देउवामाथि शेखरले लगाए यस्तो आरोप, विद्या-प्रचण्ड भेटेकोबारे दिए स्पष्टीकरण - www.nepalclicks.com
विराटनगर- नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनबाहेकका नेतासँग भेट्नै नहुने पक्षमा रहेको डा शेखर कोइरालाले आरोप लगाएका छन्। आफूले सबैलाई भेट्ने बानी विकास गरेको जिकिर गर्दै उनले देउवामाथि उक्त आरोप लगाएका हुन्। कोइरालाले देउवालाई सबै दलको अभिभावक हुन सुझाव दिएका छन्। नेपाली कांग्रेस विराटनगर–४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया खुवाउन र देशमा देखिएका समस्याबारे छलफल गर्न देउवालाई सुझाव दिए। ‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन। उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ उनले भने, ‘तर उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ। नेता भएपछि सबैसित भेट्नुपर्छ। सबैलाई भेट्ने मेरो आदत छ। त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजीलगायतसित भेट गरेको हुँ। विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ।’ युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने पनि उनले बताए । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो। नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए । ‘म पार्टीको कामले धेरैजसो म जिल्लाहरुमै हुन्छु। जिल्ला पुग्दा जता पनि कांग्रेस मात्रै देख्छु,’ उनले थपे, ‘तर मलाई अचम्म लाग्छ, सङ्गठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै कांग्रेस हारिरहेको हुन्छ। यो सबै कांग्रेसले कांग्रेसलाई भोट नदिएकै कारणले हो।’