उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न प्रदेश सरकार सधैँ तयार : चेतनारायण आचार्य - janatatimes.com
बुटवल, पुस १८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण नबनेसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने स्पष्ट गर्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै उहाँले त्यसका लागि प्रक्रिया सरल, सहज र विश्वासयोग्य हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को बुटवलमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीको वातावरण सुनिश्चित गर्न नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताउनुभयो । ‘प्रदेश सरकारले लगानीको वातावरण निर्माणलाई गम्भीरताका साथ बुझेको छ, उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न प्रदेश सरकार सधैँ तयार छ,’ उहाँले भन्नुभयो । मुख्यमन्त्री आचार्यले संघीय सरकारका केही नीतिगत निर्णयले उद्योगी व्यवसायीको मनोबल कमजोर बनाएको टिप्पणी गर्नुभयो । तर, प्रदेश सरकारले भने सधैँ उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको उहाँको भनाइ छ । बिजुली कटौतीको विषयमा प्रदेश सरकारले पहिलो पटक खुलेर धारणा सार्वजनिक गरेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री तथा अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराइसकेको जानकारी दिनुभयो । बुटवललाई आर्थिक हबको रूपमा विकास गर्न उद्योगी व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले आगामी दिनमा पनि उनीहरूको योगदान निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । ‘उद्योगी व्यवसायीले भोग्ने कठिनाइ समाधान गर्न प्रदेश सरकार सधैँ साथमै छ, हामी सधैँ अग्रणी मोर्चामा उभिएका छौँ,’ उहाँले जोड दिनुभयो । रुपन्देही उद्योग संघ बुटवलको आयोजनामा सञ्चालन भएको महोत्सवको समापन कार्यक्रम संघका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षतामा तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य विष्णु पन्थी, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहरा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । पुस ३ गतेदेखि सुरु भएको महोत्सवमा स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४ सय ५० वटा व्यावसायिक स्टल राखिएका थिए । महोत्सव अवधिभर करिब ८ लाख दर्शकले अवलोकन गरेको र करिब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको जानकारी समापन समारोहमा दिइएको थियो ।