विश्व घटना : कोकाकोला विश्व नम्बर-१ प्लास्टिक प्रदूषक - www.nepaliheadline.com
काठमाडौं- आज ७ डिसेम्बर। विश्व इतिहासका यस्ता घटना, जसले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप। – सन् १९८२- सुरिनामको त्यो डिसेम्बर हत्या सुरिनामको सैनिक सरकारले आफ्नो आलोचना गर्ने १५ जना लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई अपहरण गरी तीन दिनपछि हत्या गरेको थियो। त्यस घटनालाई कालो दिनका रूपमा सुरिनामका नागरिकले स्मरण गर्दै आएका छन्। – सन् १९४१- चर्चित पल हार्बर आक्रमण दोस्रो विश्वयुद्धका क्रममा आजकै दिन जापानले अमेरिकाको पल हार्बरमा आक्रमण गरेको थियो। त्यसैको प्रतिक्रियास्वरूप अमेरिकाले हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो। यही घटनापछि अमेरिका दोस्रो विश्वयुद्धमा आधिकारिक रूपमा सामेल भएको थियो। – सन् २००४- हमिद कारजाई अफगानिस्तानका राष्ट्रपति युद्धग्रस्त मुलुक अफगानिस्तानको राष्ट्रपतिका रूपमा हमिद कारजाईले आजकै दिन पदभार सम्हालेका थिए। अफगानिस्तानको इतिहासमा पहिलोपटक उनी प्रत्यक्ष निर्वाचित राष्ट्रपति थिए। – सन् २०२०- कोकाकोला विश्वकै प्लास्टिक प्रदूषक सन् २०२० मा आजकै दिन कोकाकोलालाई विश्वकै नम्बर वान प्लास्टिक प्रदूषक कम्पनी घोषणा गरिएको थियो। ‘ब्रेक फ्री फ्रम प्लास्टिक’को वार्षिक ब्रान्ड अडिटबाट कोकाकोलाले सबैभन्दा बढी प्लास्टिक प्रदूषण फैलाइरहेको पुष्टि भएको थियो। – सन् २०२२- जर्मनीमा राजतन्त्र फर्काउने प्रयास सन् २०२२ मा आजकै दिन जर्मनीमा राजतन्त्र फर्काउने प्रयास गरेको आरोपमा दक्षिणपन्थी अतिवादीहरू पक्राउ परेका थिए। गणतान्त्रिक सरकारलाई अपदस्थ गरेर राजतन्त्र फर्काउने आन्दोलनमा उनीहरू सामेल थिए। पक्राउ परेका २५ जनामध्ये राजकुमार हेनरिक तेह्रौं पनि थिए। र, केही सैनिक अधिकृतहरू पनि उनलाई साथ दिएका थिए। – सन् २०२३- चीनमा भूमिगत प्रयोगशाला सन् २०२३ मा आजकै दिन चीनमा भूमिगत प्रयोगशाला सञ्चालनमा आएको थियो। ‘चाइना जिनपिङ अन्डरग्राउन्ड ल्याबोरेटरी (सीजेपीएल)’ संसारकै गहिरो र ठूलो भूमिगत प्रयोगशाला हो। जिनपिङ पहाडमा २ हजार ४०० मिटर गहिरो ठाउँमा प्रयोगशाला सञ्चालनमा आएको थियो। – सन् २०२१- ३५ सय वर्ष पुरानो कृति प्रदर्शित ३५ सय वर्ष पुरानो गिलगमेश ट्याब्लेट, जो गिलगमेश महाकाव्यको हिस्सा हो र साहित्यको सबैभन्दा पुरानो ज्ञात कृतिहरू मध्ये एक हो, खाडी युद्धको दौरान लुटिएपछि ३० वर्षमा पहिलोपटक इराकमा प्रदर्शन गरिएको थियो। – सन् २०२४- ५ वर्षपछि खुल्यो नोट्रे ड्याम क्याथेड्रल सन् २०१९ मा आगलागीपछि पुनर्निर्माण गरिएको नोट्रे ड्याम क्याथेड्रल ५ वर्षपछि आजकै दिन पुनः खुला गरिएको थियो। पुनः खुला गर्न आयोजित समारोहमा संसारभरका नेताहरू सहभागी भए र फ्रान्सको राजधानी पेरिसमा एक भीआईपी सेरेमोनी आयोजना भयो।