद्यत भए । त्यहाँ ठूलो कोलाहल उत्पन्न भयो । सबैजना यसरी उत्तेजित हुँदै युद्ध–सन्नद्ध हुन लागेको देखेर बलरामजीले भन्नुभयोः ए मूर्ख हो, तिमीहरू यो के गर्न लाग्दैछौ । श्रीकृष्ण त चूपचाप बसिरहेका छन्, तिमीहरू मात्र हल्ला मच्चाइरहेका छौ । पहिले उनलाई त सोध, उनको विचार के छ ? उनी के भन्छन् ? अनि बल्ल कर्तव्यको निश्चय गर । बलरामका कुरामा सबैले सहमति जनाए । सबै शान्त भएर श्रीकृष्णतिर उन्मुख भए अनि बलरामले भन्नुभयोः हे जनार्दन, यस्तो उत्पात भइसक्दा पनि तिमी किन चूपचाप बसिरहेका छौ ? तिम्रै सन्तुष्टिका लागि हामी सबैले त्यो अर्जुनलाई त्यत्रो स्वागत सत्कार गर्यौं तर त्यो कुलाङ्गार त्यस्तो सत्कारको योग्य त रहेनछ नि । आफूलाई कुलीन भनाउने को त्यस्तो व्यक्ति होला जसले जुन पात्रमा भोजन गर्यो त्यसैलाई फुटाउन लाग्ला ? कस्तो कृतघ्न रहेछ त्यो मान्छे ! त्यसले त हाम्रो अपमान गर्दै, केशवको अनादर गर्दै, आज बलपूर्वक हाम्री प्यारी बहिनी सुभद्राको अपहरण गरेको छ । यो दुस्साहस गर्नुभनेको उसले काल बोलाउनु हो । हे गोविन्द, जसरी सर्पले कसैको लात सहँदैन त्यसैगरी बलरामले पनि यो अपमान सहन सक्दैन । आज म एक्लै गएर यी वसुन्धरालाई कुरुवंशीहरूले विहीन तुल्याउनेछु । सबैले बलरामका कुरामा हो मा हो मिलाएर फेरि हल्ला मच्चाए । सबैलाई शान्त तुल्याउँदै अन्त्यमा श्रीकृष्णले भन्नुभयोM गुडाकेश अर्जुनले यस कुलको कुनै अपमान गरेका छैनन् । बरु सम्मान नै प्रकट गरेका छन् । यसमा कुनै संशय छैन । पाण्डुपुत्र अर्जुनले राम्ररी बुझेका छन् : सात्वतवंशीयहरूले कहिल्यै पनि धनको लोभ गरेका छैनन्, त्यसैले धन दिएर उनीहरूकी कन्यालाई प्राप्त गर्न सकिंदैन । त्यसै गरी अर्जुनलाई यो पनि थाहा छ कि– स्वयंवरमा कन्यालाई प्राप्त गर्न सकिन्छ नै भन्ने कुनै निश्चय हुँदैन, त्यसैले त्यो पनि अग्राह्य छ । भला यस जगत्मा को यस्तो वीर क्षत्रिय होला जो पराक्रमशून्य बनेर कन्यादानको प्रतीक्षा गरेर बसिरहला ? अथवा यस जगत्मा को त्यस्तो अधम होला जो धन लिएर आफ्नी छोरीलाई बेच्ला ? मेरो विश्वास छ– कुन्तीपुत्र अर्जुनले यी सबै कुरा राम्ररी मनन गरेर नै बलपूर्वक कन्याको अपहरण गरेका हुन् । मेरा विचारमा त यो सम्बन्ध अत्यन्त उत्तम छ । वरपक्ष र कन्यापक्ष दुवै कुलीन छन् । हे आर्य, स्वयं भगवान् रुद्रबाहेक यस त्रिजगतीमा आज यस्तो कुनै वीर छैन जसले संग्राममा अर्जुनलाई परास्त गर्न सकोस् । यस बेला अर्जुन मेरै यशस्वी रथमा आरुढ छन्, त्यसमा शैव्य सुग्रीव आदि दिव्य घोडा जोतिएका छन्, स्वयं अर्जुन दिव्यास्त्र चलाउनमा परमकुशल छन् भने उनका अगाडि पर्ने साहस कसले गर्न सक्दछ ? त्यसैले म के भन्छु भने तपाईंहरू प्रसन्नताका साथ दौडँदै गएर अर्जुनलाई भेट्नुहोस् र सान्त्वनाका साथ ससम्मान उनलाई फर्काउनुहोस् । मेरो त यही सम्मति छ । यदि तपाईंहरूले जोरी खोज्नुभयो र अर्जुनले तपाईंहरूलाई बलपूर्वक हराएर आफ्ना नगरतिर लागे भने तपाईंहरूको सारा यशोराशि शतचूर्ण हुनेछ । सम्मानपूर्वक उनलाई फर्काउन सकियो भने मात्र हाम्रो पराजय हुने छैन । श्रीकृष्णका यी युक्तियुक्त वचन सारा सभासद्ले मन्त्रमुग्ध भएर सुने अनि तदनुरूप नै सबै कार्य सम्पन्न भयो । वीरवर अर्जुनलाई ससम्मान द्वारकातिर फर्काइयो । त्यहाँ उनले सुभद्रासँग विधिवत् विवाह गरे र आनन्दपूर्वक दाम्पत्यजीवन व्यतीत गरे । लगभग एक वर्षसम्म उनी द्वारकामा नै रहे । अन्त्यमा उनी पुष्करतीर्थतिर लागे र वनवासको बाँकी अवधि त्यहीं बिताए । विधिपूर्वक १२ वर्षको वनवास पूरा भएपछि उनी आफ्नो राजधानी इन्द्रप्रस्थतिर फर्किए । आफ्ना सम्मान्य पुरोहित धौम्य र आमा कुन्तीका चरणमा प्रणाम गरे । तदनन्तर राजा युधिष्ठिर र दाजु भीमसेनलाई पनि प्रणाम गरे । भाइ नकुल र सहदेवलाई हृदयमा लगाएर स्नेह जनाए । यसरी बाह्र वर्षको वनवासपछि पाण्डवहरूको पुनर्मिलन भयो । सर्वत्र आनन्दको लहर छायो । महारानी कृष्णा द्रौपदीले पहिले त अर्जुनसँग धेरै गुनासो दिइन्, आफूलाई छोडेर गई सुभद्रालाई बिहा गरेकोमा दुःखमनाउ पनि गरिन् । तर पछि अर्जुनले सान्त्वना दिएर क्षमा मागेपछि उनी प्रसन्न भइन् र सुभद्रालाई बहिनीसरह माया गर्न लागिन् । केही समयपछि स्वयं श्रीकृष्ण बलरामका साथ अपार सम्पदा र भव्य कोशेलीपात लिएर इन्द्रप्रस्थ आउनुभयो र महाराज युधिष्ठिरलाई त्यो सबै समर्पित गर्नुभयो । अपार धनधान्य र समृद्धिले सम्पन्न बनेको त्यो राजपरिवार स्वयं द्वारकाधीशलाई आफ्नो सम्बन्धी बनाउन पाएर धन्य बन्यो । तदुपरान्त केही समय केशव पनि त्यहीं सम्मान्य अतिथि बनेर रहनुभयो । …… पञ्चपाण्डवका सन्तान — यथासमय सुभद्राले एक पुत्र जन्माइन् जो अभि : निर्भयता र मन्यु : क्रोधका साथ शत्रुसँग लड्ने भएकाले अभिमन्यु नामले विख्यात बने । समस्त शस्त्रास्त्रको विधिवत् शिक्षा प्राप्त गरेर उनी शूर, पराक्रमी र सकलगुणसम्पन्न सुयोग्य युवक बने । त्यसै गरी पाञ्चाली कृष्णाले पनि युधिष्ठिरादि पाँचै भाइ पाण्डुपुत्रबाट क्रमशः एक एक पुत्र जन्माइन् । ती एक एक वर्षले कान्छा थिए । शत्रुको प्रहारलाई विन्ध्याचलसमान अडिग भएर सहन सक्ने भएकाले जेठो युधिष्ठिर–पुत्रको नाम प्रतिविन्ध्य रह्यो । सहस्र सोमयज्ञ गरेर प्राप्त भएको, सूर्य र सोम समान तेजस्वी भएकाले माइलो भीमसेनपुत्रको नाम सुतसोम रह्यो । अर्जुनले विश्वविश्रुत कर्म सम्पन्न गरेर फर्किएपछि जन्मिएको हुँदा साइँलो अर्जुनपुत्रको नाम श्रुतकर्मा रह्यो । कौरवकुलका सुप्रसिद्ध राजर्षिका नामबाट काइँलो नकुलपुत्रको नाम शतानीक रह्यो, अनि अग्निदेवसम्बन्धी कृत्तिका नक्षत्रमा जन्मिएकाले अग्निदेवकै नामअनुसार कान्छो सहदेवपुत्रको नाम श्रुतसेन रहन गयो । यसरी युधिष्ठिरबाट प्रतिविन्ध्य, भीमसेनबाट सुतसोम, अर्जुनबाट श्रुतकर्मा, नकुलबाट शतानीक र सहदेवबाट श्रुतसेन जन्मिएका थिए । ती सबै उत्तम शिक्षा प्राप्त गरेर सुयोग्य युवा बने । सुयोग्य उत्तराधिकारीहरू तैयार भएको सुखद अनुभूतिले समस्त इन्द्रप्रस्थ दरबार परमहर्षित र आनन्दित बन्यो । …… महाभारत आदिपर्व २१८, २१९ र २२० अध्याय । २०८२ साल ज्येष्ठ ३० गते शुक्रवार, ॐअक्षरालयः । The post सुभद्राहरणम् appeared first on साहित्यपोस्ट.