दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ: प्रधानमन्त्री ओली - bankingsamachar.com
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विगत दुई आम निर्वाचनमा कुनै धन र बल प्रयोग नगरी स्वच्छताका साथ जनताले सर्वाधिक मत दिएर जितेको बताएका छन् । सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत: नेपालको निर्वाचन इतिहास’ पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली भन्नुभयो, ‘विगत दुई वटा चुनावमा सर्वाधिक मत ल्याएर जितेको सांसद मै हुँ। कुनै प्रकारको अनफेयर चिज नगरी कतै बुथ कब्जा नगरी, कसैलाई धम्की नदिई, कुनै अनुचित क्रियाकलाप नगरी एकदम स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ। न बल प्रयोग न धन प्रयोग, धन र बल प्रयोगबिना जितेको हुँ। रिस उठेर गाली गलौज गर्नु बेग्लै कुरा हो त्यो।’ प्रधानमन्त्री ओलीले २०४८ सालको निर्वाचनमा पैसा खर्च नगरी विजयी भएको स्मरण गराए । त्यतिबेला पार्टीले निर्वाचन क्षेत्र झापा जान जम्मा दुई सय दिएको, त्यसमा पनि २० रुपैयाँ बचत गरेको उनले बताए ।