Redirecting...

टपरीमा भत्तेर - sahityapost.com

टपरीमा भत्तेर - sahityapost.com
Source: shpt

“त्यो हवाईजहाज उडेर कहाँ जाँदैछ होला ? के छ होला त्यो भित्र ? के त्यो जहाज हाम्ले बनाउने गरेको कागजको जहाज जस्तै सानै होला त भुइँमा बस्दा पनि?” जिज्ञासाको सागर फैलिन्थ्यो । “त्यो हवाईजहाजभित्र थुप्रै मान्छेहरू बस्छन् देश विदेश जान निक्लेकाहरू । त्यो त भयंकर ठुलो घरजत्रै हुन्छ भुइँमा बसेका बेलामा । तर, त्यो जति जति माथी जान्छ त्यत्ति सानो देखिन्छ ।” कल्पनाले भरिएको भुरे उत्तर मिलाउँथ्यो । “धत् लाटा हो, कहाँको सानो हुनु त्यो । त्यो त ठूलो हुन्छ घरभन्दा पनि ठुलो । गौचरनमा अड्याएको हुन्छ तिनीहरूलाई । हाम्ले पशुपति जाँदा सधैँ देख्छौँ ।” काकाहरूको उत्तर हुन्थ्यो जिज्ञासा निवारणको खातिर । बस, मनोहरा फाँटको किनारामा अवस्थित ठूलो खोपको डाँडोको टुप्पोमा बसेर आकाशमा उडिरहेको हवाईजहाजलाई हेर्दै गरिने फुच्चे उमेरका कल्पनाहरू थिए यी सबै । त्यो भन्दा पनि रमाइलो त तब हुन्थ्यो जब हामी, “आर्मीको जहाजले मान्छे खसाल्यो” भन्दै साँझको झम्के अँध्यारोमै गाँउबाट बेँसीको मनोहरा फाँटतिर दौडँदै झर्ने गर्थ्यौं । आर्मी जहाजले फुतुफुतु झार्दै जान्थ्यो च्याउको जस्तो छाता ओढेका साना साना मान्छेहरू जो भुइँमा आइपुग्दा बा काकाहरू जत्रै देखिन्थे । भर्खरै प्याराजम्पको तालिम गरेर भुइँमा झरेको कुनै सैनिकले आफ्नो प्याराजम्प गरेको छाता लगायतका सामानहरू तान्दै गरेको दृश्य हाम्रा लागि रमाइलो थियो । भक्तपुरको सुकुलढोकाको बजार नै अर्कै फरक संसारझैँ लाग्ने त्यो उमेर र त्यो समयमा हवाइजहाजको दर्शन र कल्पना हाम्रो काँठे बाल्यकालमा एक प्रकारले रमाइलोको एक फरक अवतार थियो । मैले पहिलो पटक पातालको देश अमेरिकाको न्युयोर्क शहरको साँघुरा सडकहरूमा हिँड्दै गर्दा बाल्यकालको सुकुलढोकाको बजार सम्झिएँ भन्दा मान्छेहरूले गफ दियो भन्लान् । यद्यपि अनुभूति हो आ-आफ्नै धरातलको । त्यो समयको सुकुलढोकाको बजारको नरिवल र पुष्टकारी एकैपटक क्वाप्पै पारेपछि जन्मिने स्वाद थोरैले बिर्सेका होलान् । त्यो त्यस्तो स्वाद थियो जसलाई संसारका कुनै पनि मेनुले जित्लान् भन्ने मलाई लाग्दैन । अनि मैले कहाँ भेट्न सकौँला त्यो अवसर अमेरिकाकै न्युयोर्क शहरमा पनि । त्यसो त आजकै सुकुलढोकामा पनि भेटिँदैन ती पूराना स्वादहरू । आए गए । कहाँ पुगियो, के खाइयो भन्दा पनि के र कस्ता अनुभूतिहरू बटुलियो त्यो महत्त्वपूर्ण कुरा हो भन्ने लाग्छ मलाई । सुख दु:ख, हाँसो ठटृा, आशा निराशा