Redirecting...

काँग्रेसको घोषणापत्रमा ‘भिजन–१०’ समेटिने, स्रोत व्यवस्थापनसहित व्यवहारिक कार्यक्रम ल्याइने - taksarnews.com

काँग्रेसको घोषणापत्रमा ‘भिजन–१०’ समेटिने, स्रोत व्यवस्थापनसहित व्यवहारिक कार्यक्रम ल्याइने - taksarnews.com
Source: tsar

काठमाडौँ । नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने भएको छ। घोषणापत्रले मुलुकको वर्तमान यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई केन्द्रमा राख्ने काँग्रेसले जनाएको छ। शनिवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले घोषणापत्र केवल प्रतिबद्धता र आकांक्षामा सीमित नहुने स्पष्ट पारे। उनका अनुसार घोषणापत्रमा उल्लेख गरिने कार्यक्रम कार्यान्वयन गर्न आवश्यक स्रोत, साधन र उपायसमेत स्पष्ट रूपमा समेटिनेछ। “घोषणापत्रमा कार्यक्रम मात्र होइन, त्यसका लागि स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि समावेश गरिन्छ,” उनले भने। हाल घोषणापत्र निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै प्रवक्ता चालिसेले देशभरका जिल्ला–जिल्लाबाट सुझाव सङ्कलन भइरहेको बताए। स्थानीय तह, क्षेत्र र जिल्लाबाट प्राप्त सुझावलाई एकीकृत गर्दै राष्ट्रिय आवश्यकतासँग जोडिने उनको भनाइ छ। काँग्रेसले आफ्नो क्षमता, व्यवहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउने दाबीसमेत उनले गरे। उनका अनुसार घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकसाथ सम्बोधन गर्नेछ। स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका घोषणापत्रमार्फत जनतासमक्ष प्रस्तुत गर्ने तयारी पार्टीले गरेको छ। पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले ‘न्यु टेस्ट’ का नाममा देशलाई प्रयोगशाला बनाउन नहुने चेतावनीसमेत दिए। जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने उल्लेख गर्दै उनले व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए। “पार्टी पुरानो हुँदैन, विचार नयाँ दिनुपर्छ, नेतृत्व नयाँ दिनुपर्छ,” उनले भने, “विश्वभर पुराना पार्टीहरूभित्रै नयाँ नेतृत्व आउने गर्छ, र त्यसैबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ।” लोकतान्त्रिक अभ्यासमा नागरिकको मत निर्णायक हुने उल्लेख गर्दै उनले आगामी निर्वाचनले देशको भावी दिशा तय गर्ने बताए। “नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्छ,” उनले भने, “कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएको छ।”