हामीलाई प्राप्त साताका पुस्तक - sahityapost.com
पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न छ वटा पुस्तक प्राप्त भएका छन् । ============= १. इन्द्रेणी रंगको सपना – हिमाल ओसिरिस लेखक हिमाल ओसिरिसको पुस्तक हाे ‘इन्द्रेणी रंगको सपना’ । हिमालले पुस्तकमा आफुले देखेको, भोगेको समाजको कुराहरुलाई पुस्तकमा समेटनुभएको छ ।किन हो ? ताराहरूका प्रकाशमान सहरसँग डिभोर्स गरेर आत्माहरू एक्लिएछन् । किन हो ? हिमालका स्वच्छ प्रेमसँग डिभोर्स गरेर हृदयहरू एक्लिएछन् । किन हो ? नदीका सुसाहटपनसँग डिभोर्स गरेर प्राणहरू एक्लिएछन् । किन हो ? पवनका पदछापहरूसँग डिभोर्स गरेर विचारहरू एक्लिएछन् । किन हो ? रंगविरंगका ऋतुहरूसँग डिभोर्स गरेर भावनाहरू एक्लिएछन् । किन हो ? ज्वालामुखीका चन्चलतासँग डिभोर्स गरेर मनहरू एक्लिएछन् । किन हो ? भूमिको न्यानोपनसँग डिभोर्स गरेर शरीरहरू पनि एक्लिएछन् । अनि एक्लिएका यी सब अजीव जीवहरू कसरी कसरी एकै स्थानमा भेला भएछन् । र उनीहरूकै शान्ति वार्ता अनि सम्झौता र सहमतिमा संसर्ग, समागम र संभोगद्वारा उनीहरू अनेकतामा बाँडिएका एक डिक्का भएछन् । र म्यूटेसन भएर थुप्रै थुप्रै अजङ्गका प्राणीहरूमा रूपान्तरित भएछन् । ”यस संग्रहभित्रका रचनाहरू हामी मानिसकै कथाहरू, विचारहरू, भावनाहरू, अभिव्यक्तिहरू हुन् ।” पुस्तकमा हिमाल लेख्नुहुन्छ ”अनि रचनाभित्रका पात्रहरू यदि छन् भने उनीहरू पनि हाम्रै समाजभित्रका पात्रहरू हुन् । ती विभिन्न पात्रहरूलाई कल्पनाको धागोले बुनेर एउटा सुन्दर पोशाक यहाँ पुस्तकको रूपमा सजाएर राखेको छु । ”यस संग्रहभित्रका रचनाहरू कुनै कथा जस्तो, कुनै निबन्ध जस्तो कुनै नियात्रा जस्तो कुनै आत्मकथा जस्तो, कुनै फेरी टेल जस्तो अनि कुनै अन्तरक्रिया जस्तो लाग्न सक्छ । जुनै विधा जस्तो भएपनि आखिर सब विभिन्न पात्रका एउटै भावनाका उपजहरू हुन् । किनकि हरेक आलेखको जन्म हुनु भनेको वास्तवमा भइसकेको, भइरहेको या हुन गइरहेको कुनै पनि घटनाहरूप्रति भावयुक्त अभिव्यक्तिहरू अक्षरहरूमा डिफ्रेगमेन्टिङ्ग हुनु हो । प्रत्येक मानिसका अभिव्यक्तिहरूका सृजना प्राय प्राय भड्किएको भावना, मड्किएको मन, चर्किएको चेतना, हराएको हृदय र रमाएको रहरहरूका समूहगत इम्प्याक्टबाट हुने गर्दछ । अब यस सौगातमय संगालोलाई पाठकहरूका हातमा थमाएको छु । आशा छ । मनैदेखि रूचाइदिनुहुनेछ । ह्याप्पी रिडिङ्ग !!! पुस्तकलाई लेखक स्वयंमले प्रकाशन गर्नुभएको छ । एक सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ । ====================================== २. आवाजका रेखाहरु – ताराप्रसाद चापागाई कवि ताराप्रसाद चापागाईको टुक्का कवितासंग्रह हो ‘आवाजका रेखाहरु’ । चापागाईले दुई हरफको टुक्का कविता मार्फत समाजिक चेतना, विकृति प्रति खबरदारी गर्नुभएको छ ।