र कल्पना विनाको जीवन के जीवन । दु:खले सिकाउछ मान्छेलाई लड्दा कसरी आफैँ उठ्ने भनेर । शायद सुखमा लड्नेले आफूलाई उठाउन अर्कै मान्छे खोज्छ होला । सुख एउटा अनुभूति हो केवल सन्तुष्टि जनाउने । दु:ख एउटा ज्ञान हो उठ्ने कसरी भनेर सिक्नका लागि । समग्रमा यी सबै जीवनका लय पनि हुन् जुन विभिन्न व्यक्तिको जीवनमा आ-आफ्नै तरिकाले प्रेषित भएका हुन्छन् । हाम्रो काँठ पनि यी सबै सवालहरूले नै बनेको हो । त्यसपछि कुरा आउँछ, “रमाइलो” को । रमाइलो विनाको जीवनको के अर्थ ? यद्यपि रमाइलो भनेको के हो र यो जोकोहीले कसरी र कहिले महसुस गर्न सक्छ भन्ने कुरा फरक छ हरेक मान्छेहरूका लागि । रमाइलोकै कुरा गर्दा काँठमा आयोजना हुने विभिन्न नामका भोज भत्तेरहरू पनि एक थिए । हरेक भोज भत्तेरहरूको आ-आफ्नै मौलिक विशेषता थियो । मेरो पुस्तालेसम्म त्यो पनि बाल्यकालमै देख्यो भन्ठान्छु रात राख्दै बरियात लैजाने चलन । म कुरा गर्दैछु काँठमा चलेको आजभन्दा साँढे चार, पाँच दशक पहिलेको सामाजिक चलन । बा, हजुरबा, काकाहरूको औँला समातेर जन्ती जान शुरु गर्थ्यौं हामी भुरा पाटी । सानो छँदा कमिज सुरुवाल (वा पाइन्ट) र स्विटर (हिँउदको समयमा) लगाएर जन्ती जान्थ्यौँ । ज्याकेटको चलन आइसकेको थिएन, कोट लगाउने हैसियत नै थिएन । अलि ठूलो भएपछि हिलवाला जुत्ता र बेलिबटन पाइन्टसम्मको पहिरनमा झिल्के बनेर पनि जन्ती गैयो । जन्ती जाने क्रममा कैयौँ सडक र गोरेटा हिँडियो, डाँडा पाखा चढियो । तिनताका यातायातको सुविधा थिएन जन्तीलाई । गाडी रिजर्भ गरेर जन्ती लैजाने चलनै थिएन । हिँडाएरै लैजान्थे । कम खर्चमा बिहे सम्पन्न हुन्थे । आजको जस्तो जग्गाजमिन नै बेचेर बिहे गरेको भन्ने मैले सुनेको छैन । त्यसो त त्यो बेलाका मान्छेहरू अहिलेको जस्तो उत्पातै धनी पनि हुँदैनथे । अलि धेरै उब्जाउनेहरूले अलि बढी खर्च गर्नु स्वभाविक हो । कृषिमा आधारित त थियो समाज । थोरै थिए जागिरे । एकपटक एकजना ट्र्क व्यावसायीको घरमा जन्ती गइएथ्यो । बेहुलीका पिता धनी छन् रे, सात गाउँ जन्ती लेराए पनि मज्जैले स्वागत गर्छु भनेका छन् रे भन्ने हल्ला फैलियो । बेहुलीका पिताले आफ्नै तीन चारवटा ट्र्कहरू पठाइदिएका थिए जन्ती लैजानका लागि । तीन गाउँ नै बोलाएका छन् रे बेहुलाको दाज्युले जन्ती लैजानका लागि भनेर पनि हल्ला फैलिएको थियो । ट्र्र्कमै भरिभराउ भएर गैयो जन्ती । बेहुलीको बाउले पनि मज्जैले स्वागत गरे जन्तीको । खानपिनमा कुनै कसर छोडेनन् । त्यसको निकैपछि मात्रै ५१ जना जन्तीको नियम आएको थियो । आजभोली हुने