ऐमालेको मतदान सकियो, खसेन सतप्रतिशत मत - kendrabindu.com
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। भृकुटीमण्डपमा बुधबार बिहान करिब ९ः१५ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब ६ः४५ बजे समाप्त भएको हो। नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि मतदाताका रूपमा सूचीकृत थिए। तर मतदानमा शतप्रतिशत सहभागिता हुन सकेन। निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार जम्मा २ हजार २२७ मत मात्र खसेको छ भने ३६ प्रतिनिधि अनुपस्थित रहे। महाधिवेशन निर्वाचनमा ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको थियो। मतदान सकिएसँगै मतगणनाको तयारी पूरा भएको आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार मतपरिणाम आजै सार्वजनिक गरिनेछ। बिहान ११ बजे भृकुटीमण्डपमै नतिजा घोषणा, निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम तय गरिएको छ। एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। दुवै प्यानलमा नपरेका केही नेताहरूले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।