यी हुन् ओली समूहबाट पदाधिकारी उम्मेदवारहरू - www.nepalclicks.com
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारी उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। यसअघि नै ईश्वर पोखरेल समूहले पनि उम्मेदवारहरू टुंगो लगाइसकेको छ। अध्यक्षमा ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्दैछन्। महासचिवमा शंकर पोखरेलको नाम तय भएको छ। यस्तै उपाध्यक्षका लागि विष्णु पौडेल, रामबहादुर थापा बादल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र गुरु बराल प्रतिस्पर्धा गर्नेछन्। उपमहासचिवमा ओली समूहले विष्णु रिमाल, रघुवीर महाशेठ र भानुभक्त ढकाललाई अघि सारेको छ। यस्तै सचिवहरूमा महेश बस्नेत, लेखराज भट्ट, पद्मा अर्याल, शेरधन राई, खगराज अधिकारी, छविलाल विश्वकर्मा, हिक्मत कार्की, राजन भट्टराई र यामलाल कँडेलको नाम टुंगो लागेको स्रोतले जनाएको छ। यता पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे, उपाध्यक्षहरूमा गोकर्ण विष्ट, विन्दा पाण्डे र परशुमेघी गुरुङ, उपमहासचिवमा योगेश भट्टराई तथा सचिवमा गोकुल बाँस्कोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ,विनोद ढकाल, रचना खड्का र इन्द्रलाल सापकोटाले उम्मेदवारी दिने गरी टुंगो लागेको हो। एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी कार्यतालिकाअनुसार मंगलबार मतदान गर्ने कार्यक्रम रहेको छ। निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ। सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध, सुधारको समय तोकिएको छ। १० बजेसम्म कुनै पनि पदमा दाबी गरेको नाममा आएका विरोधमाथि छानबिन गरी निर्णय गर्ने समय तोकिएको छ। आइतबार अध्यक्ष ओलीको प्रस्तावमा ११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गरी पदाधिकारी संख्या १९ जना पुर्याउने निर्णय गरेको थियो। गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गर्ने निर्णय भए पनि अध्यक्षमा ईश्वर पोखरेल समूहले विद्रोह गर्ने भएपछि आफ्ना समूहका नेता व्यवस्थापनका लागि ओलीले पुरानै विधान ब्युँताएका थिए।