साहित्यकार चापागाईका टुक्का कविताका थुप्रै संयुक्तसंग्रहहरु भए पनि आवाजका रेखाहरु मैले बुझेसम्म उहाँको दास्रो एकल टुक्का कवितासङ्ग्रह हो । यसअघि उहाँले ‘टुक्का’ दुई हरफका कवितासङ्ग्रहु (२०७८) नामक टुक्का कवितासङ्ग्रह प्रकाशन गरिसक्नुभएको छ, जुन काव्यप्रिय पाठकहरूको मन मनमा बस्न सफल हुनुका साथै टुक्का कविता विधाकै पहिलो पुस्तकरत्न बन्न सफल भएको छ । सरल, मृदुभाषी चापागाईंका सृजनाहरू अत्यन्त सशक्त, सुन्दर, चोटिलो, बोधगम्य हुनुका साथै पाठकलाई पछिसम्म प्रभाव पार्ने खालका हुने गर्दछन् । जुन कुरा यस टुक्का कवितासङ्ग्रहले पनि पुष्टि गर्दछ । तसर्थ म यतिबेला यस कृतिको काव्य रसपान गरेर आफ्नो प्यास मेटाउनु हुन सबै महानुभावहरूमा आग्रह पनि गर्न चाहन्छु। पहिलो टुक्का कवितासङ्ग्रहझै यस सङ्ग्रह पनि सबैको मनमुटुमा बस्न सफल होओस् । साथै समाजमा विद्यमान विकृति, विसङ्गतिहरू हटाउने शस्त्र बनोस् ।” त्यसैगरी पुस्तकमा राजेन्द्र प्रधान ‘पासा’ लेख्नुहुन्छ, ”नेपाली साहित्यमा नयाँ-नयाँ प्रयोग र सिर्जनात्मक अभिव्यक्तिहरूले आफ्नो पहिचान बनाउँदै आएका छन् । तीमध्ये टुक्का कविताले उल्लेखनीय स्थान बनाएको छाटुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंको पहलमा स्थापित ‘टुक्का साहित्य समाज’ र यस विधाका निरन्तर अभ्यासले टुक्का कविता अन्तर्राष्ट्रिय स्तरमा फैलिएको छ। सन् २०२१ मा प्रकाशित ‘टुक्का’ र सन् २०२३ मा सम्पादित ‘ऐतिहासिक टुक्का यात्रा’ उहाँका प्रमुख कृतिहरू हुन् । यी कृतिहरूले चापागाईंलाई कुशल स्रष्टा र सम्पादकका रूपमा स्थापित गरेका छन् । उहाँले प्रस्तुत गरेको दोस्रो कृति ‘आवाजका रेखाहरू’ टुक्का कवितासङ्ग्रहले समाजमा विद्यमान विकृति, विसङ्गति, भ्रष्टाचारजस्ता विषयलाई उजागर गरेको छ ।” पुस्तकलाई टुक्का साहित्य समाज नेपालले प्रकाशन गरेको हो । ९६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ । ==================================== ३. मनोलय – जयप्रसाद पाण्डे कवि जयप्रसाद पाण्डेको कविता संग्रह हो ‘मनोलय’ । पाण्डेले ‘मनोलय’मा माटो प्रति समर्पित भएर कविता लेख्नुभएको छ । ”प्रस्तुत मनोलयको बारेमा उहाँले कुरा उठाएको धेरै भयो ।” पुस्तकमा प्रा.डा गोविन्दराज भट्टराई लेख्नुहुन्छ, यी कविता कविले आफ्नो जीवनको पूर्वार्द्ध कालमा वनारस बस्दा रचेका हुन् । अधिकांश रचना चालीस पचास वर्ष अघि भएका हुन् र ती दिनको रचना-भूमि वनारस हो । वनारस बस्नु प्रवासी जीवन भोग्नु जस्तै थियो । हामीले पनि पछि केही वर्ष वनारसमा व्यतीत गयौं । मदेशदेखिका घ्यू चामल, अभावका पैसा खेप्यौं । तर त्यो थोरै छोटो कालावधि थियो । विद्याभ्यासपछि फर्किन्छौं भन्ने थियो त्यसैले घरको सम्झनाले बारम्बार छोपे पनि म टाढा अन्य भूमिमा नफिर्ने गरी परित्यक्त छु, उपायहीन भन्ने उत्पन्न हुँदैन थियो । २०२६ सालदेखि त नेपाली राजनीतिका शीर्ष व्यक्तित्वहरू पनि ठूलो संख्यामा निर्वासित भई वनारसमै कठोर