कथा : पाँचौं युग - sahityapost.com
ऊ ब्यूँझियो, बिस्तारै आँखा खोल्यो र यताउता हेरि जुरुक्क उठेर बस्यो । सबै सुनसान ! उसलाई अनौठो लाग्यो, सोच्यो ″म कहाँ छु ?″ बिस्तराबाट उठेर भित्ताको ऐनामा हेर्यो, आफ्नो रूप देखेर आश्चर्य चकित भयो । म को हुँ ? म मै त हुँ या सपना हो यो ? के अनौठो भयो ? मेरो अनुहारमा यस्तो बुढ्यौली, यो चाउरीपन, यी सेता कपाल के आश्चर्य हो ? अगाडि टेबलमा केही पत्रिका देख्छ र लिएर फेरि बिस्तरामा बस्दै पत्रिका पल्टाउँछ । पत्रिकाको समाचारहरू देख्दा ऊ अलमलिन्छ, केही भेउ पाउँदैन, के के न के के पढे झैं लाग्छ, केही मेसो नै आउँदैन । हेर्दाहेर्दै पत्रिकामा एउटा शीर्षक देख्छ – ‘आज विश्वको जनसंख्या ३ अर्ब ४९ करोड पुग्यो ।’ अझ अगाडि लेखिएको थियो “यो खुशीको कुरा हो कि जनसंख्या वृद्धि राम्रो दरमा भै रहेको छ ।″ हैन के समाचार हो यो ? उसले केही ठम्याउनै सक्दैन र फेरि पत्रिका छोडेर बिस्तरामै पल्टिन्छ । एकै छिनमा ढोकाबाट एक जना मान्छे ताली बजाउँदै भित्र छिर्छ र भन्छ- ‘बधाई छ तपाईंलाई, तपाईँ अब पूरै ठीक हुनुभयो । हामी सिसिटिभीबाट तपाईंलाई निगरानी गरिरहेका थियौं, तपाईंका गतिविधि नियालिरहेका थियौं ।’ यत्तिकैमा ट्रेमा गिलास भरि जुस लिएर रोबोट आइपुग्छ र जुस लिनको लागि अनुरोध गर्छ । ऊ कुरो नबुझेर अलमलिन्छ। सँगै बसेको युवकले उसलाई जुस पिउन अनुरोध गर्छ र उसले बिस्तारै जुस पिउँछ । “म कहाँ छु ? अहिले मेरो यो अवस्था कसरी भयो ? बाबु को हौ मैले त चिन्न सकिन, यो पत्रिकामा यस्तो के समाचार लेखेको ?″ मैले केही मेलोमेसो पाइन बाबु । वृद्धको कुरा सुनेर केही मुस्कुराउँदै युवक भन्छ- ‘तपाईँ भाग्यमानी व्यक्ति हो बुबा । आज भन्दा ५० वर्ष अघि, त्यति बेला त म जन्मिएको पनि थिइन, तपाईँ एउटा दुर्घटनामा पर्नु भएछ अनि यस अस्पतालमा ल्याएर भर्ना गरेको । यहाँ थुप्रै औषधी उपचार गरेपछि आज तपाईँ पूर्ण रूपमा स्वस्थ भै सक्नु भयो । यति लामो समयसम्म कोमामा रहेर ब्यूँझिएको हुनाले तपाईंलाई भाग्यमानी भनेको । तपाईँ त त्यो युगको मान्छे, आज नयाँ युग शुरू भएको छ । संसारमा पुरै परिवर्तन आएको छ । तपाईंको युगको कुराहरू त आज कथा भै सकेको छ । २१ वर्षको उमेरमा कोमामा जानु भएको । आज ५० वर्षपछि त तपाईंको शरीरमा वृद्धावस्था देखिनु, अनुहार चाउरिनु, कपाल फुल्नू त के अनौठो भयो र ? स्वाभाविक नै हो नि ।’ वृद्ध प्रश्न गर्छ – ‘अनि यो पत्रिकामा लेखेको आजको जनसंख्या ३ अर्ब ४९ करोड भनेको के ? हाम्रै पालामा त जनसंख्या ७ अर्ब भन्दा बढी थियो अनि यतिका वर्षपछि यो के अनौठो लेखेको ?’ वृद्धको प्रश्नले युवक केही गम्भीर हुन्छ र भन्छ- ‘ठिक छ म यो कुरा पनि तपाईंलाई विस्तारमा बताउँछु । अहिले तपाईँ धेरै बोल्नुहुन्न । एकैछिन आराम गर्नुस् । अब अस्पतालबाट तपाईंलाई डिस्चार्ज गरौं र तपाईँ बस्ने निवासमा पुगेर विस्तृत गफ गरौंला ।’ युवक उठेर गएपछि वृद्धको मथिङ्गल नाचिरह्यो । ऊ बिस्तरामा पल्टिएर के के सोचिरह्यो, उसलाई एउटा सपना जस्तै एउटा भ्रम जस्तै लागिरहेको छ । अब म कहाँ जाने ? के गर्ने ? मेरा परिवार आफन्त कहाँ छन् ? यो सोच्दासोच्दै अघिको युवक हातमा डिस्चार्ज पेपर सहितको फाइल बोकेर आइपुग्यो । युवकले वृद्धलाई उठ्न अनुरोध गर्यो र दुवै बाहिर निस्किए । अस्पतालमा कुनै भिडभाड थिएन, यत्रतत्र रोबटहरू हिँडिरहेको, सरसफाइ गरिरहेको देखिन्थ्यो । युवक र वृद्ध अस्पतालबाट बाहिरिएपछि एकैछिन सडक छेउको प्रतीक्षालयमा बसे । सडकमा कुनै भिडभाड, कोलाहल, प्रदुषण थिएन । सिनित्त परेका चौडा सडक किनारमा फूल फुलिरहेका सबैतिर हरियाली र सुन्दर देखिन्थ्यो । एकैछिनमा चालकविहीन बस आइपुग्यो र रोकियो अनि ढोका खुल्यो । दुवैजना बस भित्र पसे । बसमा केही संख्यामा यात्रीहरू थिए । उनीहरूले यी दुवैलाई मुसुक्क मुस्कुराउँदै अभिवादन गरे । वृद्धलाई लाग्यो ‘कति शिष्ट र सभ्य यात्रीहरू ।’ बस अगाडि बढ्यो । बीचबीचमा यात्रीहरू चढ्ने झर्ने क्रम चलिरह्यो । आधा घण्टापछि बस एउटा स्टेसनमा रोकियो । युवक र वृद्ध त्यहीं झरे । झर्दा ती दुवैले बसका यात्रीहरूलाई अभिवादन गरे भने बसका यात्रीहरूले पनि बिदाइको हात हल्लाउँदै अभिवादन फर्काए । बसबाट झरेपछि झन्डै दुई मिनट पैदल हिँडेर उनीहरू एउटा भवन अगाडी पुगे । युवकले लिफ्टको बटन दबायो । चौबीसौं तलामा दुवैजना लिफ्टबाट बाहिरिए । रोबोटले उनीहरूलाई बाटो देखायो । रोबोटले देखाएको बाटोमा अगाडि जाँदा कोठाको ढोका खुल्यो, दुवै भित्र पसे । युवकले भन्यो- ‘तपाईँ बस्ने अपार्टमेन्ट यही हो ।’ बस्दाबस्दै ढोका फेरि खुल्यो, ट्रेमा दुई कप कफी लिएर रोबोट भित्र पस्यो र टेबुलमा राखिदियो, दुवैले कफी पिए । वृद्धले युवकलाई अस्पतालमा सोधेको पहिलेकै प्रश्न दोहोर्यायो । युवकले जवाफ यसरी शुरू गर्यो – ‘तपाईँ भन्दै हुनुहुन्थ्यो ७ अर्ब भन्दा बढी जनसंख्याको कुरा, हो शायद तपाईं विसं २०७० को दशकको कुरा सम्झनु भयो होला । त्यो बेला विश्व जनसंख्या यस्तै थियो रे । तपाईँ त्यसै बेला हो दुर्घटनामा परेको अनि कोमामा जानुभएको । त्यसपछिको घटना तपाईंलाई थाहा हुने कुरै भएन । समय त्यस्तै चलिरहेको थियो रे, हामी त त्यो बेला जन्मिएका पनि थिएनौं । सन् २०१९ को डिसेम्बरमा चाइना भन्ने देशबाट कोरोना भाइरसको महामारी फैलिएछ र विश्वव्यापी भएछ । यसले लामो समय विश्वमा आतङ्क मच्चाएछ । अर्बौं अर्ब मान्छेको ज्यान लिएछ, सारा विश्वलाई त्राहिमाम् बनाएछ । लामो समयसम्म न यसको कुनै औषधी न त खोप नै पत्ता लागेछ । कोरोना कहर भोगेपछि मान्छेमा निकै परिवर्तन आएछ । मान्छेमा लोभ, लालच, अभिमान, दम्भ, चोरी, बेइमानी, ईर्ष्या, स्वार्थ, आडम्बर पुरै हराएर विश्वबन्धुत्वको