गोल्याण ग्रुपको अध्यक्षमा अक्षय गोल्याण नियुक्त, ६ दशकको विरासतलाई नयाँ पुस्ताको नेतृत्व - www.pardafas.com
नेपालको प्रतिष्ठित तथा अग्रणी व्यावसायिक घराना गोल्याण ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण चयन भएका छन्। विगत नौ वर्षदेखि ग्रुपका प्रबन्ध निर्देशकका रूपमा कार्यरत रहेका अक्षयले अब ६ दशकभन्दा लामो व्यावसायिक विरासत बोकेको समूहको समग्र नेतृत्व सम्हाल्ने भएका छन्। उनको नियुक्तिलाई गोल्याण ग्रुपभित्र पुस्तान्तरणसँगै रणनीतिक निरन्तरता र आधुनिक नेतृत्वको सुरुवातका रूपमा हेरिएको छ। ग्रुपले आफ्नो वार्षिक उत्सवको अवसर पारेर शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सञ्चालक समितिका उपाध्यक्ष बासुदेव गोल्याणले औपचारिक रूपमा अक्षय गोल्याणलाई अध्यक्ष तथा प्रबन्ध निर्देशकको जिम्मेवारी सुम्पिएको घोषणा गरेका हुन्। कार्यकारी अधिकारसहित बोर्ड नेतृत्व एकै स्थानमा केन्द्रित गरिँदा ग्रुपको विकास, विस्तार र अन्तर्राष्ट्रिय उपस्थिति अझ प्रभावकारी हुने विश्वास गरिएको विज्ञप्तिमा उल्लेख छ। अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै अक्षय गोल्याणले आफूलाई यो पद सम्हाल्न पाउँदा अत्यन्त सम्मानित महसुस भएको बताए। उनले सञ्चालक समितिप्रति विश्वास र समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै भने, ‘यो जिम्मेवारी स्वीकार गर्नु मेरो लागि ठूलो सम्मान हो। बोर्ड अफ डाइरेक्टर्सले देखाउनुभएको भरोसाप्रति म आभारी छु।’ संस्थापक अध्यक्ष तथा आफ्ना पिता पवन गोल्याणबाट नेतृत्वको बागडोर सम्हाल्नु अत्यन्त अर्थपूर्ण क्षण भएको उल्लेख गर्दै उनले करिब ४५ वर्षसम्म ग्रुपलाई नेतृत्व प्रदान गरेका संस्थापकको योगदानलाई स्मरण गरे। ‘६५ वर्षभन्दा लामो विरासत बोकेको संस्थालाई आजको अवस्थामा पुर्याउनु उहाँको दूरदृष्टि र नेपालप्रतिको अटुट प्रतिबद्धताको परिणाम हो,’ अक्षयले भने। संस्थापक अध्यक्ष पवन गोल्याण अब ‘अध्यक्ष एमरिटस’ तथा प्रमुख संरक्षकको भूमिकामा रहनेछन्। उनी अब विशेषगरी नेपालको कृषि रूपान्तरण र दिगो विकासका अभियानमा केन्द्रित हुने ग्रुपले जनाएको छ। सञ्चालक समितिले नेपालको अर्थतन्त्र र उद्योग विकासमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरेको हो। नवनियुक्त अध्यक्ष गोल्याणले ग्रुपभित्र स्थापित मूल्य, इमान्दारिता र सेवाभावलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘यो केवल पदभार ग्रहण होइन, यो एउटा विरासतलाई आधुनिक युगअनुसार विकसित गर्ने जिम्मेवारी हो,उनले भने, गोल्याण ग्रुपलाई अब नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी संस्थाको रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ।’ उनले भविष्यको रणनीति स्पष्ट पार्दै जनशक्तिको सशक्तीकरण, दिगो आर्थिक तथा वातावरणीय प्रभाव र विश्वव्यापी विस्तारलाई प्राथमिकतामा राखिने बताए। ‘हामी केवल विस्तार गर्ने होइनौं, हामी रूपान्तरण गर्नेछौं—नवप्रवर्तनशील, चुस्त र विश्वस्तरीय गोल्याण ग्रुप निर्माण गर्नेछौं,’ उनले जोड दिए। अक्षय गोल्याणले स्पेनको प्रतिष्ठित ESADE विश्वविद्यालयबाट व्यवसाय अध्ययनमा स्नातकोत्तर गरेका छन्। अध्ययन पश्चात् उनी नौ वर्षदेखि ग्रुपका प्रबन्ध निर्देशकका रूपमा कार्यरत रहँदै उत्पादन, ऊर्जा, कृषि, हस्पिटालिटी र अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित कम्पनीहरूलाई प्रत्यक्ष नेतृत्व प्रदान गर्दै आएका छन्। हाल गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि तथा हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूहका रूपमा स्थापित छ। करिब १० हजार कर्मचारी कार्यरत ग्रुपको उपस्थिति ६० भन्दा बढी अन्तर्राष्ट्रिय बजारमा फैलिएको छ। वार्षिक कारोबार ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको ग्रुपले नेपालको आर्थिक आत्मनिर्भरतामा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। युवा नेतृत्वको उदयले ग्रुपको विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ हुने र नेपालको आर्थिक समृद्धिमा थप टेवा पुग्ने विश्वास उद्योग क्षेत्रले गरेको छ।