साफ क्लब महिला च्याम्पियनसिप : शीर्ष स्थानमा उक्लियो एपीएफ - ehimalayatimes.com
काठमाडौं । रश्मिकुमारी घिसिङको निर्णायक गोलमा घरेलु मैदानमा जारी साफ क्लब च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै नेपालको एपीएफ फुटबल क्लब फाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबार भएको राउन्ड रोबिनको आफ्नो तेस्रो खेलमा पाकिस्तानको कराँची सिटी एफसीलाई एक-शुन्य गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनल नजिक पुगेको हो । एपीएफका लागि खेलको ५१औँ मिनेटमा रश्मीले हेडर गोल गर्नुभयो । उहाँले रेनुका नगरकोटेको क्रसमा हेडर गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । त्यसपछि खेलको ५७औँ मिनेटमा मिना देउवाको प्रहार पहिलो बार नजिकबाट बाहिरिँदा अग्रता दोब्बर पार्ने मौका एपीएफले गुमायो । ६६औँ मिनेटमा रश्मीकै प्रहार पहिलो बारको नजिकबाट बाहिरिएको थियो । खेलको ७०औँ मिनेटमा निशा थोकरको लामो प्रहार गोलकिपरले उत्कृष्ट बचाउ गर्नुभयो । त्यसअघि १७औँ मिनेटमा कराँचीकी लउरेन्स ब्यारीको प्रहार क्रसबारमाथिबाट बाहिरियो । च्याम्पियनसिपमा दुई जित र एक खेलमा बराबरी गरेको एपीएफ सात अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । एपीएफले अन्तिम खेलमा बुधबार भारतको इस्ट बंगालसँग प्रतिस्पर्धा गर्नेछ ।