एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड-२०८१ - ehimalayatimes.com
पोखरा । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड-२०८१ मा खो-खोको महिला र पुरुष टिमले ‘टिम अफ दी इयर’ अवार्ड जितेको छ । बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा खो-खोको टिम वर्षको उत्कृष्ट खेल टिम बनेको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने अवार्ड कुल ११ विधामा प्रदान गरिएको थियो । यस्तै, क्रिकेटकी पूजा महतोले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्नुभएको छ । वर्ष युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ हुनुहुन्थ्यो । समारोहमा तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित गरिएको थियो । अवार्ड समारोहमा गुरुङ स्पेसल व्यक्तित्व बन्नुभएको हो । तेक्वान्दो खेलमा सबैभन्दा माथिल्लो र अन्तिम उपाधि मानिने नौ डान प्राप्त गरेर गुरुङले यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास रच्नुभएको थियो । यस्तै, बंगलादेशका मोहम्मद हसन उल्लाह खानले एसियन स्पोट्र्स जर्नलिष्टको अवार्ड जित्नुभयो । करिब तीन दशक लामो व्यावसायिक करियरका साथ खेल पत्रकार मोहम्मद हसन उल्लाह खान, जो लोकप्रिय रूपमा राना हसन नामले चिनिनुहुन्छ । समारोहमा पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । सन् २०२४ मा पेरिसमा भएको पारा ओलम्पिकमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले कांश्य जित्दा नेगी प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो । उत्कृष्ट प्रशिक्षकको मनोनयमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराँते), महेश रिजाल (क्रिकेट), लक्ष्मीनारायण वैद्य (खोखो) र दीपक महर्जन (बक्सिङ) नोमिनेशनमा पर्नुभएको थियो । यस्तै, एथ्लेटिक्सकी प्रभा आङदेम्बेलाई उत्कृष्ट पारा एथ्लेटको अवार्ड प्राप्त गर्नुभयो । प्रभाले गत फागुनमा भारतको नयाँदिल्लीमा भएको विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जित्नुभएको थियो । त्यस्तै, भलिबलका हिमाल सुनारी पिपल्स च्वाइस अवार्ड जित्नुभएको छ । अवार्ड समारोहमा हिमालले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्दै उक्त अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । खेलकुदप्रेमीको मतका आधारमा चयन हुने यो विधाका विजेता हिमालले सर्वाधिक ४०.१० प्रतिशत मत ल्याउनुभएको थियो । यस वर्ष पिपल्स च्वाइसमा मनोनयनमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली र भलिबल खेलाडी हिमाल सुनारी हुनुहुन्थ्यो । क्रिकेटका अलराउन्डर दीपेन्द्र वर्षको उत्कृष्ट खेलाडीक्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुनुभएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य रहनुभएका दीपेन्द्रले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्दै उक्त अवार्ड चुम्नुभएको हो । उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा दीपेन्द्रसँगै कुशल भुर्तेल (क्रिकेट), जनक चन्द (खोखो), स्यान्टु श्रेष्ठ (टेबलटेनिस) र विजय सिन्जाली (उसु) हुनुहुन्थ्यो । करातेकी एरिका गुरुङ उत्कृष्ट महिला खेलाडीकरातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट महिला खेलाडी बन्नुभएको छ । एरिकाले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्दे उक्त अवार्ड चुम्नुभएको हो । यो विधाको मनोनयनमा एरिकासँगै मानमती धामी (खोखो), एलिसा रास्कोटीमगर (कराँते), रेखा पौडेल (फुटबल) र सलिना श्रेष्ठ (भलिबल) हुनुहुन्थ्यो । एरिका लगातार दोस्रो वर्ष एनएसजेएफ पल्सर स्पोट्र्सको महिलातर्फ उत्कृष्ट खेलाडी चुनिनुभएको हो । पलेशा ‘ट्रेलब्लेजर अफ दी इयर’पारा तेक्वान्दोकी पलेशा गोवर्धन ‘ट्रेलब्लेजर अफ दी इयर’ घोषित हुनुभयो । अवार्ड समारोहमा पारा खेलबाट विश्वमा नेपालको नाम फैलाएको गौरवसहित मञ्चले यो अवार्डबाट पलेशालाई सम्मानित गरेको हो । रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्डएनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड-२०८१ मा नेपाली एथलेटिक्सको जग बसाउनुभएका प्रशिक्षक खड्ग रानाभाट लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित हुनुभएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो उपलब्धि भनेको सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरको ऐतिहासिक प्रदर्शन हो । म्याराथनमा मानन्धरले दुई घण्टा १५ मिनेट तीन सेकेन्डको कीर्तिमान बनाउनुभएको थियो, जुन हालसम्म तोडिएको छैन । त्यस प्रतियोगितामा सहभागी नेपाली टिमका प्रशिक्षक हुनुहुन्थ्यो, रानाभाट । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा हो, लाइफ टाइफ एचिभमेन्ट अवार्ड ।