Redirecting...

जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले भने, ‘विभागको लक्ष्य पुरा गर्नेगरी काम गरौँ’ - bankingsamachar.com

जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले भने, ‘विभागको लक्ष्य पुरा गर्नेगरी काम गरौँ’ - bankingsamachar.com
Source: bkns

काठमाडौं – जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले पद बहाली गरेका छन् । ३० औँ महानिर्देशकका रूपमा उनले आज विभागमा पद बहाली गरेका हुन् । नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इन्जिनियरको रूपमा जागिरे जीवन सुरु गरेका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ देखि सेवा सुरु गरेका थिए । विभाग मातहतका ठुला–ठुला सिँचाइ आयोजनामा कामको अनुभव बटुलिसकेको उनी जलस्रोत तथा सिँचाइ क्षेत्रका अनुभवी र विज्ञको रूपमा चिनिन्छन् । उनले यो क्षेत्रमा ३१ वर्ष बढीको अनुभव सँगालेका छन् । पद बहाली गर्नु अघि सिँचाइ तथा जलस्रोत विभागमा नवनियुक्त महानिर्देशक बराल र नायब महानिर्देशक दिनेश रजौरियालाई विभागमा औपचारिक स्वागत तथा निवर्तमान महानिर्देशक सञ्जीव बराललाई बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो । स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त महानिर्देशक बरालले विभाग मातहतका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए । ‘हामीसँग पर्याप्त पुँजी छ, दक्ष छौँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, त्यसैगरी प्रोजेक्टलाई छिटो सम्पन्न गर्ने हामीसँग एडभान्स टेक्नोलोजी छ ।’ महानिर्देशक बरालले भने– ‘यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्ने बाहेक कुनै बहानाबाजीमा छुट हुने छैन ।’ विभागको लक्ष्य पुरा गर्न र मातहतका आयोजना समयमै सम्पन्न गर्दै परिणाम देखिने गरी काम गर्न मन्त्रालयको स्पष्ट निर्देशन र अपेक्षा रहेको सुनाउँदै उनले त्यसलाई पूर्णता दिन तल्लो तहका कर्मचारीदेखि उच्च पदमा रहेर काम गर्ने कर्मचारीहरू समेत जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे । ‘टिम इफोर्ट’ विना कुनै पनि काम सफल नहुने भन्दै उनले टिमको स्प्रिटमै रहेर सबैले अहोरात्र खटिनु पर्नेमा जोड दिए । आफ्नो कार्यकालमा देशभरका थुप्रै आयोजनामा गरेका अनुभव र जिम्मेवारीको महत्त्व प्रकाश पार्दै उनले उपत्यका बाहिर जिम्मेवारी लिएर जाँदा आफू ९ वर्षमा काठमाडौं आएर विभागमा पाइला टेकेको अनुभव सुनाए । हामी अहिले आर्थिक वर्षको सुरुवातमा भएकाले ‘टिम स्प्रिट’ मिलाएर काम गर्दा असम्भव केही नहुने भन्दै महानिर्देशक बरालले यसरी काम गर्दा विभागको उद्देश्य अनि लक्ष्य पनि पुरा हुने र परिणाम देखिने गरी काम गर्न मन्त्रालयको निर्देशन र अपेक्षालाई पुरा गर्न सकिने बताए । आर्थिक वर्ष सुरुवाती महिनाको आधा समय गुज्रँदा समेत विभाग मातहतका आयोजनाका दुई वटा मात्रै टेन्डर आएको भन्दै हामी सर्व सम्पन्न भइसकेपछि अड्कलेर काम नगर्न कर्मचारीहरूलाई अनुरोध गरे । राष्ट्रिय गौर बका आयोजनालाई सधैभरी ‘आयोजनामै मात्रै सीमित’ नराखी त्यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादनमा उनको जोड थियो । त्यसैगरी तराईमा सिँचाइ अभावले खेतीयोग्य जमिन बाँझै रहेको उल्लेख गर्दै महानिर्देशक बरालले तराईमा सिँचाइको समस्यालाई फास्ट ट्र्याक र दीर्घकालीन गरी दुई चरणमा काम गर्न सकिने बताए । विभागमा ६०१ जनाको दरबन्दी रहेको भन्दै उनले विभागका उद्देश्य र लक्ष्य पुरा गर्न सबै जिम्मेवारी हुनुपर्ने धारणा राखे । एकीकृत जलश्रोत व्यवस्थापनको माध्यमबाट सन्तुलित, स्थिर तथा दिगो आर्थिक विकास हासिल गर्ने र दिगो एवं भरपर्दो संरचनागत तथा गैर संरचनागत प्रविधि र जनचेतना अभिवृद्धि लगायतका कार्यहरू गरी जलाधार व्यवस्थापन तथा जल उत्पन्न प्रकोप न्यूनीकरण एवं व्यवस्थापनबाट आर्थिक सामाजिक हानि नोक्सानी न्यूनीकरण गर्ने विभागको लक्ष्य सुनाउँदै उनले जलश्रोत तथा सिँचाइ संरचनाहरूको उचित विकास, मर्मत सम्भार तथा व्यवस्थापन गरी कृषियोग्य भूमिमा वर्षै भरी दिगो एवं भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गरी गरिबी निवारणमा टेवा पुर्याउने दायित्व विभागको रहेको बताए । कार्यक्रममा निवर्तमान महानिर्देशक सञ्जीव बरालले विभागले सिँचाइ बुझेको नयाँ महानिर्देशक पाएकोमा खुसी व्यक्त गरे । विभागबाट बिदाइ हुँदै गर्दा समेत निवर्तमान महानिर्देशक बरालले अब कुनै पनि आयोजनालाई बजेटलगायत कुनै पनि अभाव देखाएर कामबाट उम्कने छुट नभएको सुनाए । आफ्नो कार्यकालमा पनि त्यही स्प्रिटका साथ काम गरे गराएको उनको भनाई थियो । आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैप्रति उनेले आभार प्रकट गरे । स्वागत तथा बिदाइ कार्यक्रममा विभागका उपमहानिर्देशक सन्तोष कैनीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन विभागका मूख्य प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा सह–सचिवहरू, आयोजना प्रमुखहरू, उच्च पदस्थ कर्मचारीहरूलगायत उल्लेख्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।