बम काण्डमा पार्टी उपाध्यक्ष पक्राउ परेपछि हर्कले भने– प्रतिशोध हो भने विरोध हुन्छ - nagariknews.nagariknetwork.com
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले विष्फोटक पदार्थसम्बन्धी कसुरमा आफ्नो पार्टीका उपाध्यक्ष पक्राउ परेको घटनाप्रति प्रतिक्रिया जनाएका छन्।उनले यदि यो पक्राउ प्रतिशोधपूर्ण हो भने त्यसको सशक्त विरोध हुने चेतावनी दिएका छन्।पार्टीका उपाध्यक्षसमेत रहेका कुमार भनिने राजकुमार तामाङ (लामा) लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंबाट पक्राउ गरेपछि मंगलबार साँझ सामाजिक सञ्जालमार्फत साम्पाङले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।उनले अनुसन्धानमा दोषी ठहरिए पार्टीले संरक्षण नगर्ने तर निर्दोषलाई फसाउन खोजिएको भए सह्य नहुने स्पष्ट पारेका छन्।साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्- ‘हाम्रो उपाध्यक्ष दोषी ठहर हुन्छ भने हामी बचाऊको प्रयास गर्ने छैनौँ तर निर्दोष हुन् भने अन्याय र प्रतिशोधको विरोध हुनेनै छ ! जय माटो ! जय देश !’के हो घटना ?सिआइबीको टोलीले मंगलबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनबाट तामाङलाई पक्राउ गरेको हो। उनी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष हुन्।गत २०८१ भदौ १४ गते पाँचथरमा भएको बम विष्फोटको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो।उक्त विष्फोटमा परी एक बालिकाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। सोही घटनामा पाँचथरमा उजुरी परेको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार लामालाई आवश्यक कानुनी कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको छ।पक्राउ परेका लामाको आपराधिक पृष्ठभूमि पुरानै रहेको खुलेको छ। उनी यसअघि २०६८ सालमा काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विष्फोट गराउने घटनामा संलग्न थिए।उक्त विष्फोटमा मानबहादुर तामाङसहित तीन जनाको मृत्यु भएको थियो भने अन्य व्यक्तिहरू घाइते भएका थिए।कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई जेल परेका लामा वि.सं. २०७६ सालको प्रजातन्त्र दिवसमा आममाफी पाएर जेलमुक्त भएका व्यक्ति हुन्।