खाने र धनीमानीहरूले बँदेलको सेकुवा, सिँगै खसीको सेकुवा, म:म: आदि थपेका हुन्छन् भोजमा । बाँकी उस्तै उस्तै हो हरेक पार्टी प्यालेसहरूमा, दाल, भात, रोटी, नान, तरकारी अचार र मासु । एकाध बाहेक काँठका धनीहरू अझैसम्म होटेलमै चाहिँ पसिसकेका छैनन् भोज आयोजना गर्नका लागि । जग्गै बेचेर छोराछोरीको बिहे गर्नेहरूले होटेलमा भोज आयोजना गरेको देखिँदैन । त्यसो त विदेशमा केही वर्ष जमेका र मज्जैले कमाएका वर वा वधुले भने आजभोलि होटेलमै भोज दिन थालेको पनि देखिन्छ । तर उतिबेला हुने खानेले दिने थप खानेकुरा भनेको तरकारीका थप परिकार, जुलेबी, रसबरी लगायतका ताजा मिठाइहरू हुन्थ्यो । जन्तीले मज्जैको खसी पाउँथे भोलिपल्टको जन्तीबाख्रोको भोजका लागि । बेहुलाको घरबाट अलि ढिलै अन्माउँथे रात राख्दै लैजाने बरियात । सामान्यतया साँझमा पुग्थ्यो बरियात पन्चेबाजा घन्काउँदै बेहुलीको आँगनमा । बेहुलीको घर आँगनलाई मयन्टोल बालेर उज्यालो बनाइसकेको हुन्थ्यो बरियात पुग्दा । डोली वा उलिनकाठमा चढेको हुन्थ्यो बेहुलो गमक्क परेर । घर गाउँले दौडँदै पुग्थे बेहुलोको रूप रंग हेर्नका खातिर । भोलिपल्ट त्यही डोलीमा बेहुलीलाई चढाएपछि बेहुलो पनि जन्ती जस्तै हिँड्नेमा पर्थ्यो । दही, च्युरा, फुरनदाना, तरकारी, अचार लगायतको स्थानीय खानाले नै स्वागत गर्थे जन्तीलाई । एउटा एउटा सेल रोटी र एक दुइटा कसारको डल्ला पनि हालिदिन्थे टपरीमा । कतैकतै त एउटा एउटा जेरीले मुख गुलियो बनाउन पनि पाइन्थ्यो । खानेकुराहरू सालको पातले गाँसेको टपरीमा हालेर बाँडिन्थ्यो । कागजका प्लेटहरू जन्मिसकेका थिएनन् हाम्रो काँठतिर । आँगनमा लस्करै दुईचार लाइन बसालेर जन्तीलाई सामुहिक रूपमा खुवाउने चलन थियो । बिजुली बत्ती पुगेको थिएन धेरै गाउँघरमा । मयन्टोलको उज्यालोले रातमै घाम छरेको आभास हुन्थ्यो । दुइटा मयन्टोल भयो भने त गाउँ नै झलमल्ल हुन्थ्यो । विवाह घरको माहोल निकै रमाइलो हुन्थ्यो । घरगाउँले र जन्तीको फर्याक फुरुकले विवाह घरको आँगन व्यस्त हुन्थ्यो । रातैभरी विवाहका विभिन्न कार्यक्रम चलिरहन्थे । बेहुलो, बेहुली, तिनका परिवार र पुरोहित बाहेक अरू जन्ती भने पेट तातो बनाएपछि ओल्टेकोल्टे लागेर निदाउने जोहो गर्थे । जन्ती गएको स्थानमा आफन्त नातेदार भएकाहरू आफन्तको दैलो उघार्न पुग्थे भने अरू चाहिँ बेहुलीकै घरमा जे बन्दोबस्त हुन्छ त्यसैमा लस्करै पल्टिन्थे । समूहमा त्यसरी पल्टिँदा र अनेक गफको तालमा आँखा चिम्लिँदा कुन बेला निदाइन्थ्यो पत्तै नहुने । एकपटक एकजना दाइको जन्ती मच्छेगाउँ गएका थियौँ । बिहे घरमा खानेकुरा खाइसकेपछि रातिको समयमा काकाको साथीको घरमा सुत्न भनेर गएको तर निरन्तरको लुरे झरी र अँधेरी रातको हिलो बाटोमा भोगेको दु:ख सम्झिदा म अहिले पनि झस्किन्छु । बाटोमा बेस्सरी सास्ती पाइए पनि ओछ्यान भेटृाएपछि भने निकै मस्तको निन्द्रा निदाइएथ्यो । काँठका गाउँमा पिच बाटोको कल्पनै गर्न सकिँदैनथ्यो । ती बाटा पनि केही फराकिलो बने भने हाइवेकै आभास मिल्थ्यो । मुस्किलले देखिन्थे ट्र्र्कहरू काँठ पसेका । पसलेहरू पसलका सामान धोक्रामा बोकेर लेराउँथे भरिया लगाएर उता नगरतिरका ठूला पसलहरूदेखि । बाटोमा साइकल नै गुडाउन पाउँदा पनि राजा आनन्द मिल्थ्यो । एकाध मान्छेका घरमा साइकल हुन्थ्यो तर सबैसँग हुँदैनथ्यो । रातभरि हराएका र छरिएका जन्ती भोलिपल्ट बिहान बिहे घरस्थित गाउँका चिया पसलमा टुप्लुकिन्थे । राम्रैसँग सुत्न पाएका त फुर्तीले निक्लिन्थे । बाँकी आँगन, पिँढी, मझेरी र फलैँचामा लड्नेहरू भने गलित भएर देखिन्थे । गाउँमा बिहेबारी हुँदा चिया पसलेहरूको व्यावसायलाई पनि फाइदा पुग्थ्यो । जन्तीलाई चिया, चुरोट, सुपारी इत्यादि बेच्न पाउनु पनि आर्थिक पाटोको एउटा पक्ष थियो । एक थरी पाका उमेरका जन्ती, “जन्तीबाख्रो” भत्तेरको व्यवस्था गर्नतिर खटिसकेका हुन्थे उपयुक्त स्थानको छनौट गरेर । यो भत्तेर जन्तीका लागि जन्तीले नै तैयार गरेर बाँड्थे । बाहुन जन्ती भान्सामा चुल्हे चम्कोको रेखदेख गर्न थाल्थे । पकाउने र बाँड्ने काम बाहुन जन्तीको हुन्थ्यो । अरू जातका जन्ती भने भाँडा र सामानहरूको जोहो र तैयारीतिर लाग्थे । खासगरी नजिकै पानीको सुविधा भएको चौर, पाखो वा पाटो बारीमा तैयारी गरिन्थ्यो त्यस प्रकारको भत्तेर । बेहुली पक्षले चामल, दाल, तरकारी, खसी र आवश्यक दाउराहरू उपलब्ध गराउँथे । सामानहरू उपलब्ध हुने बित्तिकै ठूला ठूला खड्कुलामा भत्तेर पकाउने तैयारी शुरु हुन्थ्यो । कोही खसी काट्ने, भुत्ल्याउने र मासु बनाउनेतिर लाग्थे । कोही चामल भिजाउने, तरकारीहरू काटकुट गर्नेतिर लाग्थे । कोही पानी ओसार्थे । बाहुन बाजेहरू धोतीमात्रै पहिरिएर भान्सा पस्थे । भत्तेर पाकिसकेपछि बाहुन भान्से र बाहुन जन्तीले पहिले खान्थे । उनीहरूले खाइसकेपछि अरूलाई बसाएर उनीहरूले नै बाँड्थे । उनीहरूले खानेकुराहरू बाँड्न लिएर आएको भाँडो र भान्सेहरूलाई अरू जातका मान्छेले छुन मनाही थियो । अन्यथा भान्सा नै छोएको मानिन्थ्यो । “जन्तीबाख्रो” भत्तेर सालको पातले गाँसेको टपरीमा खाइन्थ्यो चौर वा बारीको पाटोमा लस्करै बसेर । “जन्तीबाख्रो” खाइसक्दासम्म