साजबोटेको कोठाबाट उठेको मानवताको प्रश्न - ehimalayatimes.com
हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१६ स्थित साजबोटे पुग्दा जोकोहीको मन भारी हुन्छ । त्यहाँ भेटिन्छन् दाजुभाइ—विश्व लो तामाङ र सुकराम लो तामाङ । जसको जीवनसंघर्ष शब्दमा बयान गर्न कठिन छ । दुःखबाहेक अरु केही छैन । उनीहरुको कोठाले हरेक समुदायलाई एउटा गहिरो प्रश्न सोधिरहेको देखिन्छ–के हामी यस देशका नागरिक होइनौं ? दाउराले बारेर बनाइएको एककोठे घर, तीन वटा ढुंगाले बनाइएको चुल्हो, पकाउने २ वटा भाँडा, एउटा पुरानो म्याट र केही सामान्य लत्ताकपडा । यी हुन् उनीहरुको सम्पूर्ण सम्पत्ति । पुस महिनाको कठ्यांग्र्रिने चिसोमा पनि आधा शरीरमात्र ढाकेर उनीहरु दिन काटिरहेका छन् । विहान–साँझ छिमेकीले दिएको खानेकुरामै हातमुख जोर्न बाध्य छन् । दाजु विश्व काम गर्नसक्ने समयसम्म भाइको पनि गुजारा चलाउँदै आएका थिए । तर, करिब एक वर्षअघि अचानक पूर्णरुपमा अशक्त भएपछि उनी ओच्छ्यानमै थलिएका छन् । हातखुट्टा चल्दैन, उठ्न सक्ने अवस्था छैन । दाजुको यस्तो अवस्थापछि भाइ सुकराम सकिनसकी दाजुको स्याहारसुसारमा जुटिरहेका छन् । सुकराम स्वयम् वौद्धिक अशक्त भएका व्यक्ति हुन् । एउटा आँखा गुमिसकेको, बोली अस्पष्ट भए पनि दाजुप्रतिको जिम्मेवारीबाट उनी कहिल्यै पछि हटेका छैनन् । विडम्बना के भने, दुवै जना अशक्तता भएको अवस्थामा हुँदाहुँदै पनि हालसम्म उनीहरुले अपांगता परिचयपत्रसमेत पाउन सकेका छैनन् । राज्यका कुनै सेवासुबिधाको अनुभूति नगरी उनीहरुको जीवन बितिरहेको छ । सार्वजनिक सेवा त परको कुरा, आधारभुत मानवीय सहायतासमेत उनीहरुका लागि दुर्लभ बनेको छ । हाल भने केही आशाको किरण देखिएको छ । हेटौंडा उपमहानगरपालिका–१६ नम्बर वडा कार्यालयबाट दुवै दाजुभाइको अपांगत परिचयपत्र बनाउने प्रक्रिया अगाडि बढिसकेको छ । सोही क्रममा हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको नेतृत्वमा टोली उनीहरुको घरमै पुगेर अनुगमन गरेको छ । उनीहरुको स्वास्थ्य उपचारमा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । २०२९ सालमा जन्मिएका विश्व जीवनको ऊर्जाशील उमेरमै थलिएका छन् । उनको आँखामा बाँकी जीवन सहज र सम्मानजनक होस् भन्ने मौन चाहना झल्किन्छ । यो कथा केवल साजबोटेका दुई दाजुभाइको मात्र होइन, समाजको नजरबाट ओझेल परेका सयौं पीडितको प्रतिनिधि कथा हो ।