दलहरूलाई निर्वाचन आयोगले दियो ६४ बुँदे निर्देशन, के गर्न पाइने, के नपाइने ? (पूर्णपाठ) - janatatimes.com
काठमाडौं, फागुन ३ । निर्वाचन आयोगले यही फागुन २१ गते हुने निर्वाचनका सम्बन्धमा राजनीतिक दलहरुलाई ६४ बुँदे निर्देशन दिएको छ । आयोगले आइतबार दलहरूलाई यस्तो निर्देशन दिएको हो । निर्वाचन आयोगले दलहरूलाई निर्वाचन अवधिमा के गर्न हुने र के नगर्ने ? भन्ने विषयमा निर्देशन दिएको छ । ’निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित संघीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पर्याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पर्याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा पार्न नहुने,’ आयोगले दिएको निर्देशनको पहिलो बुँदामा नै भनिएको छ । यस्तै राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि तोकिएको समयमाय मात्रै जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनको लागि घरदैलो कार्यक्रम गर्ने उल्लेख छ । ’निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोजको आयोजना गर्न वा त्यस्तो प्रयोजनको लागि नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न वा सार्वजनिक भोजमा सहभागी हुन नहुने,’ आयोगले निर्देशनमा भनेको छ । यस्तै निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पर्याउने वा खलल पार्ने खालका गतिविधि गर्न नहुने उल्लेख छ । यसैगरी कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्बेष उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने पनि आयोगको निर्देशनमा उल्लेख छ । निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हत्या गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने पनि निर्देशनमा उल्लेख छ । CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90 निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख भए बमोजिम ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रंग र मुद्रकको नामसहितको पर्चा वितरण गर्नबाहेक कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने पनि आयोगको निर्देशनमा उल्लेख छ । ’मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने,’ आयोगको निर्देशनमा भनिएको छ ।