मन्त्रिपरिषद्को निर्णयबाटै एमसीसी परियोजनामा आवद्ध कम्पनीहरूलाई आयकर छुट - bishwokhabar.com
काठमाडौं– नेपाल सरकारले एमसीसी कम्प्याक्टअन्तर्गत एमसीए–नेपालमार्फत कार्यरत निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालु आर्थिक वर्ष २०८२/०८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साउन १८ गतेको निर्णय अनुसार अर्थ मन्त्रालयले राजपत्रमार्फत सूचना प्रकाशित गरेको हो । आर्थिक ऐन, २०८२ को दफा १८(१) अनुसार गरिएको यस निर्णयअनुसार, नेपालमा शाखा वा स्थायी संस्थापनका रूपमा दर्ता भई एमसीसी फन्डिङ (नेपाल सरकारको योगदानसहित) बाट आम्दानी गर्ने कम्पनीहरूले यो वर्ष आयकर तिर्नुपर्ने छैन । अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार ऐनले सरकारले विशेष परियोजना वा निकायका लागि कर छुटको व्यवस्था गर्न सक्ने अधिकार दिएको छ । यस निर्णयबाट एमसीसीअन्तर्गतका ट्रान्समिसन लाइन र सडक सुधारजस्ता ठूला पूर्वाधार आयोजनामा संलग्न कम्पनीहरूलाई प्रत्यक्ष लाभ पुग्ने र परियोजनाको गति बढ्ने अपेक्षा गरिएको छ ।