काल व्यतीत गर्न थाले । त्यो भन्दा पहिले विद्या आर्जन, शिक्षा, प्रकाशन, श्रम, कल्पवास अनेक उद्देश्यले हजारौ नेपाली यहाँ बस्ने एक केन्द्र थियो । बिस्तारै मानिसमा स्वदेशको प्रेम राष्ट्रियताको भावना मातृभूमिको माया भरिन थाल्यो । उता अर्काको भूमिभित्रको त्यो विशाल महानगरीमा कहिल्यै आफ्नोपन अनुभव गर्न नसकिने रहेछ भन्ने भयो र सबै फर्क, सकिए या विलीन भए। अब त नगण्य छन् । तिनै व्यग्रताले भरिएका दिनमा स्वदेश प्रेमको भावनाहरू जाग्रत भएको दिनमा रचित यी रचना मातृ वन्दनाका कोमल गीत हुन् । अहिले नयाँ समालोचना शास्त्रले आफ्नो मूल उत्पत्ति भूमि छोडेर अन्य मुलुक छरिने नागरिकलाई ‘डायास्पोरा’ भन्दछन् । शब्दकोषले भन्छस् एउटा मौलिक (मातृ देशबाट निस्केर अन्य भूमि) मा बसोबास गर्ने नागरिकलाई ‘डायास्पोरा’ भनिन्छ ।” पुस्तकलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले प्रकाशन गरेको हो । एक सय चार ओटा कविता समेटिएको पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ । =================================== ४. काव्य कलश – अमृता रसाइली रामदाम कवि अमृता रसाइलीको रामदामको टुक्का कविता संग्रह हो ‘काव्य कलश’ । रसाइलीले कविता मार्फत प्रेमभाव, सामाजिक विकृति, न्याय प्रणाली प्रति आक्रोश व्यक्त गर्नुभएको छ । ”काव्यका विविध विधाहरू मध्ये टुक्का कविता, नेपाली साहित्यको मौलिक सम्पदा हो ।” पुस्तकमा ताराप्रसाद चापागाईँ लेख्नुहुन्छ, ”छोटो संरचनामा गहिरो सन्देश दिन सक्ने टुक्का कविता अहिलेको द्रुत गतिमा चलिरहेको डिजिटल युगमा विशेष सान्दर्भिक बन्न पुगेको छ। दुई हरफमा पूर्ण अर्थ र प्रभाव प्रस्तुत गर्नु सृजनात्मकता र शिल्पको समुन्नत उदाहरण हो । यसरी सीमित शब्दमा गहन विचार, व्यङग्य, दर्शन वा भावना प्रस्तुत गर्नु गम्भीर अभ्यास, भाषिक सघनता र छन्दशास्त्रीय अनुशासनबिना सम्भव छैन । यसै प्रसङ्गमा चितवन निवासी साहित्यकार अमृता रामदामद्वारा सृजित टुक्का कविता सङ्ग्रह ‘काव्यकलश’ टुक्का कविताको इतिहासमा नारी सर्जकले छन्दमा सिर्जना गरेको पहिलो टुक्का कवितासङ्ग्रह हुनुको साथै नेपाली काव्यधारामा स्वागतयोग्य एवं उल्लेखनीय योगदानका रूपमा प्रस्तुत भएको छ । यस सङ्ग्रहमा समेटिएका पाँच सय त्रियानब्बे वटा टुक्का कविताहरू सामाजिक सन्देश बोकेका, मानवीय संवेदना समेटेका र कलात्मक सौन्दर्यले युक्त छन ।” त्यसैगरी पुस्तकमा कवि अमृता लेख्नुहुन्छ, ”जीवन सङ्घर्षका उतारचढाव हुँदै गर्दा म सानैदेखि भावनासँग खेल्दै गर्दा साहित्यमा रुचि भएकोले होला, जन्मघर र कर्मघरको समाजको ऐनामा हेर्दा मनमा उठेका बहस र तर्कहरूले कलमसँग मित्रता बनायो म सानैदेखि तीजका गीत लेख्ने गर्थे । पछि ठाँउ ठाउँमा तीजगीत प्रतियोगितामा पुरस्कार लिन सफल भएकोले अझै लेख्न प्रेरणा मिल्यो नेपाली साहित्यकार विश्व सञ्जालमा पुगें । त्यहाँ अभ्यासको क्रममा