Redirecting...

अख्तियार प्रमुखसहित १० जनालाई ज्यान मार्ने धम्की दिने पाठक अझै फरार - arthasanjal.com

अख्तियार प्रमुखसहित १० जनालाई ज्यान मार्ने धम्की दिने पाठक अझै फरार - arthasanjal.com
Source: sanj

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनाको ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहारीले व्यापक ढंगले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अख्तियारकै प्रहरी युनिटले पाठकको खोजी गरिरहेका जनाएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले आफूसँग भारतीय राहदानी रहेको बताउने पाठक अहिले भारतमै लुकेर बसेको देखाएको छ । पाठकविरुद्ध विगतमा दिनेश अधिकारी ‘चरी” सँग मिलेर गुण्डागर्दी गरेकोदेखि सरोज थापा (रोज राणा) लाई खुकुरी प्रहार गरेकोसम्मको आरोप छ । सरोज हाल लुम्बिनी प्रदेश सरकारको शहरी विकास तथा खानेपानी मन्त्री छन् । यसै सन्दर्भमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा धादिङका शरणजंग शाही, बर्दियाका धीरेन्द्र सुनार र सर्लाहीका तोरण थापा छन् । तीनैजनालाई काठमाडौं परिसरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उच्च पदस्थालाई ज्यानमार्ने धम्की दिने आपराधिक पृष्ठभूमि भएका पाठकले इमेलमार्फत अख्तियारका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की दुईपटक दिएको खुलेको छ । पाठकले राईलाई ‘भ्रष्टाचारको नाइके’ को संज्ञा दिँदै पदबाट राजीनामा नदिए १० दिनभित्र ज्यान मार्ने धम्की दिएका थिए। जसको आइतबार १० दिन पुग्दैछ । त्यस्तै, पाठकले नेपाल आयल निगमका पूर्व प्रमुख गोपाल खड्का, नागरिक बचाउ अभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक, अर्का पूर्व गृहमन्त्री बालकृष्ण खाँण, अख्तियारकै पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की लगायत १० जनाको ज्यान मार्ने धम्की दिएका थिए । पाठकले राईविरुद्ध तीनवटा भ्रष्टाचारको आरोप लगाएका छन् । वाइडबडी, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा घुस लिएर भ्रष्टाचारको आरोप पाठकले लगाएका छन्। त्यस्तै, लेखकविरुद्ध जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग गर्न आदेश दिएको आरोप लगाएका छन्। त्यसैगरी खाँणविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा घुस लिएको, प्रसाईंविरुद्ध नेपालमा अस्थिरता मच्चाउन भूमिका खेलेको र मेडिकल माफिया बनेको आरोप पाठकको छ । यी मध्य खड्काविरुद्ध आयल निगममा रहँदा भ्रष्टाचार गरेको आरोप छ भने लोकमानसिंह कार्कीविरुद्ध कानून हातमा लिएर ठूला परियोजनालाई धम्क्याई रकम असुली गरेको आरोप लगाइएको छ । कार्कीले पदमा रहँदा ठूला माछालाई उन्मुक्ति दिएको आरोप छ । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक संस्थाको लेटरप्याडमा पत्र लेखेर पाठकले ज्यान लिने धम्की दिएका हुन् । पाठकले २८ नोभेम्बर, २०२५ मा पहिलो पत्र सार्वजनिक गर्दै तीनवटा माग राखेका थिए । सुशीला कार्कीको सरकार फाल्ने उनको पहिलो माग रहेको थियो भने दोस्रो माग क्रान्तिको म्यान्डेट अनुसार नयाँ सरकार गठन र तेस्रो हिन्दुसहितको रहेको थियो। त्यस्तै राजसंस्था कि गणतन्त्र भनेर जनमत संग्रह गर्नुपर्ने उनको तेस्रो माग रहेको थियो । अख्तियारकै प्रमुखलाई धम्की आएपछि प्रहरीले अनुसन्धान अघि बढाएसँगै काठमाडौं जिल्ला परिसरले तीनजनलाई पक्राउ गरेको थियो । सोहिक्रममा काठमाडौं परिसरले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार पाठकको खोजी तिब्र भइरहेको छ । यसै क्रममा पाठकले प्रेम राईलाई धम्की दिएको भिडियो इमेल तथा एसएमएसहरु सार्वजनिक भएका छन् । उक्त भिडियोमा उनले राईलाई ‘एउटा अन्तिम मौका’ भन्दै चेतावनी नै दिएका छन् । त्यसैगरी, उक्त भिडियोमा पाठकले प्रमुख दलका शीर्ष नेतालाई दुई दिनभित्र पक्राउ गर्न चेतावनी दिएका छन् । ‘नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग डेढ खर्बको डिल गर्ने दलका शीर्ष नेताहरूलाई पक्राउ गरिस् भने हामी तँलाई आक्रमण गर्दैनौं,’ पाठकले उक्त भिडियोमा भनेका छन्, ‘मर्नुभन्दा अगाडि एउटा राम्रो काम गर । तैँले गरेको भ्रष्टाचारलाई हामी माफी दिन्छौं ।’ पाठकले आफूलाई प्रहरीले खोजिरहेकाले हरेक आधा घण्टामा आफूले लोकेसन चेन्ज गर्दौ लुकिरहेको बताएका छन् । यस्तो छ पाठकले राईलाई दिएको धम्किपूर्ण भिडियो सन्देश: