प्रधानमन्त्रीले भने- समावेशीता कुनै कामको कुरा होइन - nagariknews.nagariknetwork.com
प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीताको अवधारणालाई लिएर विवादास्पद टिप्पणी गरेका छन्। उनले समावेशीताको सिद्धान्त प्राविधिक र विशेषज्ञता चाहिने क्षेत्रमा लागू नहुने बताउँदै यसलाई केवल राजनीतिक पदमा प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यमका रूपमा मात्रै बुझ्नुपर्ने तर्क गरे।आइतबार पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको पुस्तक ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन ईतिहास’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले समावेशीताको वर्तमान अभ्यास र बुझाइमाथि प्रश्न उठाएका हुन्।उनले भने, ‘यो समावेशीता भनेको पोलिटिकल पदमा पुग्नका लागि मात्रै हो, कुनै कामको कुरा होइन यो।’ आफ्नो तर्कलाई थप स्पष्ट पार्दै उनले प्रश्न गरे, ‘समावेशीताबाट डाक्टर हुन्छ र ? इन्जिनियर हुन्छ समावेशीताबाट ? त्यसकारण यो समावेशीता भनेको पोलिटिकल पदमा पुग्नका लागि हो, कुनै कामको कुरा होइन।’प्रधानमन्त्री ओलीले आरक्षण वा कोटा प्रणालीभन्दा क्षमता अभिवृद्धि र सशक्तीकरणमा जोड दिनुपर्ने धारणा राखे। उनका अनुसार, महिला वा पछाडि परेका समुदायलाई साँच्चिकै माथि उठाउने हो भने उनीहरूलाई शिक्षा, स्वास्थ्य र सीप दिएर प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ, न कि पदहरूमा आरक्षण मात्र।आफ्नो भनाइलाई पुष्टि गर्न उनले अन्तर्राष्ट्रिय उदाहरणसमेत प्रस्तुत गरे। ‘मैले कोस्टारिका हेरेँ, त्यहाँको वार्तामा १० जनामा ८ जना महिला थिए। क्युबामा डाक्टर र प्रोफेसरहरूको ठूलो प्रतिशत महिला छन्,’ उनले भने, ‘त्यो कुनै इन्क्लुसिभ (समावेशी) व्यवस्था गरेर होइन, उनीहरूलाई ‘इम्पावर’ (सशक्त) गरेर हो। हामीले क्षमता अभिवृद्धिमा जोड दिनुपर्छ।’