चारु विधाको खण्डित इन्द्रेणी चारु सङ्ग्रह प्रकाशन गरेर विश्वमा प्रथम चारुकार बन्न सफल भएँ । त्यही अभ्यासका टुक्का कविता साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईं गुरु मार्फत् फेरि टुक्का कविता लेख्न थालें। मलाई नयाँ विधामा सृजना लेख्न मन पर्ने हुँदा टुक्का कविता छोटाे छरितो सहज लाग्ने हुँदा टुक्का छन्दमा सङ्ग्रह प्रकाशन गर्न सफल भएँ।” पुस्तकलाई टुक्का साहित्य समाजले प्रकाशन गरेको हो । ९३ ओटा टुक्का कविता संग्रहित पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ । =================================== ५. अनुभव र अनुभूुति – इ.चिरञ्जीवी ढुङ्गाना लेखक इ. चिरञ्जीवी ढुङ्गाना निबन्ध संग्रह हो ‘अनुभव र अनुभूति’ । लेखकले पुस्तकमा विभिन्न देशमा यात्रा गर्दाको यात्रा अनुभवहरु,जागीरे जीवनमा संगालेको अनुभवहरु लेख्नुभएको छ ।”लेखक ढुङ्गानाको यस कृतिको खण्ड एकमा जीवनी र अध्ययनका बारेमा केन्द्रित निबन्धहरू रहेका छन् ।” पुस्तकमा चुडामणि काफ्ले लेख्नुहुन्छ, ”त्यसै गरी स्वदेश तथा विदेशयात्राका सन्दर्भहरू रहेका छन् । लेखक ढुङ्गाना तीन वर्ष नेपालमा र छ वर्ष तत्कालीन सोभियत संघमा अध्ययन गरी इन्जिनियरिङ विषयमा स्नातकोत्तर तह समुत्तीर्ण हुनुभयो । अध्ययन पूरा गरी सन् १९९२ मा स्वदेश फर्केर उहाँ तीन दशकसम्म विभिन्न निर्माणकम्पनीसँग आबद्ध भई विकास निर्माणका क्षेत्रमा क्रियाशील हुनुभयो । सिन्धुपाल्चोक जिल्लाबाट अध्ययनका लागि सोभियत संघ पुग्ने उहाँ पहिलो युवक हुनुहुन्थ्यो । उहाँले सोभियत संघको अन्तरराष्ट्रिय यात्रा शीर्षकको यात्रानिबन्धमा यस यात्राको रोचक बयान गर्नुभएको छ। उहाँले मस्को, कियभ, ओडेसा, जर्जियाको तिब्लिसी, सेन्ट पिटरवर्ग, बेलारुस जस्ता तत्कालीन सोभियत संघका सहरहरूको मनमोहक वर्णन गर्नुभएको छ । त्यसै गरी जर्मनी ,बर्लिन, फ्राडफोर्ट, फ्रान्स (प्यारिस), बेल्जियम, पोल्यान्ड, लग्जेम्बर्ग, नेदरल्यान्ड, स्पेन, स्विट्जल्यान्ड (जेनेभा) जस्ता युरोपका अन्य मुलुकहरूमा आफूले गरेको भ्रमणको सन्दर्भ प्रस्तुत गर्नुभएको छ । उहाँको यात्रा यत्तिमै टुङ्गिएको छैन । उहाँले सन् २०११, २०२१ र २०२३ मा अमेरिका यात्राको रमाइलो वर्णन पनि गर्नुभएको छ। अमेरिका यात्राको क्रममा उहाँले वासिङ्टन डिसी, न्युयोर्क, नर्थ क्यारोलाइना, नियाग्रा फल्स, बाल्टिमोर, फिलाडेल्फिया आदि क्षेत्रको यात्रानुभव सँगाल्नुभएको अभिव्यक्ति दिनुभएको छ।” त्यसैगरी पुस्तकमा आशा ढुग्ङाना लेख्नुहुन्छ, ‘अनुभव र अनुभूति’ जीवनको विभिन्न मोड, संघर्ष, र अनुभवहरूको संग्रह हो । लेखकले आफ्नो जीवनका यात्रा र अनुभूतिहरूलाई यस पुस्तकमा उतारेका छन्, जहाँ हरेक क्षणले गहिरो कथा बोल्छ । म पनि यस जीवन यात्रा र संघर्षको एउटा साक्षी बनेको छु, र लेखकसँग लामो समयदेखि यस यात्रामा सहभागी हुन पाउँदा गौरवान्वित छु । यस पुस्तकमा समेटिएका