Redirecting...

नेपाल ट्रस्ट जग्गा प्रकरण : यतीलाई दरबारमार्गमा जग्गा, ओलीका पिएलाई बालकोटमा घर - www.pardafas.com

नेपाल ट्रस्ट जग्गा प्रकरण : यतीलाई दरबारमार्गमा जग्गा, ओलीका पिएलाई बालकोटमा घर - www.pardafas.com
Source: pfds

यती समूहको थामसेर्कु ट्रेकिङलाई दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीका पिए राजेश बज्राचार्य पनि संलग्न देखिएका छन् । बालकोटस्थित रोजभिलेज हाउजिङभित्रको झन्डै चार आना जग्गामा बनेको अढाईतले घर उनले यती समूहबाटै लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा देखिएको छ । पदीय दुरुपयोग गरी सो घर ‘घुसबापत’ लिएको हुन सक्ने भन्दै सीआईबीले भ्रष्टाचारमा थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । सीआईबीले दरबारमार्गको जग्गा लिज हिनामिनासम्बन्धी अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा लैजाने अन्तिम तयारी गरेको छ । सिआइबीले सो मुद्दामा नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की तथा सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरी सूक्ष्म र विस्तृत अनुसन्धान गरेको थियो । यसक्रममा राजनीतिक संलग्नताको तथ्यहरू भेटाएको हो । रोजभिलेज हाउजिङको ए–२४ नम्बरको घर सात वर्षअघि तारा एयरबाट राजेशकी श्रीमती रश्मि शाक्यको नाममा पास भएको थियो । राजेश दुई वर्षयता त्यही घरमा बस्दै आएका छन् । घर राजीनामा पास गर्दा त्यसको भुक्तानीसमेत नभेटिएको भन्दै सीआईबीले भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्न अख्तियारलाई सिफारिस गरेको छ । त्यतिवेला ओली प्रधानमन्त्री थिए भने राजेश उनका स्वकीय सचिव भएकाले पनि सिआइबीले यसमा छुट्टै छानबिनको आवश्यकता देखेको हो । सीआईबीले तत्कालीन सचिव र सहसचिवसहित थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पालाई मुद्दा चलाउन सिफारिस गरेको छ । त्यस्तै, यती समूहकै तारा एयरबाट घर पास गरेर लिने रश्मि शाक्य र राजेश बज्राचार्यको हकमा भ्रष्टाचार मुद्दा आकर्षित हुन सक्ने भन्दै सोहीअनुसार राय दिएको छ । उच्चपदस्थ जोडिएपछि यस विषयमा जिल्ला सरकारी वकिल कार्यालयले महान्यायाधिवक्ता कार्यालयसँग समेत छलफल गरिरहेको छ । सरकारी वकिल कार्यालय स्रोतका अनुसार १ साउन ०७५ मा तारा एयरलाइन्सको भक्तपुर रोजभिजेलमा रहेको १७५३ नम्बर कित्ताको जग्गा रश्मि शाक्यको नाममा पास भएको छ । १२३।२० वर्गमिटर ९करिब चार आना० क्षेत्रफलको जग्गा र त्यसमा रहेको साढे दुई तला घर ९६ लाख रुपैयाँमा खरिद–बिक्री भएको जिल्ला मालपोत कार्यालय, भक्तपुरको अभिलेखमा उल्लेख छ । त्यही समयमा यती समूहका कम्पनीले नेपाल ट्रस्टका जग्गाको लिज ठेक्का पाएको, उनीहरूबिच निकटस्था देखिएको र खरिदमा कुनै आर्थिक लेनदेन नदेखिएकाले सो रकम घुस नै भएको सीआईबीको निष्कर्ष छ । त्यसमा अनुसन्धान गर्ने आफ्नो अधिकार क्षेत्र नभएको भन्दै सीआईबीले देखिएका–भेटिएका तथ्यसहित अख्तियारमार्फत छानबिन गर्न राय दिएको हो । सीआईबीले सो अवधिदेखि हालसम्मको तारा एयरलाइन्सको १५ वटा बैंक खाताको विवरण मगाएर अनुसन्धान गरेको थियो । साथै, राजेश र रश्मिको पनि बैंक स्टेटमेन्ट अध्ययन गरेको थियो । तर, सो जग्गा खरिदमा तारा एयर र बज्राचार्यको परिवारबिच कुनै लेनदेन नदेखिएको अनुसन्धानमा आबद्ध सीआईबीका एक अधिकारी बताउँछन् । जबकि घरजग्गाको कारोबार गर्दा अनिवार्य रूपमा बैंकिङ कारोबार गरी मालपोत कार्यालयमा त्यसको रसिदसमेत बुझाउनुपर्ने नियम छ । तर, बज्राचार्यदम्पती र तारा एयरको कुनै पनि खातामा घरजग्गा कारोबारबापत लेनदेन भएको छैन । त्यतिवेला सरकारकै पहलमा यतीलाई नेपाल ट्रस्टको विभिन्न स्थानमा रहेका जग्गा नियम मिचेर लिजमा दिनु र त्यही समयमा सोही कम्पनीको नाममा रहेको जग्गा प्रधानमन्त्रीकै पिएले लिनु र त्यसमा आर्थिक लेनदेनसमेत नभएको आधारमा यो घुस भएको निष्कर्ष सीआईबीका अधिकारीको छ । नयाँपत्रिका दैनिकमा समाचार छ ।