उता बेहुलीको घरको आँगनमा पुरोहितद्वारा विवाह पद्धति पनि समापन भैसकेको हुन्थ्यो । ५ वटा बाँसका लामा लिंगाहरू गाडेर जग्गे गाडिएको हुन्थ्यो बेहुला बेहुलीको घरको आँगनमा । बेहुली लिएर जन्ती बेहुलाको घर फर्किँदा साँझ झरिसकेको हुन्थ्यो । बेहुला पक्षले पनि बेहुली भित्र्याएको भोलिपल्ट आफन्त, छिमेकी, जन्ती, पाहुना सबै समेटेर भत्तेर खुवाउने चलन थियो । त्यसलाई “बहुभत्तेर” भनेर नामाकरण गरिएको थियो । बारीका ठूला पाटामा भान्सा तैयार गर्थे ब्राह्मण जातका गाउँलेहरूले जन्तीबाख्रो जस्तै गरी । भान्साको नियम एउटै थियो । त्यो भान्सामा पस्नका लागि पनि अरू जातकालाई अनुमति थिएन । बाहिरबाटै सहयोग गर्नेमै सीमित थियो । टपरीकै प्रयोग हुन्थ्यो खानका लागि । स्थान पनि बारीको पाटो नै हुने गर्थ्यो । पछि गएर रात बस्दै बरियात लैजाने चलन छोटिृएर एक दिने कार्यक्रम बन्यो विवाहको । बेहुलो पक्षले बिहान बरियात लिएर जाने र साँझसम्ममा बेहुली लिएर फर्किने । दाल भातका भत्तेरहरू परिवर्तन भएर पुलाव तरकारीतिर लागे । घिउ हालेपछि चोख्खिन्छ रे वा चोखो हुन्छ भनेपछि पुलाव पकाउनका लागि बाहुन नै चाहिने भएन । पकाउने सीप भएका क्षेत्रीहरू पनि भान्सा पस्न पाउने भए । बेहुली पक्षले पुलाव तरकारीले स्वागत गर्थे जन्ती र पाहुनालाई । बहुभत्तेर पनि यही रूपको हुन्थ्यो । डाल्डा घ्युमा पकाउँथे पुलाउ । पछि गएर पुलाउ पकाउने घ्युको गुणस्तरमा परिवर्तन भयो । चिल्लो चिल्लो त्यसमाथि मरमसला समेत हालिएको हुनाले पुलाउ पनि काँठे जिब्रोमा लपक्कै टाँसिएको थियो । गोलभेडाको पकाएको अचारमा लटपटाए पछि सुलुक सुलुक भित्र पस्थ्यो । काँठका गाउँमा मेलमिलाप र सरसहयोगको भावना बलियो थियो । छिमेकी गाउँलेहरू कार्यक्रमको अघिल्लै दिन कार्यक्रम हुने घरमा जम्मा भएर कार्यक्रमका कर्तालाई सघाउँथे भोजको तैयारी तथा अन्य कामहरू गर्न । कोही आलु छिल्थे, कोही लसुन प्याज टुक्राउँथे, कोही चामल केलाउँथे । काँठमा कुखुरा बाख्राहरूको अतिक्रमण र साँध कुलोका झैझगडाहरू सामान्य भएपनि सामाजिक कार्यहरू भने सामूहिक सहभागितामा स्थानीय स्तरमै सम्पन्न हुन्थे । धेरै शाकाहारी नै हुन्थे भोज । पछि गएर गुठुरीको इन्तजाम गर्न सक्नेले खसीको मासु पनि खुवाउन थाले । मासुको भाँडोमा अलि कन्जुसी भान्से डाडु बोकेर बस्थे । धेरैजसो पाहुनाहरू मासुमै झुम्मिन्थे । मासु धेरै लुड्याउन खोज्ने जन्ती र कञ्जुसी भान्सेको राम्रै संयोग मिल्थ्यो । जन्ती वा भोज खाने पाहुनाले आफैँ हाल्ने मौका पायो भने कोही कोहीले