लेखहरू लेखकको जीवनका महत्वपूर्ण क्षणहरू हुन्, जहाँ हरेक पानामा तत्कालीन यथार्थ र जीवनका उतारचढावको चित्रण पाइन्छ। ती क्षणहरू, जो कठिन थिए, आज ती चलचित्रझै सरल र प्रेरणादायक लाग्छन् । हरेक घटनालाई पाठकसामु जीवित राख्न लेखकको अथक प्रयासले पुस्तकलाई अझै गहिरो बनाएको छ ।” पुस्तकलाई आशा ढुग्ङानाले प्रकाशन गर्नुभएको हो । एक सय ३३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ । =========================== ६. नरेन्द्रबहादुर श्रेष्ठ आलेख र अभिलेख –( प्र. स) प्रमोद प्रधान सर्जक नरेन्द्रबहादुर श्रेष्ठको बारेमा लेखिएको आलेखहरुको संग्रह हो ‘नरेन्द्रबहादुर श्रेष्ठ आलेख र अभिलेख’ । पुस्तकमा विभिन्न सर्जकहरुले श्रेष्ठको बारेमा लेख्नुभएको आलेखहरुलाई प्रमोद प्रधानले सम्पादन गर्नुभएको छ ।संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठको ‘जङ्कुको अवसर पारेर नरेन्द्रबहादुर श्रेष्ठ आलेख र अभिलेख पुस्तक प्रकाशन गरिएको छ । श्रेष्ठ बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । साहित्य सिर्जना, सम्पादन, चित्रकला, मूर्तिकला, जराकला, समाजसेवाका अलावा संघ(संस्थामा श्रेष्ठले पुऱ्याएको योगदानको पुस्तकमा चर्चा गरिएको छ । नरेन्द्रबहादुर श्रेष्ठ नेपाली साहित्य र कलाका क्षेत्रमा सुपरिचित नाम हो । विगत पाँच दशक लामो यात्रामा श्रेष्ठले काव्य सिर्जना, गीत रचना, चित्रकला, जराकला र मूर्तिकलाका माध्यमबाट यथेष्ट योगदान पुऱ्याउनु भएको छ । यस कृतिको प्रकाशनका माध्यमबाट उहाँको योगदानलाई थप उजागर गर्न पाउँदा खुशी लागेको छ । साथै साहित्यिक पत्रकार संघलाई विश्वास र भरोसा गरेर यो कृति प्रकाशनको जिम्मेवारी दिनुभएकोमा सर्जक श्रेष्ठप्रति हार्दिक आभार व्यक्त गर्छु । विचारका दृष्टिले स्वतन्त्र सर्जक नरेन्द्र देश, जनता, स्वतन्त्रता, मानवता, प्रजातन्त्रका लागि लेख्नुहुन्छ । विकास र समृद्धिको लागि सोच्नुहुन्छ । सिर्जनामा आफ्नै मौलिकता रहेको नरेन्द्र विशेषतः जरा कलाकार भनेर चिनिनुहुन्छ । आजभन्दा एक दशकअघि नरेन्द्रबहादुर श्रेष्ठको ‘दृष्टिकोण’ जरामा अर्थ खोज्दै कला प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा १० दिनसम्म भएको थियो भने उहाँका जराकलामा आधारित रहेर ३५ जना कविहरूले कविता सिर्जना गरेका थिए । कविता प्रेमालाप हिन्दी र बाला भाषामा समेत अनुवाद भएको छ । त्यसो त उहाँको ‘सीताहरण’ कलाबारे कान्तिपुरमा आएको विशेष प्रस्तुति ‘सिंहदरबारमा रावण भेटियो’ले तत्कालीन माओवादी जनयुद्धको अवस्थामा विशेष चर्चा पाएको थियो । कलासम्बन्धी कुनै औपचारिक शिक्षा नपाएका नरेन्द्र आफ्नै सीप, जाँगर र मेहनतले सिर्जनामा लाग्नुभएको हो । पुस्तकलाई साहित्यिक पत्रकार संघले बजारमा ल्याएको हो । पुस्तक चार सय ७२ पृष्ठमा फैलिएको छ । The post हामीलाई प्राप्त साताका पुस्तक appeared first on साहित्यपोस्ट.