अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको छ : महेश बर्तौला - www.pardafas.com
नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताएका छन् । उनले आम नागरिक र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूले पनि त्रास, भय महशुस गरिरहेको बताएका छन् । सरकारको चरित्र र कार्यप्रणालीबाट नागरिकहरूमा भय र अनिश्चितता हट्न नसकेको उनको भनाई छ । उनले राजनीतिक अभियन्ता, कार्यकर्ता, नेता वा शुभचिन्तकहरूले स्वतन्त्र रूपमा सत्यको वकालत गर्नुपर्ने बेला डर महशुस गर्नुपर्ने परिस्थिति बनिरहेको दाबी गरे । ‘आम मानिसभित्र राज्यका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु पनि एउटा त्रासमा, भयमा, डरमा भएको जस्तो हामीले महशुस गरिरहेका छौँ । समग्र राजनितिक अभियान्ताहरु, कार्यकर्ताहरु, नेता वा शुभचिन्तकहरु पनि आफ्ना विचारहरुलाई स्वतःस्फुर्त ढंगबाट सत्यका बारेमा सत्यको वकालत गर्नको लागी पनि कता कता डर मान्नुपर्ने, भय मान्नुपर्ने, त्यो परिस्थिति सिर्जना भइरहेको छ’ उनले भने । उनले दण्डहीनता फैलन नदिने र विधिको शासन कायम हुनुपर्नेमा जोड दिए । परिभाषित जिम्मेवारीअनुसार राज्यका अंगहरूले निष्पक्ष, स्वतन्त्र र सहज रूपमा काम गर्न पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने उनको भनाई छ । उनले अनाधिकृत व्यक्तिहरूले राज्य संयन्त्रमा खुलेआम प्रवेश गरेर निर्देशन जारी गर्नु लोकतान्त्रिक शासनका लागि अस्वीकार्य भएको बताए । हामी नेपाल संस्था नामक एनजीओका सुधन गुरुङले पछिल्लो समय जेनजीको नाममा सरकारी संयन्त्रलाई खुलेआम रुपमा निर्देशन दिने, महत्वपूर्ण बैठकमा प्रवेश गर्ने लगायतका कार्य गर्दै आएका छन् । गुरुङले केही समयअघि नेपालको वर्तमान संविधान च्यात्ने कि जोगाउन भन्नेमा आफू दोधारमा रहेको समेत बताएका थिए । नेता बर्तौलाले केही भीड वा व्यक्तिले ६०–७० वर्षको बलिदानीबाट बनेको संविधान च्यात्ने कि जोगाउने भन्ने द्विविधामा पर्ने अवस्था आउन दिनु दुर्भाग्यपूर्ण भएको बताए । राज्यका औपचारिक निकायहरूमा अनाधिकृत रूपले पहुँच र निर्देशन दिने घटना लोकतान्त्रिक, लोक कल्याणकारी शासनका लागि उपयुक्त नभएको बताए । यसमा सम्बन्धित मन्त्रालय र नेतृत्वलाई मुख्य दोषी रहेको औंल्याउँदै उनले त्यस्तो अनुशासनहीनता रोक्न आग्रह गरे । नेतृत्वले नै कसलाई कुन तहमा भुमिका दिने, कसलाई प्रवेश गराउने र कसको निर्देशन लिने भन्ने निर्णय गर्नुपर्ने उनको भनाई छ । यसमा गरेको लापरवाहीले देशलाई दिशाहीनतातर्फ लैजान सक्ने उनले चिन्ता व्यक्त गरे । सामाजिक सञ्जाल तथा सार्वजनिक मिडियामा देखिएका दृश्यहरूले सुरक्षा संयन्त्र र कर्मचारीहरूको मनोबलमा नकारात्मक प्रभाव परेको उनले बताए । राज्यलाई असल ढंगले कसरी चलाउने, परिभाषित जिम्मेवारी के हुन्छ भन्ने कुरामा स्पष्टता हुनुपर्नेमा जोड दिए । नेता बर्तौलाले राज्यका अंगहरूले निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा जनताको सेवा गर्न पाउने वातावरण सुनिश्चित गर्नु अहिलेको सरकारको कर्तव्य र जिम्मेवारी भएको बताए । सामाजिक पुनर्मिलन र सहिष्णुताका आधारमा देशलाई अगाडि बढाउनुपर्ने र प्रतिशोधको संस्कृति नभई समन्वय र संवादको माध्यमबाट समाधान खोज्नुपर्नेमा पनि उनले जोड दिए । राजनीतिक कोर्स अहिले निर्णयात्मक संकटमा नेपालको समग्र राजनीतिक कोर्स अहिले निणायक संकटको बिन्दुमा पुगेको उनको भनाई छ ।वैधानिक सरकारबाट देश अन्तरिम सरकारको अवस्थामा पुगेको उल्लेख गर्दै उनले यो वर्तमान सरकार गठन प्रक्रिया नै संवैधानिक र कानूनी दृिष्टले कति उपयुक्त हो भन्ने प्रश्न उठ्ने बताए । राजनीतिक ढंगबाट हेर्दा यो असंवैधानिक भएको उनको दाबी छ । ‘नेपालको समग्र राजनितिक कोर्ष एउटा निर्णायक संकटको बिन्दुमा पुगेको छ, उभिएको छ । एउटा वैधानिक सरकारबाट एउटा अन्तरिम सरकारको अवस्थाबाट मुलुक अगाडी बढिरहेको छ । यो कति वैधानिक छ, छैन ? संवैधानिक, कानूनी हिसाबले यो कति उपयुक्त छ, छैन ? संबैधानिक छ, छैन ? राजनितिक ढंगबाट हेर्दाखेरी यो असंवैधानिक होला, असंवैधानिक हामी प्रष्टसंगले भन्छौँ । यसको परीक्षण हुँदै जाला’ उनले भने । नेपाल ठूलो आर्थिक संकटमा पर्नेसक्ने एमाले नेता बर्तौलाले नेपाल ठूलो आर्थिक संकटमा पर्नेसक्ने बताए । जेनजी आन्दोलनका क्रममा भएका निजी लगानीमाथीको हमलाका कारण देशमा ठुला लगानी आउनसक्ने स्थिति कमजोर बनेको उनको आकलन छ । यसले बेरोजगारीको समस्या सिर्जना गर्ने उनले बताए । नेपालमा विस्तारै भित्रिने लागेको ठूला विजनेस चेनहरु समेत अब रोकिने खतरा बढेको उनको भनाई छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा पनि विस्वास गुमाउँदै गएको उनले बताए । यसले नेपालको आर्थिक क्षेत्रमा ठूलो असर गर्ने उनको बताए । ‘ठूलो चुनौतीमा हामी फस्दैछौँ । हामीमा अब ठूला ठूला लगानी आउन सक्ने स्थिति कमजोर हुन सक्नेछ । जसले बेरोजगारीको समस्या सिर्जना गर्नेसक्ने ठूलो खतरा छ । ठूला ठूला चेन बिजनेस हामी कहाँ भित्रिदै थियो, ती क्रमशः अब रोकिने खतरा छ, बाहिरिने खतरा छ’ उनले भने । उनले बाढीपहिरोको समयमा सरकारले देखाएको तत्परताको भने प्रशंसा गरेका छन् । जल तथा मौसम विभागले जारी गरेको मौसमसम्बन्धी सूचनाअनुसार सरकारले अपनाएको शतर्कताका कारण मानवीय क्षति कम भएको उनले बताए ।