भावना जागृत गराइदिएछ । विश्वको जनसंख्या त्यस बेलासम्म घटेर लगभग ३ अरबको हाराहारीमा पुगेछ । विश्वका शक्ति सम्पन्न राष्ट्रहरू समेत कोरोना भाइरसको अगाडि निरीह बनेर घुँडा टेकेछन् । मान्छेकै अस्तित्व समाप्त हुने हो कि भन्ने भय पैदा भएछ । त्यसैले विश्वका राष्ट्र प्रमुखहरू, विशिष्ट व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय भेला आयोजना गरिएछ । व्यापक छलफल र बहसपछि सम्पूर्ण विश्वलाई एउटै राष्ट्र बनाउने साथै सबैको सामूहिक प्रयासले कोरोनाको खोप र औषधी पत्ता लगाइछाड्ने सामूहिक प्रतिबद्धता गरिएछ । सम्पूर्ण विश्व एउटै राष्ट्र भएपछि देशका साँधसीमाहरू पनि मेटिएछन् । तब शक्तिराष्ट्रमा रहेका शक्तिशाली हातहतियारको पनि केही अर्थ नरहेकोले नष्ट गरिएछ । सम्पूर्ण राष्ट्रमा भएका सेनाहरू पनि आवश्यक नपर्ने भएकोले विघटन गरिएछ । कतै कोहीसँग देशको सीमा सुरक्षाको कुरै भएन । सबै मानवजाति स्वतन्त्र आवतजावत गर्न सक्ने भए, न पासपोर्ट न भिसा केही जरुरी परेन । हतियार, सेनामा लगानी गर्ने थुप्रो रकम बचत भै राष्ट्रकोषमा जम्मा भयो । विश्वका धनाढ्यहरूको अथाह सम्पत्ति पनि उनीहरूलाई आवश्यक नपर्ने भएकोले सरकारी कोषमै स्वतःस्फूर्त रूपमा जम्मा गरेछन् । राष्ट्रकोषमा छेलोखेलो रकम भएपछि शिक्षा, स्वास्थ्य, खानपान, आवास र मानवीय आवश्यकताका लागि चाहिने सम्पूर्ण सुविधा सरकारद्वारा निःशुल्क गरिएछ । विकास निर्माणको लागि कतै आर्थिक अभाव भएन । सबै क्षेत्रमा विकास चरम गतिमा अगाडि बढेछ । तपाईंले आफै देख्नु भयो तपाईंको युगमा यहाँ विकास के थियो होला, अहिले के छ ? त्यसैले अहिले संसारको शासन व्यवस्था सामूहिक नेतृत्वमा सौहार्दपूर्ण वातावरणमा चलिरहेको छ । कहीं कतै राष्ट्र प्रमुख, राष्ट्राध्यक्ष भन्ने नै छैन, कुनै अलग देश भन्ने नै छैन । यसरी सामूहिक नेतृत्वमा संसारको सुव्यवस्था सञ्चालनको लागि सबैको सहमतिमा एउटा प्रणाली विकास गरिएछ त्यही प्रणाली बमोजिम नै अहिले पनि संसार चलिरहेको छ । यस्तै अवस्थामा कैयौं वर्षको सामूहिक प्रयासको परिणाम स्वरूप कोरोना भाइरसको खोप र औषधी पत्ता लागेछ । कोरोना भाइरसको खोप र औषधी पत्ता लागेपछि संसारमा हर्षोल्लास छाएछ । त्यत्रो अर्बौं मान्छेको ज्यान लिएको भाइरस माथि विजय प्राप्त गरेको उपलक्ष्यमा कोरोना काल पछिको समयलाई नयाँ युग अर्थात पाँचौं युग भनी नामकरण गरिएको रहेछ । त्यसैले हामी पाँचौं युगका मान्छे । तपाईँ त अघिल्लै युगको मान्छे । दुवै युग भोग्न पाउनु भएकोले तपाईंलाई मैले भाग्यमानी मान्छे भनेको ।″ युवकको कुरा सुनेर वृद्ध चकित हुँदै सोध्छन् – ‘अब म मेरो गाउँ कहिले जाने ? त्यहाँ मेरा बुबाआमा, आफन्त, मेरो घर सम्पत्ति के के भयो ?’ युवक मुस्कुराउँदै भन्छ – ‘त्यो सब छोड्नुस्, अब यी अघि मैले अस्पतालबाट निस्कँदा लिएको डिस्चार्ज पेपरसँगैको फाइलमा तपाईंको जम्मै विवरण छ । अब तपाईँ नै ७१ वर्षको भै सक्नु भयो भने तपाईंको बुबाआमा अहिले सम्म हुने कुरै भएन । तपाईंका आफन्तहरू त धेरै सायद कोरोना महामारीले निल्यो होला । अब तपाईंको घर सम्पत्तिको केही अर्थ छैन । त्यो त सब सरकारी भै सक्यो । तपाईंलाई बस्न, खान यो अपार्टमेन्ट सरकारले व्यवस्था गरिदिएको छ । तपाईंका सहयोगी यहाँ रोबोटहरू छन् । यहाँ अरू अरू अपार्टमेन्टमा पनि तपाईँ जस्तै वृद्धवृद्धाहरू हुनुहुन्छ । खानपानको व्यवस्था निःशुल्क, औषधी उपचार निःशुल्क, सबै तपाईंलाई आवश्यक व्यवस्था निःशुल्क भएपछि अब त्यो गाउँको सम्पत्ति किन चाहियो ?’ वृद्ध अवाक भएर युवकलाई हेरिरहे । युवक भन्दै गयो- ‘अहिले त धेरै मान्छेहरू सन्तान नै जन्माउन छाडिसके त्यसैले उनीहरूलाई सन्तानको लागि सम्पत्ति सञ्चित गरिरहनु पनि परेन । फेरि जसले सन्तान जन्माउँछ त्यसलाई त सरकारले झन् सम्मानित नागरिकको दर्जा दिन्छ र सन्तानको लालनपालन, शिक्षा, स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिन्छ । सरकारले संसारभर नै वर्ष भरिमा कति मान्छे जन्मन्छन् ? राष्ट्रका लागि कति जनशक्ति आवश्यक पर्ने हो ? त्यसको हिसाब राख्छ र जनसंख्या वृद्धिको लागि मान्छेहरूलाई प्रोत्साहित गर्छ । विश्व व्यवस्थाको लागि आवश्यक पर्ने नपुग जनशक्तिको लागि केही मान्छेहरू कोलोन पद्धतिबाट उत्पादन गर्छ । अहिले कोलोन पद्धतिबाट उत्पादित पनि करोडौं मानिस भै सके । जनशक्ति उत्पादनको अर्को व्यवस्था छ – जागीरे आमाबाबु । यसमा सरकारलाई चाहिने जनशक्तिको उत्पादनको लागि निश्चित संख्यामा प्रतिनिधि आमाबाबुको विज्ञापन गर्छ, विज्ञापनबाट छनौट भएका इच्छुक आमाबाबु सन्तान जन्माउने जागीरे हुन्छन् । उनीहरूले सरकारको योजना र समय तालिका अनुसार गर्भाधान गरी सन्तान उत्पादन गरिदिन्छन्, उत्पादित सन्तान सरकारले जिम्मा लिन्छ र बाबुआमा स्वतन्त्र हुन्छन् । खेतीपाती, उद्योग कलकारखानामा काम गर्न रोबोटकै प्रयोग हुन्छ । त्यसको व्यवस्थापन मात्र मान्छेले गर्ने हो । नागरिकहरू सरकारले जिम्मा दिए अनुरूपको जिम्मेवारी वहन गर्छन् । नैतिकवान्, लगनशील र सहयोगी छन् । सबैमा ‘बसुधैव कुटुम्बकमको’ भावना छ । सरकारले जिम्मेवारी दिएको बाहेक स्वयंसेवी भावनाले पनि थप काम गर्छन् । ‘स्वास्थ्यका लागि श्रम गरौं’ भन्ने नारा नै छ । त्यसैले मान्छेहरू साँझ बिहान वा फुर्सदमा स्वेच्छाले सरकारको खेतबारी, उद्योग कलकारखानामा कार्य गर्न जान्छन् । त्यसैले सबै नागरिक खुशी र सुखी छन् । अतः तपाईँ पनि यो नयाँ युगमा युगसँगै समायोजन भै बाँच्न सिक्नुस्, ढुक्कले बस्नुस्, निश्चिन्त र खुशी रहनुहोस् हामी तपाईंकै साथमा छौं । तपाईंलाई नयाँ युगमा स्वागत छ !!! The post कथा : पाँचौं युग appeared first on साहित्यपोस्ट.