मासुकै शिखर खडा गर्थे आफ्नो प्लेटमा र त्यसलाई पुलावले छोप्थे अरूले नदेखुन् भनेर । पछिल्लो लटमा भोज खानेहरू मासु नपाएर चिल्लै परेको कैयौँपटक आफैँले पनि देखेको थिएँ । आजको दिनसम्म आइपुग्दा त्यो पुलाव तरकारीको भोजको चलन पनि हराएर पार्टी प्यालेसको चलन शुरु भैसकेको छ । बेहुली पक्षले पार्टी प्यालेस बुक गरेर त्यहीँबाट बिहे गर्ने र भोज ख्वाउने चलन चलेको छ । अब बरियात पार्टी प्यालेसमा जान्छ न कि बेहुलीको जन्मघरमा । जन्तीले बेहुलीको आँगन नै देख्न पाउँदैन आजभोलि । “जन्तीबाख्रो” नामको भोज डायनासोर जस्तैगरी बिलायो यो धराबाट । “बहुभत्तेर” अर्थात् बेहुला पक्षले बेहुली भित्र्याएको भोलिपल्ट खुवाउने भत्तेर परिवर्तन भएर “पार्टी“ नाम धारण गरेको छ । खाना अगाडि स्नाक्सको व्यवस्था गर्ने सामान्य मानिन्छ । त्यसरी स्नाक्सको व्यवस्था गर्नेहरूले म:म:, बँदेलको मासु, खसीको सेकुवा आदि दिने चलन पनि आएको छ । रक्सी बियरहरू पनि देखिन्छ आयोजकको आर्थिक हैसियत अनुसार । समग्रमा भन्दा काँठेहरू त्यहीँ छन् आफ्नै गाउँ नगरमा तर अब त्यो पुरानो काँठ छैन । पूराना एकता पनि होलान् जस्तो लाग्दैन । जग्गा प्लटिंगको विकाससँगै काँठमा देशका अरू भागका बासिन्दा पनि बसाइँ सरेर आएर पक्की सिमेन्टेड घर ठड्याउने चलनसँगै औपचारिक रूपमा काँठमा काँठे नै प्रकारका गाँउघर पनि छैनन् । खेतबारीको अभावसँगै काँठमा कृषिप्रधान समाज पनि छैन । काँठका कुनै विशेषता नै छैनन् । न खेतबारी देखिन्छन् मनग्गे न त गाईभैँसी र गोठ । देखिएका खाली जग्गा पनि लाखौँ लाखको बिटो बनेर बिक्रीका लागि राखिएको बहुमूल्य वस्तुझैँ प्रतित हुन्छ । समाज भड्किलो र प्रतिस्पर्धी बन्दै गएको छ । यो भड्किलो र प्रतिस्पर्धी अवस्थाले भ्रष्टाचारलाई उत्प्रेरित गरिरहेको महसुस हुन्छ । सामाजिक सोचको उत्थानमा ध्यान दिने सरकारको अभाव खट्किँदै गर्दा यिनै प्रतिस्पर्धी भोज भत्तेरहरूकै कारण पनि समाज आर्थिक समस्यातिर होमिने हो कि भन्ने पनि लाग्ने गर्छ । लाग्छ कि जन्तीबाख्रो र बहुभत्तेरको चलन चलुन्जेल आर्थिक र सामाजिक उच्शृंखलताले उचाइ लिएको थिएन । टपरीको भत्तेरमा मुस्कुराउने प्रेम र एकता काँठको पुरानो पुस्ताले कहिल्यै बिर्सिन सक्दैन भन्ने मेरो अनुमान छ । (नोट: यस लेखमार्फत् कसैलाई होच्याउने, कसैलाई उचाल्ने प्रयास गरिएको होइन र त्यो उद्धेश्य पनि होइन । आफ्ना अनुभव र अनुभूतिलाई शब्दमा पोख्ने प्रयासमात्रै हो । यस लेखमा लेखिएका घट्ना पात्र सबै काल्पनिक हुन्, कसैसँग मेल खाएमा संयोगमात्रै हुनेछ ।)